शकुन्तलालाई दुर्वासाको श्राप !
प्रेम ! यस्तो पनि प्रेम हुन्छ ? प्रेममा त दिने मात्र काम हुन्छ तर यो त लिन आतुर छे। यो भनेको वासना हो, विशुद्ध वासना।
के भयो नानी ! त्यस्तो ? कुन कुराको चिन्तामा छ्यौ ?
‘नानी शकुन्तला ! मलाई सुनिनौ ? चिन्ता के को हो भन। सकेको सहयोग पाउने छ्यौ। अयी वालिके ! यता फर्की। अघिदेखि बोलाइरहेको छु् सुन्दिनस्।’
दुर्वासाले शकुन्तलालाई राम्रो मुखले तीन पटकसम्म बोलाए। मात्र फरक पहिलेको वाक्य नरम थियो। त्यसपछिका क्रमशः कडा हुँदै गएका थिए तर दुष्यन्तको चिन्तामा डुबेकी शकुन्तलाले त्यसको संकेतसम्म पाइनन्।
आफ्नो बोलीलाई वास्ता नगरेपछि महर्षि दुर्वासा निकै रिसाए। उनलाई शकुन्तलाको व्यवहारबाट ठूलै अपमान भएको जस्तो लाग्यो र कड्किँदै भने–
‘दुष्ट बालिके ! तैंले मेरो अनादर गरेर ठूलो गल्ती गरिस्। अरू भएको भए अहिले नै भष्म पारिदिन्थें तर नारी परिस। भष्मै भएस् त भन्दिनँ तर गल्तीको फल भने भोग्नै पर्छ। अहिले नै यस्तो श्राप दिन्छु, ताकि आइन्दा अतिथिको अनादर गर्ने हिम्मत कसैले गर्न नसकुन्। जसको चिन्तामा डुबेकी छेस् उसले तलाई चटक्कै बिर्सने छ।’
‘अनर्थ भो ऋषिवर ! घोर अनर्थ। बिनाअपराध यिनीमाथि यति ठूलो दण्ड ! दण्ड पनि त्यति मात्र सुहाउँछ जति पचाउन सक्छ तर यहाँ त पचाउन मारी नै दिनेछ। त्यसैले बिन्ती छ। कृपा गरी यस अनाथलाई क्षमा दिनुहोस्।’ महर्षि दुर्वासाको श्रापले डराएकी शकुन्तलाका साथीद्वय मधु र मालतीले एकै स्वरमा भने।
‘त्यो मलाई थाहा छैन। पचाउन सक्छे कि सक्दिन उसको कुरा हो। मलाई थाहा भएको यही हो कि यसले मेरो अनादर गरी ठूलो गल्ती गरेकी छे। अतिथि भनेको देवता समान हुन्छन् भन्ने वेदवाक्य छ। यसले त त्यसलाई समेत लत्याएकी छे। यति ठूलो गल्ती गर्नेलाई पनि क्षमा दिँदै जाने हो भने समाजको अवस्था कस्तो होला ?’ दुर्वासा जंगिए।
‘कुरो त्यसो होइन ऋषिवर ! यसले जानेर गल्ती गरेकी होइन। बिचरीले हजुरको उपस्थिति नै थाहा पाएकी छैन। यतिबेला उनी राजा दुष्यन्तको सम्झनामा यति लीन छिन् कि आफैंलाई समेत बिर्सेकी छिन्। एक त बाबु कण्व हुनुहुन्न अर्को गान्धर्व विवाह गरी गर्भिणी बनाएर राजधानी हिँडेका दुष्यन्त अहिलेसम्म फर्केका छैनन्। चाँडै नै लिन आउँछु भनेर गएका थिए थाहा छैन किन आएनन्।यस्तो अवस्थामा बिचरीले गरोस् के।’ मधु र मालतीले बेलिबिस्तार लगाए।
‘ए ! कुरा त्यसो पो हो ? त्यसै हो भने त यसले गल्ती मात्र होइन जघन्य अपराध नै गरेकी छे। ऋषि आश्रममा बसेर यति ठूलो व्याभिचार ! अ हँ यस्तो हुन सक्दैन। यस्तो व्यवहार गुरुकुल आश्रमको आचारण विपरीत छ र ऋषि आश्रमको मर्यादा विपरीत छ। ऋषि आश्रम जस्तो पवित्र स्थानमा बसेर यस्तो हर्कत गर्ने अधिकार कसले दियो ? घरमा अभिभावक छैनन् भन्दैमा मनलाग्दी गर्न पाइन्छ ?’ दुर्वासा मुर्मुरिए।
मधु र मालतीलाई ठूलै आपत् पर्यो। ऋषिको मन पगाल्न सकिन्छ भनेको यहाँ त उल्टो पो पर्ने छाँट देखियो। तैपनि हिम्मत भने हारेनन् र जे त पर्ला भन्ने ठानी कडारूपमा प्रतिवाद गर्दै भने– ‘यसमा जघन्य अपराध नै भन्नुपर्ने के नै भएको छ र ऋषिवर ! अब यिनी बालिक भइसकेकी छिन्। बालिग केटाकेटीले अभिभावकको स्वीकृतिबिना पनि आफ्नो जीवन आफूखुसी गर्न सक्छन् भन्ने तपार्ईँहरू नै होइन र ? एउटै कुरामा पनि कतै केही कतै केही कसरी हुन्छ ? यो त तपाईंहरूकै भनाइविपरीत भएन र ?
