लेखक बन्नु भनेको सत्यबारे उपदेश दिनु होइन, सत्य पत्ता लगाउनु हो
अले सन् १९६० को दशकमा ल्याटिन अमेरिकाका लागि जति योगदान गरे र एलेकज्यान्डर सोल्जेनिट्सनले सन् १९८० को दशकमा रुसका लागि जे जति गरे त्यस्तैगरी मिलान कुन्देराले १९८० को दशकमा आफ्नो देश चेकोस्लोभाकियाका लागि त्यति नै सशक्त भूमिका खेले। उनले पश्चिमी जगत्को पढ्ने समाजको ध्यान पूर्वीय युरोपतिर मोडे। त्यसक्रममा उनले वैश्विक विचार र दृष्टिकोण प्रयोग गरे। उनको सत्य र भित्री स्वतन्त्रताको खोजी, सत्य खोज्ने क्रममा हामीले मृत्युसम्मको लागि तयार हुनुपर्छ भन्ने अनुभूतिजस्ता विषयको उठानले ठूलो प्रशंसा कमायो। जसमध्ये ‘जेरुसेलम प्राइज फर लिटरेचर’ एउटा हो।
कुन्देराका पछिल्ला उपन्यासहरू ‘द बुक अफ लाफ्टर एन्ड फर्गेटिङ’ र ‘द अनबियरेबल लाइटनेस अफ बिइङ’ले हाम्रो समयमा भएको संस्कृतिको मृत्युसम्बन्धी चिन्तन प्रस्तुत गर्छ। आफ्नो मूलभूमिबाट विस्थापित गराइएका लेखकहरू उत्प्रेरणा गुमाउँछन् भन्ने लोकप्रिय मान्यता हटाउन सन् १९७५ देखि फ्रान्समा बसेका कुन्देरा प्रखर आवाज बनेका थिए। उनका किताबहरूमा पाठकले उत्साह, रोमाञ्चकता, जीवन्तता र पर्याप्त आवेग पाउँछन्। कुन्देरा आफ्नो युवावस्थाको चेकोस्लोभाकियालाई जीवन्त, पौराणिक र आवेगले भरिएको भूमिमा रूपान्तरण गर्न सफल भए। कुन्देराले २०२३ जुलाई ११ मा संसार छाडे। ओल्गा कार्लिस्लेले कुन्देरासँग सन् १९८५ मा न्युयोर्क टाइम्सका लागि लिएको अन्तर्वार्ताको केन सुवेदीले गरेको अनुदित अंश :
झन्डै १० वर्षका लागि ४६ वर्ष भएदेखिं फ्रान्समा बस्नु भएको छ। तपाईं आफूलाई के ठान्नुहुन्छ ? आप्रवासी, फ्रान्सिली नागरिक, चेक नागरिक वा निश्चित राष्ट्रियताबिनाको सिर्फ एक युरोपेली ?
जब जर्मन विद्वानहरूले सन् १९३० को दशकमा आफ्नो देश छोडेर अमेरिका गए, उनीहरू एक दिन जर्मनी फर्किने कुरामा निश्चित थिए। उनीहरूले विदेशमा आफ्नो बसाइ अस्थायी माने। मसँग फर्किने कुनै आशा छैन। फ्रान्समा मेरो बसाइ अन्तिम हो र त्यसैले म आप्रवासी होइन। फ्रान्स नै मेरो वास्तविक मातृभूमि हो। म विस्थापित गरिएको महसुस पनि गर्दिनँ। हजार वर्षको लागि, चेकोस्लोभाकिया पश्चिमा भूमिको भाग थियो। आज, यो पूर्वको साम्राज्यको हिस्सा छ। म पेरिसभन्दा पनि प्रागमा आफूलाई बढी विस्थापित गरिएको महसुस गर्ने थिएँ।
तर तपाईं अझै चेकमा लेख्नुहुन्छ हैन ?
