खुसीका अनेक आयाम

सोच र स्वास्थ्य

खुसीका अनेक आयाम

पढाइलेखाइ मस्तिष्कका खुराकमात्र हुन्। यी खुराकहरूलाई मांसपेशीको आदतहरूमा बदल्न सकेमात्र हामी सीप विकास गर्न सक्छौं।

खुसी के हो ?

पढेलेखेका मान्छे पनि किन असफल बन्छन् ?
के झनक्क रिसाउने मान्छे दयालु हुन्छन् ?
बालबालिकाको अनुशासनमा कसरी छिटो सुधार आउँछ ?

प्रमाणित अनुसन्धानका आधारमा उत्तर दिने प्रयास गर्दैछु। दिनानुदिन हामीले सुनेको कुरा हो झनक्क रिसाउने मान्छेले छिट्टै माया पनि गर्छ। त्यसैले यस्तो व्यक्ति असल हो या दयालु हो या मनको सफा छ तर यो सोचाइले तपाईंलाई असत्यको नजिक पुर्‍याएको छ माथिका प्रश्नहरूको सटिक उत्तर दिन मैले सक्छु या सक्दिनँ यो परीक्षणकै कुरा भयो तर यी हरेक प्रश्नको तार्किक जवाफहरू पस्कने जमर्को गरेको छु, विविध अध्ययनहरूका आधारमा र अन्तमा सकेसम्म सन्दर्भ सामग्री राख्ने नै छु।

मस्तिष्क :  मस्तिष्क अध्ययनको एउटा बृहत् पाटो हो। विविध पाटामध्ये दुईवटा महत्त्वपूर्ण खण्डहरूलाई मात्रै यहाँ समावेश गरेको छु। एमिकडाला र प्रि फ्रन्टल कटेक्स। मस्तिष्कको आधार क्षेत्रमा रहेको एमिगडालाले हाम्रो रिस, आवेग या डरको अनुभूति गर्छ। जब एमिगडालाले रिसको अनुभूति गर्छ, त्यसबेला प्रि फ्रन्टल कर्टेक्स्ले सम्पूर्ण नर्भस सिस्टमलाई यो रिस वा आवेगको सूचनाको पालना गर्न निर्णय दिनु पर्छ।

अब यसरी सोच्नुहोस्, मस्तिष्कको प्रि फ्रन्टल कर्टेक्सले ठोक भन्ने निर्णय दियो भने तपाईंले कुनै मान्छेलाई धुलीसात हुनेगरी गोद्नु हुन्छ। पर्ख भन्ने निर्णय दियो भने तपाईं जोसँग रिसाइरहनु भएको छ सम्झनुस् उसको आजको दिन खुब बढिया थियो। हाम्रो औंलामा सियोले घोच्न लाग्दा एमिकडालाले तुरुन्त प्रतिक्रिया दिन्छ। एमिकडाला उत्तेजित हुन्छ तर घोच्न औंला दिने या नदिने निर्णय प्रि फ्रन्टल कर्टेक्सले लिन्छ। स्वस्थ्य प्रि फ्रन्टल कटेक्सले जानकारी दिन्छ कि दुख्छ प्रितकार गर। हामी प्रितकार गर्छौं। तर त्यो औंलामा एनेस्थेसिया लगाइदिने हो भने प्रि फ्रन्टल कर्टेक्स्ले निर्णय दिन्छ कि दुखाई हुने छैन प्रितकार नगर। प्रि फ्रन्टल कर्टेक्सका दुई भागहरू छन्, डोर्सोलाटरल प्रिफ्रन्टल कटेक्स र भेन्टरोमेडियन प्रिफ्रन्टल कन्टेक्स।

