काठमाडौं : त्रिकोणात्मक टि-२० आई सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा १९.३ ओभरमा नेदरल्यान्ड्सले सबै विकेट गुमाएर १२० रन बनाएको हो।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए। उनले १ छक्का र ४ चौका प्रहार गरे। त्यसैगरी टिम भान डर गुग्टेनले २४ रन, रोलफ भान डर मर्वले २३ रन, कप्तान स्कट एडवार्ड्सले १ छक्कासहित १८ रन, तेजा निदामानुरुले ५ रन, माइकल लेभिटले ४ रन, भिभिएन किंग्माले ४ रन, नोआ क्रोस ३ रनको योगदान गरे।
नेपालका लागि प्रतिश जिसीले सर्वाधिक ३ विकेट, कुशल मल्ल र करण केसीले २/२ विकेट, दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
कुशल मल्लले ९.५ र ९.६ ओभरमा लगातार २ विकेट लिएका हुन्। जिसीले आठौं ओभरको पहिलो र पाँचौं बलमा दुई विकेट लिएका हुन्। केसीले पनि पहिलो ओभरमै २ विकेट लिएका थिए।
नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका थिए। नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो। शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपाल आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ।
नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख , अभिनाश बोहोरा र प्रतिश जिसी रहेका छन्।