‘हो भनेका छौं। भनेका छौं मात्र होइन अहिले पनि त्यही भन्दै छु। बालिग केटाकेटी विवाहवारीको मामिलामा स्वतन्त्र हुन सक्छन् तर स्वतन्त्रताको अर्थ यो होइन कि स्वच्छन्द भएर जे पनि गर्न पाइयोस्। ऋषि आश्रममा बसेर पनि स्वच्छन्द हुँदै जाने हो भने एक दिन सामाजिक मर्यादा नै लुप्त हुन सक्छ। आश्रमहरू भनेका धर्मका लागि हुन्, संस्कारका लागि हुन्, सामाजिक मर्यादाका लागि हुन्। कुनै पनि काम गर्दा आफू कुन स्थानमा र कुन तहमा बसिएको छ भन्ने कुराको ख्याल राख्नै पर्छ। थाहा थिएन वा थाहा पाइएन भन्दैमा स्थान र पदीय मर्यादाविपरीत जाने छुट कसैलाई पनि हुँदैन। जो भए पनि र जसले गरेको भए पनि उसले दण्डित हुनै पर्छ।’ दुर्वासा थप जंगिए।
‘अनि प्रेमको कुरा ? त्यसको क्या। यिनले कसैको ज्यान लिएकी होइनन्, जीवन दिएकी हुन्। प्रेम भनेको भगवान्को वरदान हो भन्ने पनि तपाईंहरू नै होइन ? हजुरहरू महर्षि हुनुहुन्छ। जे पनि गर्न सक्नुहुन्छ तर यसको अर्थ यो पनि त होइन होला कि बिना अपराध पनि सजाय भोग्नुपर्ने अवस्था आओस्।’ मधु र मालतीले पनि जंगीस्वरूप देखाए।
प्रेम ! यस्तो पनि प्रेम हुन्छ ? प्रेममा त दिने मात्र काम हुन्छ तर यो त लिन आतुर छे। यो भनेको वासना हो, विशुद्ध वासना। वासनालाई पनि प्रेम भन्ने हो भने प्रेमलाई चाहिँ के भन्ने ? जहाँ दिने काम हुन्छ त्यहाँ प्रेम हुन्छ। जहाँ लिने दिने हुन्छ त्यहाँ व्यापार हुन्छ। अनि जहाँ लिने काम हुन्छ त्यहाँ वासना। यतिबेला यो यस्तै गरिरहेकी छे। दुष्यन्तलाई पाउने वासना, दुष्यन्तबाट पाउने वासना।’ दुर्वासाले दार्शनिक विचार प्रस्तुत गरे।
‘यो तपार्ईंहरूको भाषा हो ऋषिवर ! आफ्नो भाषा आफैंसँग राख्नुस्। हामी बुझ्दैनौं। हामीले बुझेका यही हो कि यहाँ यदि गल्ती नै भएको छ भने राजा दुष्यन्तबाट भएको छ। शकुन्तला उनलाईं खोज्दै गएकी होइन। दुष्यन्त खोज्दै आएका हुन्। पुरुषहरूले नजिस्क्याई, नकोट्याई कनै पनि नारी जातिले शरीर सुम्पन सक्दिन। तपाईंहरू सन्न्यासी हुनुहुन्छ यस्तो कुरा थाहा छैन होला तर हामी गृहस्थी हौं। यस मामिलामा राम्रै पारखी छौं। त्यसैले दण्ड नै दिने हो भने दुष्यन्तलाई दिनुस्। एक अनाथलाई ललाइफकाई गरी अस्मिता लुट्ने उनी सजाय पाउने यिनी ? गल्ती गर्ने एउटा सजाय पाउने अर्को कसरी हुन सक्छ। हामीले देखेको कुरा यिनै हुन्। बाँकी तपाईंको मर्जी।’ यति भनेर मधु र मालती मौन भए।
उनीहरूको कुरा सुनिसकेपछि दुर्वासालाई के लागेछ कुन्नि लामो सास फेर्दै भने– ‘ठीकै छ तिमीहरूको भनाइ पनि आफ्नो स्थानमा ठीकै होला तर मैले श्राप दिसकेँ। यसलाई पूरै हटाउन त सक्दिनँ तर केही कम भने गरिदिन सक्छु। यिनले दुष्यन्तको कुनै चिनो देखाउन सकिन् भने चिन्ने आधार बन्ने छ।’
यति भनेर महर्षि दुर्वासा हिँडे। यसबारे शकुन्तला भने अहिले पनि बेखबर नै थिइन्। जब साथीहरूबाट समग्र वृत्तान्त थाहा पाइन् तब छागाँबाट खसेजस्तो भएर रुन कराउन लागिन्।