केपी ओली कपको फाइनल आज, उपाधिका लागि मच्छिन्द्र र एनआरटी भिड्दै
काठमाडौं : दोस्रो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि साबिक विजेता मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच आज प्रतिस्पर्धा हुँदैछ। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कपको फाइनल खेल शनिबार दिउँसो दशरथ रंगशालामा हुँदैछ।
बिहीबार भएको सेमिफाइनलमा एनआरटीले जावलाखेल युथलाई ३-० ले र मच्छिन्द्रले भारतीय क्लब मानेभञ्ज्याङ क्लबलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको थियो।
प्रतियोगिताको उपाधि विजेताले ११ लाख र उप विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने युवा संघ नेपालले जनाएको छ। यसैगरी उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।
गत वर्ष आयोजना भएको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सरस्वती क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो। दोस्रो संस्करणको खेलमा नेपालका 'ए' डिभिजनसहित विदेशका क्लबको सहभागिता थियो।