डोर्सोलाटरलको कार्य तार्किक निर्णय दिनु हो। जस्तै, तपाईंलाई कोही व्यक्तिले आफूसँग भएको एक केजी नुन र एक केजी चिनी साट्ने प्रस्ताव राख्छ। तपाईं मान्नुहुन्न, यसको अर्थ तपाईंको डीएल पीएफसी स्वास्थ्य छ। डीएल पीएफसी अस्वस्थ भएको मान्छेले तार्किक निर्णय गर्न सक्दैन। यसैगरी भीएम पीएफसीको कार्य भावनात्मक निर्णय लिनु हो। मानौं, तपाईंलाई एउटा साहसिक कार्य दिइयो, पाँच जना अपहरणमा परेका मानिसलाई बचाउनुपर्ने तर ती पाँचजना अपहरणमा परेका मानिस बचाएबापत तपाईंले एउटा निर्दोष मान्छेको ज्यान लिनुपर्ने हुन्छ। सम्भवत:  त्यो निर्दोष तपाईंको पारिवारिक सदस्य पनि हुन सक्छ। यो अवस्थामा तपाईं एकको सट्टामा पाँच जोगाउन उपयुक्त छ, एउटा मरेर के भो पाँचजना त बाँच्ने भए भन्ने निर्णय लिनुहुन्छ भने यसको अर्थ हुन्छ। तपाईंको भेन्टरोमेडियनमा समस्या छ। तपाईं एकजना पनि निर्दोषको पक्षमा उभिनुहुन्छ र गलत विचार बोकेको बहुमतको पक्ष या लहैलहैमा लाग्नुहुन्न भने भेन्टरोमेडियन स्वस्थ भएको मान्न सकिन्छ।

कुनै व्यक्तिलाई झनक्क रिस उठेपछि तुरुन्त नकारात्मक निर्णय लिन्छ भने उक्त व्यक्तिको प्रि फ्रन्टल कर्टेक्सले लिने निर्णयात्मक क्षमताको कमजोरी मान्न सकिन्छ। प्रि फ्रन्टल कर्टेक्सले तुरुन्त निर्णय दिन सकेन त्यसकारण तपाईं झम्टन पुग्नु भो। आवेगमा तुरुन्त नकारात्मक निर्णय लिने मानिसहरूमा प्रि फ्रन्टल कर्टेक्सले गर्ने निर्णयात्मक क्षमताको विकासमा अवरोध छ भन्ने बुझ्नुपर्छ। माया गर्ने मान्छे रिसाउँछ भन्ने कुरा भ्रामकमात्र हो। अझ अमिग्डालामा नै चोट वा समस्या भएको मान्छेले त तुरुन्त आवेग प्रेरित हत्या पनि गर्न सक्छ। रिस साँधेर नकारात्मक कार्य गर्ने व्यक्ति समस्या ग्रस्त हुने गर्छ।

बाल अनुशासन :  उत्प्रेरणा वा उपदेशले ९५ प्रतिशत अनुशासनहीन बालबालिकालाई काम गर्दैन। ५ प्रतिशत बालबालिका जसले पहिलादेखि नै अनुशासनमा बस्ने प्रण गरेका छन्, त्यस्तालाई मात्रै उपदेशले शतप्रतिशत काम गर्छ।किन ?

कारण एउटै छ एमिगडाला बालबालिकाहरूमा विकसित भइसके पनि फ्रन्टल कर्टेक्स भने २५ वर्षको उमेरसम्म विकसित भई नै रहन्छ। बालबालिकाको एमिगडालाले नकारात्मक सन्देश पठायो भने ऊ अनुशासनहीन बन्ने हो। तर उसले अनुशासनहीन कार्य तब गर्छ जब उसको प्रि फ्रन्टल कर्टेक्सले गलत निर्णय लिन्छ यो मान्छे कस्तो बालबालिका जस्तो छ, किन भनिन्छ ? कारण यही हो कि बालबालिकाहरूको प्रि फ्रन्टल कर्टेक्स पूर्ण विकास हुन ऊ २५ वर्ष उमेरको पुग्नुपर्ने हुन्छ।

कसरी बनाउने त अनुशासित ?

उपदेशले भरिपूर्ण भएको उत्प्रेरित भाषण दिएर ? गलत, केही हदसम्म। यसको सही उत्तर हो– उत्प्रेरणाको साथमा अतिरिक्त क्रियाकलापहरूमा बढीभन्दा बढी समावेश गराएर। बालबालिका २५ वर्ष नपुग्दासम्म उसको मस्तिष्कभित्र प्रि फ्रन्टल कटेक्स निरन्तर विकासको क्रममा हुन्छ। एउटा अनुशासनहीन बालबालिकालाई हामी ब्याडमिन्टन सिकाउन सुरु गरौं। अब बालबालिकाले सटल जति रेखाभन्दा बाहिर फ्याँक्छ, उसको प्रतिद्वन्दीको त्यति नै नम्बर बढ्दै जान्छ। प्रतिद्वन्दीको सटल बाहिर गयो भने आफूले नम्बर पाउँछ।

मानौं कि रसियाको जार एटम बम विस्फोट भयो। सबै मरे, तपाईंमात्र बाँच्नुभयो ? तपाईंलाई के नामले बोलाइनेछ ? जाति वा धर्म के हो ? राष्ट्रियता कुन रहन्छ ?

