कवि दुर्गालाल श्रेष्ठको जीवन भाषिक समानता र पहिचान आन्दोलनको समानार्थी पनि हो।
दुर्गालाल श्रेष्ठ मूलतः नेपालभाषाका कवि–लेखक हुन्। तर उनको लेखनले यति शक्ति आर्जन गरिसकेको छ कि त्यसको गुरुत्वले नेपालका अन्य भाषाका साहित्यप्रेमीहरू समेत आकर्षित छन्, उत्तिकै लोकप्रिय छन्। खासगरी पछिल्लो दशक सार्वजनिक भएको उनको कालजयी गीत ‘फूलको आँखामा फूलै संसार’ले उनको परिचयलाई देशभित्र र देशबाहिर पनि व्यापक गरिदिएको थियो। ‘फूलको आँखामा’ उनको ‘मास्टर पिस’ नै बनिसकेको छ।
तर दुर्गालाल ‘फूलको आँखा’मा मात्र सीमित छैनन्। ‘फूलको आँखामा’ उनको काव्य–सागरको एक थोपा मात्रै हो। दुर्गालालको व्यक्तित्व र कृतित्व त्योभन्दा निकै व्यापक छ। उनको विराट व्यक्तित्वलाई पाठकमाझ दुरुस्त चिनाउने कृतिको रूपमा लेखक आर. मानन्धर लिखित जीवनी पुस्तक हालै मात्र सार्वजनिक भएको छ, ‘कवि–कविताको छवि ः दुर्गालाल श्रेष्ठ’। हुन त दुर्गालालको जीवनी दुई सय पृष्ठको कुनै पुस्तकमा अटाएर सकिने कथा होइन। तर लेखकको लेखन कुशलताले दुर्गालालको जीवनी मात्र होइन, उनका रचनाहरूको अन्तरकथासमेत एउटै पुस्तकमा अटाएर पूर्णता दिएको छ। आफूसँग उपलब्ध सामग्रीको भण्डारलाई एक एक निखन्दै यो आकारमा ल्याउन लेखकले सामग्री संकलनमा मात्र होइन, तिनलाई पाठकमैत्री शैली र आकारमा उतार्नसमेत उत्तिकै मेहनत गरेको देखिन्छ।
काठमाडौंको मध्यसहरका रैथाने भए पनि दुर्गालाल एक अत्यन्त गरिब बाबुका छोरा थिए। गरिबीमा गुज्रिएको दुर्गालालको जीवनको यस पक्षलाई लेखकले पुस्तकमा मार्मिक ढंगले उतारेका छन्। दुर्गालालको जन्मै पनि त्यही गरिबीका कारण उत्पन्न घटनाक्रमको एक चरणमा भएको थियो। गरिबीमा बितेको दुर्गालालको बाल्यकाल र त्यससँगै चुलिँदै गएको उनको प्रतिभाका महत्त्वपूर्ण प्रसंग पुस्तकमा छन्।
अचम्मका घटना र साथमा दुर्घटनाहरू पनि, दुर्गालालको जीवनमा धेरै घटे। त्यसमध्ये जीवनलाई नै मोड्न समर्थ भएका निर्णायक ‘टर्निङ प्वाइन्ट’हरूलाई पुस्तकले चलचित्रझैं पाठकको आँखा प्रत्यक्ष देखिने गरी सजीव चित्रण गरेको छ। धेरै सुनिएको घटना हो, दुर्गालाल ११ वर्षको हुँदा एक पटक टोलमा दबु प्याखं (डबलीमा देखाइने नाटक) देखाउन तयारी भइरहेको रिहर्सल हेर्न पुगेका थिए। ढोकाको प्वालबाट भित्र हेर्दै गर्दा कसैले भित्रबाट औंलाले घोचिदिँदा उनको आँखामा चोट लाग्न पुग्छ। त्यही झोंकमा उनको मित्रमण्डलीले पनि नाटक बनाएर देखाउने प्रण गर्छन्। नाटक लेख्ने जिम्मा दुर्गालालले लिन्छन्। उनीहरूको नाटक सबैले मन पराइ पनि दिन्छन्।
यसरी एघारै वर्षको उमेरमा सुरु भएको उनको नाटक लेखन अन्ततः काव्यको राजमार्ग हुँदै साहित्यको महासागरसम्म पुग्छ। र, दुर्गालालनामक एक विशाल व्यक्तित्वको निर्माण हुन्छ। दुर्गालालको जीवनमा भएका यी घटनाहरूलाई पुस्तकमा सविस्तार प्रस्तुत गरिएको छ। प्रेम दुर्गालालको साहित्य रचनाको सबैभन्दा निख्खर पृष्ठभूमि हो। उनले प्रेमबाटै काव्य रचना सुरु गरेका थिए। प्रेमबाट सुरु भएको उनको सिर्जना त्यसपछि क्रमशः क्रान्ति, आन्दोलन, दर्शन हुँदै अध्यात्मसम्म विस्तार हुँदै जान्छ। झन् अहिले त उनका कविताहरू मृत्युबोधले ओतप्रोत हुन थालेका छन्। मृत्युबोधकै भाव प्रकट हुने गरी उनले ‘संघारैनेर’ कविता संग्रह नै प्रकाशित गरेका छन्। त्यही भावमा उनले एउटा कविता लेखेका छन्–
कुर्ने क्षण तर सबभन्दा पछि
मेरै मृत्यु म जब कुर्छु
उसले पनि अत्याए भगवन्
म त अति मर्माहत हुन्छु।
