व्यक्तिको नाममा दर्ता गरिएको ४ बिघा सार्वजनिक जग्गा गाउँपालिकाद्वारा फिर्ता
पर्सा : पर्साको जगरनाथपुर गाउँपालिका-३ विजवनियामा फर्जी कागजातको आधारमा व्यक्तिको नाममा गरिएको झण्डै चार बिघा सार्वजनिक जग्गा गाउँपालिकाले फिर्ता गराएको छ।
साविकको विजवानिया गाविस वडा नम्बर २ मा रहेको नदि किनारको कित्ता नम्बर ६२को तीन बिघा १८ काठ्ठा जग्गा दुई जना व्यक्तिले मालपोत कार्यालयका कर्मचारीको मिलोमतोमा आफ्नो नाममा कायम गराएका थिए। केही वर्ष पहिले बहुदरमाई नगरपालिका वडा नम्बर २ विश्रामपुरकी चन्द्रकली कुर्मीन् र त्यही स्थानका महेन्द्रप्रसाद गोढले मालपोत कार्यालयमा फर्जी कागजात पेश गरेर उक्त जग्गा संयुक्त रुपमा आफ्नो नाममा दर्ता गराएका थिए।
यसबारेमा विजवनियाका स्थानीयले जगरनाथपुर गाउँपालिका कार्यालयमा जानकारी गराएपछि गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मालपोत कार्यालय पर्सामा जग्गा गाउँपालिकाको स्वामित्वमा फिर्ता गराउन गाउँपालिकाबाट पत्र पठाए।
गाउँपालिकाले पठाएका प्रमाणसहितका कागजातको मालपोत कार्यालयले अध्ययन गर्दा उक्त जग्गा चन्द्रकली कुर्मिन् र महेन्द्र प्रसाद गोढको भएको ठहर नभएपछि उनीहरुको नाममा दर्ता गरिएको जग्गाको लालपुर्जा खारेज गरी फाल्गुन १५ गते जगरनाथपुर गाउँपालिकाको नाम दर्ता गरि लालपुर्जा दिएको गाउँपालिका अध्यक्ष यादवले बताए।
उक्त जग्गामा गाउँपालिकाले छिट्टै १५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष यादवले बताए।