बङ्गलादेशको ढाकामा आगलागी , ४३ जनाको मृत्यु
ढाका : बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ ।
बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान सिन्ह्वासँगको कुराकानीमा घटनाको पुष्टि गरेका छन्।
उनका अनुसार ३३ जनाको शव ढाका मेडिकल कलेज अस्पतालमा र १० जनाको शव ढाकास्थित शेख हसिना नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा ल्याइएको छ ।
ढाकास्थित फायर सर्भिस एण्ड सिभिल डिफेन्स हेडक्वाटरका इन्स्पेक्टर अनवारुल इस्लामले सिन्ह्वासँग कुरा गर्दै ४२ जना अचेत अवस्थामा रहेका सहित करिब ७५ जनालाई ‘ग्रिन कोजी कटेज सपिङ मल’ बाट उद्धार गरिएको र उनीहरुलाई विभिन्न अस्पतालमा लगिएको बताएका छन्।
इस्लामका अनुसार उद्धारकर्मीले घटनास्थलमा काम गरिरहेका छन् । राति ९:३० बजेतिर आगलागी भएको सूचना पाएपछि दमकल पठाइएको उनले बताए।
स्थानीय समयअनुसार बिहीबार राति ११:३० बजे १२ वटा दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । अधिकारीका अनुसार सात तले भवनमा एउटा रेस्टुरेन्ट, एउटा आउटलेट र अन्य थुप्रै पसलहरू छन् ।
नाम उल्लेख नगर्ने शर्तमा अग्नि नियन्त्रकका अर्का एक अधिकारीले आगलागीमा परी घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।
शुक्रबार बिहानै आएको टिभी रिपोर्ट अनुसार भवनको केही भागमा शुक्रबार बिहान समाचार तयार पार्दासम्म आगलागी पूर्ण नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण तत्काल खुल्न सकेको छैन ।