अहिले मृत्युभावसम्म पुगेका उनका कविता कुनै बेला प्रेमभावबाटै सिर्जना हुने गर्थे। प्रेम उनको प्रखर भाव पक्ष छ। प्रेमकै कारण उनको विवाहसमेत अकल्पनीय ढंगले सम्पन्न हुन पुगेको थियो। तर पुस्तक पढ्दा थाहा हुन्छ, दुर्गालाल यो ९० को वयमा समेत कसैको प्रेममा मग्न भएका रहेछन्। अव्यक्त त्यो प्रेम दुर्गालालका समसामयिक गीतहरूमा व्यक्त भइरहेका छन्। दुर्गालालका रचनाहरू सिर्जिनुका पछाडि विभिन्न घटनाको संयोजन रहने गर्छन्। खासगरी उनका नाटकहरूमा कुनै यथार्थ घटनाकै कलात्मक प्रस्तुति हुन्छन्। यसरी उनका रचना किन र कुन पृष्ठभूमिमा सिर्जना भए भन्ने गर्भकथा पनि पुस्तकमा छन्। उनको सर्वाधिक लोकप्रिय गीत ‘फूलको आँखामा’ समेत गायिका आनी, संगीतकार न्ह्यू बज्राचार्य र उनीसमेतको सांगीतिक जमघटमा केही क्षणको अवधिभित्रै सहज प्रवाहमा सिर्जना हुन पुगेको रहेछ। कवि र कविताबारे विशिष्ट जानकारीहरूको सघनताले कवि व्यक्तित्वलाई अझै उज्ज्वल बनाइदिएको छ।
दुर्गालालको जीवनमा धेरै व्यक्ति जोडिए, धेरै व्यक्तिबाट उनी प्रभावित भए। धेरै व्यक्तित्वबारे दुर्गालालले लेखे पनि। उनीसँग भौतिक रूपमै वा मात्र अभिप्रेरकका रूपमा सम्बन्धित हुन पुगेका अहम् व्यक्तित्वहरू सहिद शुक्रराज शास्त्री, महाकवि सिद्धिदास अमात्य, केदारनाथ न्यौपाने, पुष्पलाल श्रेष्ठ, मंगलमान प्रधान आदिका परिचय जोडिएर मुख्य जीवनीको वरिपरि उपकथाहरू बुनिएका छन् पुस्तकमा। केही खलपात्रका कथा पनि उनको लेखनको प्रेरणा बनेका छन्। जस्तै, राजा अजातशत्रु, रणबहादुर शाह आदि। उनको रचनाको आरम्भ प्रेम–काव्यबाट भएको थियो। उनलाई तत्कालीन नेपालभाषा काव्य विधाका सेतु मानिन्छ। उनीभन्दा अघिसम्म नेपालभाषा साहित्यमा प्रवाहित काव्य धारा दुर्गालाल पछि नयाँ मोडमा पुगेको मानिन्छ। त्यसैले उनलाई नेपालभाषा काव्यको पुरानो र नयाँ पुस्तालाई जोड्ने पुल मानिएको हो।
दुर्गालाल यस्ता कवि हुन्, जसले गएको साढे सात दशकदेखि आजको मितिसम्म पनि निरन्तर लेखिरहेछन्। तसर्थ दुर्गालालको काव्य प्रवाह भन्नु नै नेपालभाषाको आधुनिक काव्य प्रवाहको अविछिन्न इतिहास भन्दा फरक नपर्ला। लेखक आर. मानन्धरले दुर्गालालको काव्य लेखनको यो विशिष्टतालाई प्रयोग गरी नेपालभाषा काव्य प्रवृत्तिको छोटो इतिहास पनि दर्शाउन भ्याएका छन्। दुर्गालालले नेपालभाषामा लेखेका विशेष महत्त्वका कविताहरूलाई नेपालीमा उल्था गराई सप्रसंग पनि छन्। यसले एउटा कविको जीवनीलाई पूर्णतया काव्यमय बनाइदिएको छ।
अर्को प्रसंग, दुर्गालालको जीवन भाषिक समानता र पहिचानको आन्दोलनको समानार्थी पनि हो। उनी आफूलाई साहित्यकारभन्दा पनि भाषिक आन्दोलनको एउटा सिपाही भन्न रुचाउँछन्। त्यसैले उनको जीवनी यो आन्दोलनको इतिहास पनि हो। दुर्गालालको जीवनलाई माध्यम बनाई रचिएको यो पुस्तक स्वतः नेपालको भाषिक, जातीय आन्दोलनको अभिलेख पनि बन्न पुगेको छ। दमनको उत्कर्षमा नै तीव्रता हासिल गरेको काठमाडौं केन्द्रित पहिचान आन्दोलनको एक संक्षिप्त इतिहास पनि बनेको छ पुस्तक।
यी सबैको अलावा, दुर्गालाल काठमाडौंको ‘कोर सिटी’का बासिन्दा हुन्। गएको सय वर्षमा काठमाडौं सहर कसरी परिवर्तन हुँदै आएको छ भन्ने जीवन्त विवरण पनि कवि जीवनका प्रसंग पनि यसमा छ। कवि जीवनलाई सुहाउने गरी एजुकेसनल पब्लिसिङ हाउसद्वारा प्रकाशित यो पुस्तकको भाषा सरल र सुन्दर काव्यिक प्रवाहमा बगेको छ। केही ऐतिहासिक र महत्त्वपूर्ण तस्बिरहरू पनि राखिएका छन्। अन्तमा, पुस्तकबारे स्वयं कवि दुर्गालालले समेत भनेका छन्– ‘म अब यो शरीरमा हैन, त्यो किताबमा छु। लेखकले मलाई शतप्रतिशत किताबमा उतार्नु भएको छ।’