बाल आश्रमको १३ रोपनी जग्गामा व्यक्तिको रजगज

बाल आश्रमको १३ रोपनी जग्गामा व्यक्तिको रजगज
गोरखा नगरपालिका १० छेपेटारमा बाँकी रहेको मुक्ति बालआश्रमको एक संरचना। तस्बिर : शिव उप्रेती

गोरखा : विदेशी दातृसंस्थाले सञ्चालन गरेको गोरखा नगरपालिका १० छेपेटारको मुक्ति बालआश्रमको ९ रोपनी जग्गा एक व्यक्तिले बेचेर सकेका छन्। कृश्चियन दातृ संस्थाको सहयोगमा एक दशकसम्म मुक्ति बालआश्रम सञ्चालन भएको सो जग्गा सिरानचोक गाउँपालिका-५ स्थायी घर भई हाल अन्यत्र बसोबास गर्दै आएका कृष्ण घिमिरे र बिमला घिमिरे दम्पतीले बेचबिखन गरेका स्थानीयबासीले जनाएका छन्।

अनाथ तथा असहाय बालबच्चा लालनपालन र पठपाठन गराउने उद्देश्यले स्थापित मुक्ति बालआश्रमले २०५१ साल भदौ महिनामा खरिद गरेको १३ रोपनी जग्गामा विभिन्न संरचना निर्माण भएको थियो। संस्थाको नाममा दर्ता नगरी विमला घिमिरेको नाममा लालपूर्जा बनाइएको सो जग्गा मुद्दा मामिला र विवादपछि आफूखुसी बेचेर सिध्याएका हुन्।

स्थानीय जानकारहरूका अनुसार त्यतिबेला क्रिश्चियन संस्थाको नाममा जग्गा दर्ता गर्ने प्रचलन थिएन। 

त्यसैले विदेशी संस्थाले बाल आश्रम निर्माण गर्न खरिद गरेको सो जग्गा विमला घिमिरेको नाममा दर्ता गरेको वडाध्यक्ष प्रदीप कुँबर बताउँछन्। एक दशकसम्म चलेको सो बालआश्रम विवादका कारण बन्द भएपछि सो सार्वजनिक सम्पति घिमिरे दम्पतिले आफ्नो बनाएका कुँबर बताउँछन्। जग्गा खरिद गरेको केही समयमै सो जग्गामा बालआश्रमको प्रयोजनका लागि आवास, भान्सालगायतका संरचनाहरू निर्माण भएका थिए। 

‘मुक्ति बाल आश्रम’को साइनबोर्ड राखेर सञ्चालन गरिएको सो बालआश्रममा आश्रय लिई बसेका बालिकाहरुमाथि यौन दुर्व्यवहार भएर सञ्चालकमाथि नै मुद्दा मामिला चलेपछि आश्रम बन्द भएको पूर्व वडाध्यक्ष देबी बस्नेत बताउँछन्। ‘आश्रमका सञ्चालक कृष्ण घिमिरेले बालिकामाथि यौन दुर्व्यवहार गरेको भनेर जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतसम्म मुद्दा चलेका थियो,' पीडित बालिका पढ्ने विद्यालयका अध्यक्षसमेत रहेका बस्नेत भन्छन्, ‘वादी मै थिएँ। बयान फेरेर मुद्दा जिते। २०५० सालतिर संस्था सञ्चालनका लागि किनेको जग्गा २०७०, २०७२ सालतिर बेचेर खाए। त्यतिबेला कोही बोलेनन्। ममात्रै एउटा मान्छेसँग कति मुद्दा मामिला गर्ने भनेर मैले पनि चासो नलिएको हो।’

किन्दैमा व्यक्तिको नाममा लालपूर्जा बनेपछि कागजमा उनीहरू बलिया भएका उनले बताए। ‘२०७४ को चुनावमा म वडाध्यक्ष भएको थिएँ। तर त्यतिबेला जग्गा बेचबिखन गरेर सिध्याइसकेका थिए,' उनले भने।

बस्नेतका अनुसार विदेशी संस्थाले अनाथ, असहाय बालबालिकाहरूको उद्धार र लालनपालन गर्न मुक्ति बाल आश्रम स्थापना गरेको थियो। आश्रममा विभिन्न ठाउँका सानाठूला गरेर १८ जना बालबालिकाहरू आश्रित थिए। आश्रमको सबै जिम्मा विमला घिमिरे र उनका श्रीमान कृष्ण घिमिरेले गरेका थिए। विदेशी दातृसंस्थाबाट प्राप्त रकमले घिमिरे दम्पतीले बालबालिकाहरूको संरक्षण र लालनपालन गर्ने गर्दथे। उनीहरूको खानपान, पढाइ, स्वास्थ्य उपचार लगायतका सबै खर्चहरू दातृ संस्थामार्फत नै गरिने बस्नेतले बताए।
 