म निबन्धहरू फ्रेन्चमा लेख्छु तर उपन्यासहरू चेक भाषामा लेख्छु किनभने मेरा जीवनका अनुभव र कल्पना बोहेमिया र प्रागमा जोडिएका छन्।
तपाईंले मिलोस फोरम्यान साथै अन्य चेक चलचित्र निर्देशकहरू इभान पासर र ज्यान नेमेकलाई ‘प्रागको मनोवृत्ति’को अवतार भन्नुभयो। ‘प्रागको मनोवृत्ति’लाई कसरी परिभाषित गर्नुहुन्छ ?
काफ्काको ‘द क्यासल’ र जारोस्लाभ हासेकको ‘द गुड सोल्जर स्वाइग’ त्यही मनोवृत्तिले भरिपूर्ण छन्। वास्तविकताको असाधारण मर्मबोध। आममानिसको दृष्टिकोण। तल्लो तप्काबाट हेरिने इतिहास। निरर्थकताको विद्वान्। अनन्त निराशावादभित्र हास्य। उदाहरणका लागि, एउटा चेक नागरिक प्रवासनका लागि भिसा अनुरोध गर्छ। अधिकारीले उसलाई सोध्छ, ‘तपाईं कहाँ जान चाहनुहुन्छ ?’ उक्त व्यक्तिले जवाफ दिन्छ, ‘त्यसले मतलव राख्दैन।’ उसलाई ग्लोब दिइन्छ। ‘कृपया छान्नुहोस्।’ त्यस व्यक्तिले ग्लोब हेर्छ, त्यसलाई बिस्तारै घुमाउँछ अनि भन्छ, ‘तपाईंसँग अर्काे ग्लोब छैन ?’
प्रागमा तपाईंको विरासत हुनुको साथै अन्य कस्ता साहित्यको प्रेमले तपाईंलाई आकार दिएको छ ?
पहिलो त, फ्रान्सेली उपन्यासकारहरू राबले र डिडोरो। मेरा लागि, फ्रान्सेली साहित्यको सम्राट् वा वास्तविक संस्थापक राबले हो। र डिडोरोको ‘जाक लु फ्याटालिस्ट’ले अठारौं शताब्दीमा राबलेको भावना बोक्यो। डिडोरो एक दार्शनिक थिए भन्ने तथ्यले भ्रमित नहुनुहोस्। यस उपन्यासलाई सैद्धान्तिक डिस्कोर्समा सीमित गर्न मिल्दैन। यो व्यंग्यको खेल हो। अहिलेसम्मकै स्वतन्त्र भावनाले लेखिएको उपन्यास। स्वतन्त्रतालाई उपन्यासमा रूपान्तरण गरियो। मैले भर्खरै यसमा नाट्य रूपान्तरण पुरा गरें। काफ्का, रोबर्ट मुसिल, हर्मन ब्रोक, विटोल्ड गोमब्रोभिचजस्ता उपन्यासकार एन्ड्री म्यालरक्सले भनेको ‘गीति भ्रमहरू’प्रति अत्यन्तै शंकालु छन्। प्रगतिसम्बन्धी भ्रमबारे शंकालु, देखावटी आशाप्रति शंकालु। मेरो आस्था आधुनिक चेक कवितामा पनि गढेको छ। मेरा लागि, त्यो कल्पनाको विशाल सिक्ने थलो थियो।
के यारोस्लाभ साइफर्ट तपाईंलाई प्रेरित गर्ने आधुनिक कविमध्ये एक थिए ? के उनी वास्तवमै १९८४ मा पाएको नोबेल पुरस्कारका लागि उपयुक्त पात्र थिए ?
