भर्जिनियामा अप्रिल १५ लाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ मनाउन स्वीकृत
भर्जिनिया : अमेरिकाको भर्जिनिया राज्यको विधानसभा तथा सिनेटले नेपाली समुदायका लागि १५ अप्रिल २०२४ का दिनलाई ‘नेपाली अमेरिकन हेरिटेज डे’ अर्थात् सम्पदा दिवसको घोषणा गरेको छ।
भर्जिनियाका नेपाली समुदायको पहलमा सयुक्त संसद्मा पेस गरिएको उक्त प्रस्तावलाई दुवै सदनले पारित गरेको छ। भर्जिनियाको प्रतिनिधिसभा तथा सिनेटले सयुक्त संकल्प (रेजोलुसन) ४२ (एचजे–४२)लाई संयुक्त रूपमा अनुमोदन गरेको छ। यो संकल्प भर्जिनियाको रिचमन्डस्थित संयुक्त सदनमा पेस गरिएको थियो। भर्जिनियाको तल्लो सदन विधानसभा र माथिल्लो सदन सिनेट दुवैले पारित गरेकोले नयाँ वर्ष २०२४ देखि नै नेपाली समुदायले उक्त दिवस मनाउने छन्।
यसअघि, भिर्जिनियाको हर्डन नगरले अप्रिल २० लाई नेपाली अमेरिकी हेरिटेज दिवसको घोषणा गरेको थियो। त्यसै वर्ष २०१९ मा मोडल नेपाली सोसाइटी, यूएसए र एनआरएन भर्जिनिया च्याप्टरले हर्नडनमा हेरिटेज दिवस मनाउँदा ७ सयभन्दा बढीको सहभागिता रहेको थियो जसमा भर्जिनिया राज्यका निर्वाचित अधिकारी, मेरिल्यान्ड राज्य र हर्डन नगरका अधिकारीहरू पनि सामेल थिए।
भर्जिनिया राज्यको हर्नडन निवासी तथा हर्नडन निर्वाचित नगर परिषद् सदस्य प्रदीप ढकालका साथै यसै समुदायका सामाजिक अभियन्ता सुमनराज तिम्सिनालगायतका अगुवाले यसमा पहल गरेका थिए।
यो प्रस्तावका लागि सिनेटका जेनिफर बी बोयस्को, घजाला अजिम सलिम तथा सुहास सुब्रमन्यम तथा विधानसभाका आइरिन सिन, एलिजाबेथ बी बेनेट पार्कर, मिसेल लोपेस माल्डोनाडो, केली के कनभिर्स–फलर, एडेल वाई म्याकक्लर, क्यानन श्रीनिवासन तथा क्याथी के एल ट्रानको सहयोग थियो। दुवै सदनबाट पारित भए पछि ढकालले खुसी व्यक्त गर्दै यो सबै नेपालीहरूको लागि गर्वको विषय भएको बताए।