बालबालिकालाई अनुशासनको पट्यारलाग्दो भाषण सुनाइरहन पर्दैन। २५ वर्षको उमेर पुग्दासम्म यदि अन्य कुरा यथावत् रहेमा ऊ असल नागरिक बन्नेछ। किनभने उसले अनुशासनको सीमा, परिधि थाहा पाइसकेको छ। उसलाई थाहा छ, अनुशासनको सीमारेखा बाहिर आफूले सटल झारियो भने जित प्रतिस्पर्धीको हुनेवाला छ। समग्रमा कारण यही हो कि बुझ्नेहरू भन्ने गर्छन् हर एक विद्यार्थी एक खेल अनिवार्य खेलाउनु पर्छ। हामी यही अनिवार्यलाई अतिरिक्त भनिरहेका छौं। फस्ने फसाइने खेल सम्झेर मस्तिष्कलाई अतिरञ्जित नगरौं।

पढाइलेखाइ :  हामी पढेलेखेका छौं तर हाम्रोभन्दा जीवनस्तर राम्रो त पढाइमा फेल हुनेको पनि छ। अब के गर्ने, बडो अलमलमा परियो। बेकार पढिएछ लेखिएछ। नपढेको भए त धनी मान्छे हुने पक्का रहेछ। यो तर्क हाम्रो मनमा छ भने अर्को अनुच्छेद यसकै बारेमा लेख्ने प्रयास गरेको छु। पढाइलेखाइ मस्तिष्कका खुराकमात्र हुन्। यी खुराकहरूलाई मांसपेशीको आदतहरूमा बदल्न सकेमात्र हामी सीप विकास गर्न सक्छौं। मलाई मस्तिष्कको बारेमा थोरै कुरा थाहा हुनेबित्तिकै यसको चिरफार नै गर्न त सक्दिनँ नि। के तपाईं मलाई आफ्नो न्युरो सर्जन बनाउन सक्नुहुन्छ ? पक्कै सक्नुहुन्न।

किन ? :  किनभने जानकारीभन्दा महत्त्वपूर्ण कुरा उक्त जानकारीबमोजिमको सीप हासिल गर्नु हो। हामीले स्नातकोत्तर गर्‍र्यौं तर अहिले त्यसको सिलेबस पनि बिर्सियौ। स्नातकोत्तर गरेर के सीप सिक्यौं ? के हाम्रो पढाइलेखाइ अर्थात् मस्तिष्कको खुराक मांसपेशीका आदतहरू पनि बने ? यदि बनेकै छैनन् भने बेकार हाम्रो समय र रुपैयाँ मात्र बर्बाद भयो। धन संग्रह गर्ने क्षमता मांसपेशीका आदतहरूमा निर्भर हुन्छन्। हामीले पढ्न र लेख्न जाने पनि कुकिङ त सिकेका थिएनौं अब हामी स्नातकोत्तर गर्नेको भन्दा कुकको जीवनस्तर राम्रो भएमा किन आश्चर्यचकित हुनुपर्‍यो ? अफसोच नगरौं, धन्न पढ्न र लेख्न जानिएछ र यतिको सम्म जीवन धान्न सक्ने भएका छौं, नपढेको भए झन् बर्बाद थियो।