पक्कै उनी उपयुक्त थिए। उनीलाई सुरुमा नोबेल पुरस्कार १९६८ मा प्रस्ताव गरिएको थियो भनेर भनिन्छ तर निर्णायक मण्डली होसियार थियो। मण्डली तर्सियो कि उनीलाई त्यतिखेर पुरस्कार दिँदा भर्खरै कब्जा गरिएको देशका लागि त्यो सहानुभूतिको संकेत मानिन सक्छ। पुरस्कार धेरै ढिलो दिइयो। अपमानित गरिएका चेक नागरिकका लागि धेरै नै ढिलो। चेक कविता जसको महान् युग निकै अगाडि सकिएको थियो, त्यसका लागि पनि निकै ढिलो गरियो। ८३ वर्ष पुगेको साइफर्टका लागि पनि निकै ढिलो गरियो। भनिन्थ्यो– जब स्विडिस राजदूत उनी बसेको अस्पतालको शय्याको छेउ आए र सम्मानको बारेमा भने, साइफर्टले उनलाई लामो समयसम एकटकले हेरे। अन्तिममा उनी दु:खी भएर भने, ‘तर यो सबै पैसाले अब म के गरुँ ?’
रुसी साहित्यले कत्तिको छोयो ? के त्यसले अझै तपाईंलाई प्रभाव गर्छ वा सन् १९६८ का राजनीतिक घटनाहरूले नरमाइलो महसुस गराउँछ ?
मलाई टोल्सटोय धेरै मनपर्छ। उनी दोस्तोइभ्स्कीभन्दा धेरै आधुनिक छन्। मानवीय व्यवहारमा तर्कहीनताको भूमिका बुझ्न सक्ने सम्भवत: पहिलो थिए। बेवकुफीको भूमिका तर प्राय: नियन्त्रण नगरिएको र नियन्त्रण गर्न नसकिने अवचेतनले निर्देशित गरेको मानवीय क्रियाकलापको गैरजवाफदाहिता। एन्ना करेनिनाको मृत्युअघिका अंशहरू दोहो¥याएर पढें। किन उनले नचाहिँ नचाहिँ आत्महत्या गरिन् ? उनको यो निर्णय कसरी सिर्जना भयो ? तर्कहीन र सम्झन कठिन ती कारणहरूलाई समावेश गर्न टोल्सटोयले एन्नाको चेतनाको प्रवाहलाई चित्रण गर्छन्। उनी क्यारिजमा छिन्स सडकका तस्बिरहरू उनको दिमागमा उनको अतार्किक साथै खण्डित विचारहरूसँग मिश्रण हुन्छ। इन्टेरियर मोनोलग अर्थात् पात्रको मनमा चलिरहेको विचार प्रक्रियाको पहिलो सर्जक जेम्स जोइस नभएर टोल्सटोय हुन् जुन ‘एन्ना करेनिना’को केही पृष्ठमा भेटिन्छ। यो विरलै पहिचान गरिएको छ। किनभने टोल्सटोयका कृतिहरू नराम्ररी अनुवाद भए। मैले एकपटक यो अंशको एउटा फ्रान्सेली अनुवाद पढें। म चकित परें। मूलपाठमा जे कुरा तर्कहीन र खण्डित छ त्यसैलाई फ्रान्सेली अनुवादमा तार्किक र युक्तिसंगत उल्लेख गरिएको थियो। दुर्भाग्य, हाम्रा अनुवादकहरूले हामीलाई धोका दिन्छन्। उनीहरू हाम्रा रचनाहरूमा भएका असामान्य अवधारणाहरू जसमा ‘चुरो कुरो’ हुन्छ त्यो अनुवाद गर्न हिम्मत गर्दैनन्। खराब अनुवादका कारण समालोचकहरू उनीहरूलाई आरोपित गर्छन् भनेर उनीहरू डराउँछन्। आफैंलाई रक्षा गर्न, उनीहरू हामीलाई तुच्छ बनाउँछन्। किताबका अनुवादहरू सच्याउँदा कति धेरै समय र ऊर्जा व्यतित गर्छु।
म देख्छु कि तपाईंलाई राइट र लेफ्टबीचको झगडाले खासै उत्साहित बनाउँदैन हो ?