अनाथ, असहाय बालबालिकालाई संरक्षण गर्ने, लालनपालन, शिक्षा दीक्षा दिने पवित्र उद्देश्यले स्थापना भएको सो मुक्ति बालआश्रम घिमिरे दम्पतीले लथालिंग बनाएका अर्का स्थानीय टिका लामा बताउँछन्। ‘त्यो आश्रमको मुख्य मान्छे कृष्ण घिमिरे हो,' आश्रमको छेउमा घर भएका उनी भन्छन्, ‘हामी २०५० साल फागुनमा यहाँ बस्न आयौं। अनि भदौमा घिमिरेले यो जग्गा किनेको हो।’ जग्गा किनेको दुई वर्षभित्र संरचनाहरू बनाएर बालआश्रम सञ्चालन गरेको उनले बताए। 

‘घर संरचनाहरू बनाएर १० वर्षजति अनाथ बालबालिका राखेका पनि थिए,' लामा भन्छन्, ‘आश्रम सञ्चालनका लागि धेरै बजेट आउँथ्यो। बच्चाहरूको लुगा धुने, खाना बनाउने, खुवाउने, बिहान बेलुका पढाउने छुट्टै कर्मचारीहरू पनि राखेका थिए। एकदम व्यवस्थितरूपमा चलेको थियो। विदेशीहरू बेलाबेलामा आश्रम अनुगमन गर्न आउने गर्थे।' तर, पछिपछि लथालिंग बनाएर संस्था डुबाएका उनले बताए। 

संरक्षकबाटै आश्रित बालिकामाथि यौन दुर्व्यवहार भएर मुद्दा चलेको खबर दातृसंस्थामा पनि पुगेपछि उनीहरूले हात झिकेको लामाले बताए। आश्रम बन्द भएपछि यहाँ बस्ने कोही बच्चाहरु माइती नेपालले लग्यो, कोही आफ्नै आफन्तकोमा गए र कोहीलाई भने कृष्ण घिमिरेका भाइले लगेका उनले बताए। 

कृष्ण घिमिरेले आफन्तहरुको प्रयोग गरी जग्गा बेचेर सिध्याएको वडाअध्यक्ष प्रदीप कुँबर बताउँछन्। ‘संस्था चलुञ्जेल देखा नपरेका घिमिरे दम्पतीका आफन्तहरू खिला र लक्ष्मीले जग्गा बेचेर सकेका हुन्,' उनी भन्छन्, ‘बीच बजारको यति ठूलो परिमाणको जग्गा बेचेर ब्यक्तिले धनआर्जन गर्नु सरासर अन्याय हो। यो फिर्ता भएर संस्थाकै नाममा जानुपर्छ भनेर जहाँतहीँ आवाज उठिरहेको छ। देशका अरु ठाउँमा पनि यसरी सार्वजनिक सम्पत्ति बेचेर खानेबाट जग्गा फिर्ता गराइएको छ। यहाँको मुक्ति बालआश्रमले पनि त्यसैगरी न्याय पाउनुपर्छ।’ 

विदेशी दातृसंस्थाको सहयोगमा आश्रम सञ्चालन भएको सो जग्गा अहिले अनधिकृतरूपमा धमाधम व्यक्तिका ठूल्ठूला घरहरू बनिसकेका छन्। ९ रोपनी उक्त जग्गा विभिन्न समयमा दयाराम ढकाल, पुन्यकुमार पन्त, ज्ञानु खड्का, रीता थापा आले, कविता आले, भानमाया राना, गोमा भन्तना, दुर्गा बस्नेत, सुवास पोखरेल, कुमारी थापा मगर, सरिता थापा, अलोककुमार श्रेष्ठ, निर्मला राना मगर र सन्दिपा लामा बस्नेतले खरिद गरेको मालपोत कार्यलयको विवरणमा उल्लेख छ। 

अहिले मुक्ति बालआश्रमको विभिन्न संरचना भत्काएर व्यक्तिको घर ठडिसकेको छ। संस्थाको एउटा पुरानो भवनमात्र बाँकी छ। बाँकी रहेको सो जग्गामा पनि धेरै नै विवाद भइरहेको स्थानीयहरू बताउँछन्। ‘अहिले एक टुक्रा जग्गा बाँकी छ त्यो जग्गा पनि मेरो हो। मेरो हो भन्ने महिनामा १०-१२ जना आउँछन्,' आश्रम छेउमा घर भएका टीका लामाले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.