अन्य मांसपेशीका सीपहरू त केही पनि थिएनन्। यो कुरामा दुई मत नहोस्, सीप नभएको शिक्षाले पनि आर्जन र इज्जतको हैसियत कुनै न कुनै तरिकाले दिएकै हुन्छ। हाम्रा बालबालिकाले पढाए पढ्न जान्दछ, नाच्न जान्दैन। लेखाए लेख्न जान्दछ, खेल्न जान्दैन। घोकाए कण्ठ गर्न जान्दछ, खुसी हुन जान्दैन। पाठका हरफहरू कहाँबाट सुरु गर्ने र कहाँ अन्त्य गर्ने भन्ने जान्दछ तर जीवन बाँच्ने कला जान्दैन। सिकाउनुपर्ने जीवन हो ए–वान होइन। जेसुकै सोचाइ राखौं, पढाइलेखाइले अनुभवको माध्यमद्वारा हाम्रो मांसपेशीमा अबेर गरेर पनि सीप घुसपैठ गराएर नै छोड्छ।

चेतना :  मस्तिष्क चेतना होइन। चेतना अनुशासन पनि होइन। त्यसो भए के चेतना भनेको आत्मा हो ? कि के हो ? आत्मा छ या छैन ? यो मेरो लेखको उद्देश्य होइन। तर कसरी चेतना मान्छेको शरीरभित्र या मस्तिष्कसहितको स्नायु प्रणाली र मांसपेशीमा रहेको हुन्छ त ? चेतना एक अल्गोरिदम हो। मस्तिष्क, स्नायु प्रणाली या मांसपेशीहरू मानवका लागि जानकारीहरू रेकर्ड गरेर राख्ने मेमोरी कार्ड या मेमोरी स्लटहरू जस्तै हुन्। चेतनाको विकास अन्य केही होइन, मानवभित्र सञ्चार हुने एल्गोरिदमले जटिल समस्या समाधान गर्ने क्षमता विकास गर्नु मात्र हो।

के हो त अल्गोरिदम ?

कम्प्युटरका विद्यार्थीले यो बुझिसकेको हुनुपर्छ। मानौं कि तपाईंलाई चिया बनाएर पिउनु छ के गर्नुहुन्छ ? तपाईंले केही सरल र सहज स्टेपहरू बनाउनु हुन्छ। जस्तै : –

  • स्टेप १ :  आवश्यक सामग्रीहरू पानी, चियापत्ती, चिनी, दालचिनी, दूध, अदुवा, मरिच इत्यादि आवश्यक परिणाममा लिनुहोस्।
  • स्टेप २ :  ग्यास चुलो बाल्नुहोस्।
  • स्टेप ३ :  आगोमा ताप्के राख्नुहोस्।
  • स्टेप ४ :  ताप्केमा आवश्यक परिणाममा दूध र पानी उमाल्नुहोस्।
  • स्टेप ५ :  दूध पानी उम्लेपछि स्टेप एकका अन्य सामग्री राख्नुहोस्।
  • स्टेप ६ :  दुई मिनेट पर्खनुहोस्।
  • स्टेप ७ :  चिया तयार भयो आफू लिनुहोस् र पाहुना भए दिनुहोस्।

माथिका सातवटा स्टेपहरू चिया तयार गर्ने अल्गोरिदम हुन्। हाम्रो मस्तिष्क मांसपेशी र स्नायु प्रणालीमा अनगिन्ती अल्गोरिदम त्यसरी नै संग्रहित हुन्छन्, जसरी कम्प्युटरको हार्ड ड्राइभ या चक्र वा चक्रभित्र अल्गोरिदम संग्रृहीत गर्न सकिन्छ। समस्त शरीरभरि यस्ता अनगिन्ती अल्गोरिदम छन्। यी अनगिन्ती अलगोरिदम जुन शरीरका विविध कुनामा रहेका छन्, तिनीहरू मिलेर एउटा प्राकृतिक सफ्टवेयर हामीभित्र तयार भएको छ। के हामी एउटा कम्प्युटर खरिद गर्दा धेरै टेराबाइट मेमोरी भएको तर अडियो भिजुअलमा समस्या भएको कम्प्युटरको चाहना राख्छौं ?