हामीलाई तर्साउने खतरा अधिनायकवादी साम्राज्य हो। खोमेनी, माओ, स्टालिन। के ती लेफ्ट हुन् वा राइट ? अधिनायकवाद न लेफ्ट हुन्छ न राइट र यसको साम्राज्यभित्र दुवै नाश हुनेछन्। त्यस्तो विश्वासी थिइनँ तर स्टालिनको शासनको बेला भएको आतंकमा सताइएका चेक क्याथोलिकहरू देखेपछि गहिरो ऐक्यबद्धता महसुस गरें। हामीलाई अलग गर्ने ईश्वरप्रतिको विश्वास जेले जोड्यो, त्यसको अगाडि गौण भयो। प्रागमा उनीहरूले समाजवादी र पादरीहरूलाई झुन्ड्याएर मारे। त्यसैले तिनको बन्धुत्व समूह खडा भयो। त्यसैले लेफ्ट र राइटबीचको हठी संघर्ष बेकार र तुच्छ लाग्छ। राजनीतिक जीवनमा सहभागी हुन चाहन्नँ। तर राजनीतिले मलाई एक सो जस्तो आकर्षित गर्छ।
कहिलेकाहीँ विरोधाभासमा भनिन्छ कि दमन र अत्याचारले कला र साहित्यलाई थप गम्भीरता र जीवन्तता दिन्छ। तपाईंलाई के लाग्छ ?
हामी रोमान्टिक नबनौं। जब दमन लामो समयसम्म हुन्छ, त्यसले संस्कृतिलाई पूर्ण रूपमा ध्वस्त गर्न सक्छ। संस्कृतिलाई सार्वजनिक जनजीवन चाहिन्छ, विचारको स्वत:स्फूर्त आदानप्रदान, यसलाई प्रकाशन, प्रदर्शन, वादविवाद र खुला सीमा आवश्यक हुन्छ। १९६८ को रुसी अतिक्रमणपछि, लगभग सम्पूर्ण चेक साहित्यलाई प्रतिबन्ध गरिएको थियो र केवल पाण्डुलिपिमा वितरीत भयो। खुला सार्वजनिक सांस्कृतिक जीवन विनाश गरियो। यद्यपि १९७० को चेक साहित्य भव्य थियो। आफ्नो अस्तित्वको सबैभन्दा खतराको समयमा त्यहीबेला चेक साहित्यले अन्तर्राष्ट्रिय ख्याति कमाएको थियो। तर त्यो भूमिगत रूपमा कतिन्जेल जीवित रहन सक्छ कसैलाई थाहा छैन। युरोपले त्यस्ता अवस्थाहरू पहिले कहिले अनुभव गरेको छैन। राजनीतिक दमनले अर्को खतरा प्रस्तुत गर्छ, विशेषगरी उपन्यासका लागि र त्यो सेन्सर व्यवस्था र प्रहरीभन्दा बढी खराब हुन्छ। नीतिवाद। दमनले राम्रो र खराब बीचको प्रस्ट सीमा सिर्जना गर्छ र लेखक सजिलै उपदेशको आशक्तिसँग सहमत हुन्छ। मानवीय दृष्टिकोणबाट यो अत्यन्तै आकर्षक हुनसक्छ तर साहित्यका लागि यो खतरनाक हुन्छ।अस्ट्रियन उपन्यासकार हर्मन ब्रोक जसलाई म अगाढ प्रेम गर्छु उनले भनेका छन्, ‘एउटा लेखकका लागि एकमात्र नैतिकता भनेको ज्ञान हो।’ एक साहित्यिक रचना जसले मानव अस्तित्वको थाहा नभएको पक्ष उजागर गर्छ केवल त्यो रहनुले अर्थ राख्छ। लेखक बन्नु भनेको सत्यबारे उपदेश दिनु होइन, सत्य पत्ता लगाउनु हो।