आगलागीमा घर जल्यो, २ लाखको क्षति
विराटनगर : विराटनगर महानगरपालिका–१५ भट्टी चोकको एउटा घरमा बिहीबार राति आगलागी भएको छ ।
आगोले जलेर घरसहित घरभित्र रहेका लत्ताकपडा, कागजपत्र, काठपात, टेलिभिजन, डाइनिङ टेबल, खाटलगायतका सरसामान जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोली तथा स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय र चौपाया क्षति नभएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।