![आँखाले देखेपछिको खुशीयाली](https://annapurnapost.prixacdn.net/media/albums/motiyabindu_RXKZw2PnlF_cimCOOFPH3.jpg)
अर्घाखाँची : २३ महिनादेखि एक आँखाले देख्न छाडेका अर्घाखाँचीको मालारानी गाउँपालिका-६ हंसपुरका ७५ वर्षीय रामबहादुर थापा, आँखाले देख्न थालेपछि खुशी भएका छन् । मोतीया बिन्दु भएर आँखाको ज्योति गुमाएका थापाले शल्यक्रिया गरेर आँखा देख्न थालेका हुन् ।
सन्धिखर्क नगरपालिका-११ का ९१ वर्षीय धनबहादुर कुँवरले पनि शिविरमा आँखाको शल्यक्रिया गरेपछि निकै हर्षित भएका छन् । ५ वर्ष देखि एउटा आँखाले नदेखेका उनी आँखा देख्न थालेपछि अत्यन्तै खुशी भएका छन् ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा २ दिनसम्म चलेको शल्यक्रिया शिविरमा ९५ जनाको आँखाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । केही वर्षदेखि आँखा नदेखी घरमै बस्तै आएका यहाँका स्थानीयले आँखाले देखेपछि निकै खुशी भएका छन्।
ग्लोबल मेडिकल फाउन्डेसन अष्ट्रेलियाको आर्थिक सहयोग , दिगो विकास केन्द्र अर्घाखाँचीको आयोजना तथा जिल्ला आँखा उपचार केन्द्र सन्धिखर्कको प्राविधिक सहयोगमा सन्धिखर्कमा शिविर सम्पन्न भएको हो ।
पछिल्लो ३ वर्षको अवधिमा ३ सय जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको दिगो विकास केन्द्र अर्घाखाँचीका अध्यक्ष डाक्टर जयबहादुर टण्डनले बताए ।अखाँचीमा आँखाको मोतियाविन्दुको समस्या धेरै भएकाले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेका बिरामीलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष टण्डनको भनाइ छ ।
शिविरले आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकेका बिरामीलाई धेरै राहत पुगेको छ । उपचारको लागि बुटवल काठमाडौंसम्म शल्यक्रिया गर्न जाने बिरामीको पैसासमेत बचत भएको दिगो विकास केन्द्रका उपाध्यक्ष तथा राष्ट्रिय बिमा बोर्डका सदस्य मुक्तिराम श्रेष्ठ बताए । आफूहरु जिल्लाबासी भएको त्यसमा पनि डाक्टर भएकाले स्वास्थ्यको पहुँचमा ल्याउनु दायित्व पनि भएको उनले बताए ।
सोही संस्थाले ३ वर्षको अवधिमा जिल्लाका ग्रामीण क्षेत्रमा आँखा परीक्षण, निःशुल्क औषधि वितरण, चस्मा वितरण, दाँतको परीक्षण सवा १७ सय बढी बिरामीलाई सेवा दिएको छ । यो कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तर संचालन गरिने उपाध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रमबाट जिल्लाबासीले बढी फाइदा पुगेको भन्दै सन्धिखर्क नगरपालिकाले दिगो विकास केन्द्र अर्घाखाँचीलाई सम्मान समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)