हातमा भएको मोबाइल त हामीलाई सम्पूर्ण सफ्टवेयरले सहज काम गर्न सक्ने चाहिन्छ भने जीवनलाई सहजतापूर्ण रूपले चलाउन हामीमा शिक्षा र सीपको विकास हुनुपर्ने होइन र ? संग्रह गरेका जानकारी मांसपेशीका सीप या भाषाहरू बने भने जीवन सहज हुन्छ। हामीभित्र जति धेरै जटिल एल्गोरिदम छन्, त्यति नै राम्रो हाम्रो प्राकृतिक सफ्टवेयर तयार हुन्छ र त्यति नै बढी हामी चेतनशील बन्दै जान्छौं। यही चेतनशीलताको प्राकृतिक सफ्टवेयर निर्माण गर्न मानवलाई अध्ययन, अनुसन्धान, प्रयोग, सीप, लेखन क्षमता इत्यादि अत्यावश्यक हुन्छ। पढाइलेखाइ चेतना विकासको आधार तयार गर्न धेरैभन्दा धेरै अलगरिदमको संग्रह गर्ने पहिलो र भरपर्दो खुड्किला हो।

मानवभित्रको यही चेतनाको विकासक्रमलाई अध्ययन गर्न सकेपछि नै मानवले चेतनायुक्त रोबोट बनाउने क्षमता बढाउँदै गएको छ। मानव शरीर अन्त्य भएपछि शरीरभरिका अल्गोरिदमहरू स्वत:  नास हुन्छन्। त्यसरी नै जसरी कम्प्युटरको हार्डवेयर बिग्रिएपछि सफ्टवेयर स्वत:  निष्क्रिय हुन्छ। हाम्रो अलगरिदम नास भए स्वत:  हामीभित्रको प्राकृतिक सफ्टवेयर पनि नास भएर जान्छ। माफ गर्नुहोस्– पुनर्जन्म, अर्को जुनी, स्वर्ग या नरकको सुविधा दिन सकिनँ। यो जीवन प्रथम पटकको सहयात्री हो र यो यात्रा अन्तिम हो।

सुख र खुसी :  सुख वा खुसी कहाँ पाइन्छ ? कतै बाहिर खोज्ने हो ? या मात्र व्यक्तिगत कुरा हो। मानौं कि रसियाको जार एटम बम विस्फोट भयो। सबै मरे, तपाईंमात्र बाँच्नुभयो ? तपाईंलाई के नामले बोलाइनेछ ? जाति वा धर्म के हो ? राष्ट्रियता कुन रहन्छ ? तपाईं कालो कि गोरो ? अग्लो या होचो ? धनी या गरिब ? शिक्षित कि अनपढ ? तपाईंका मित्र कति छन् ? शत्रु को को हुन् ? कुन कुन मान्छे तपाईं निकटका ? अनि कुन मान्छे तपाईं इतरका ? को आफ्नो को बिरानो ?

यी सबै कुरा तबमात्र अस्तित्वमा छन्, जब दाँज्न केही रहन्छ। हाम्रो शरीरभित्र रहेको डोपामिन एनर्जी जसलाई ह्याप्पी हर्मोन भन्छौं। यसको मात्राले खुसीहरू र सुखहरू अनुभूत गर्न सकिन्छ। मादक पदार्थ सेवन गर्दा वा शारीरिक सुख अनुभूत गर्दा आनन्द प्राप्तिको आधार नै डोपामिन हो। डोपामिन मस्तिष्ककै ट्यागमेन्टमबाट सुरु भएर विविध शाखाहरूमा छरिने गर्छ। यदि डोपामिन यसरी छरिएन भने उक्त व्यक्तिलाई पार्किन्सन डिजिज भएको हुन्छ। जब डोपामिन मस्तिष्कको विविध शाखा प्रशाखामा छरिँदैन, तब मानव दु: खी उदास र चिन्तित बन्छ।

प्रयोगशालामा बाँदरको डोपामिन लेभल परीक्षण गरिएको कुरालाई यहाँ प्रस्तुत गर्न चाहन्छु। दिएको लिभर १० पटक थिचेपछि बाँदरलाई एउटा अंगुर दिइन्छ र डोपामिन लेभल परीक्षण गरिन्छ। बाँदरको एक्युमेन्समा १० एकाइ डोपामिन मापन हुन्छ। बाँदरले फेरि लिबर १० पटक थिच्छ। यसपटक उसलाई दुईवटा अंगुर दिइन्छ। डोपामिन लेभल परीक्षण हुन्छ, बाँदरको एक्युमबेन्समा २० एकाइ डोपामिन मापन हुन्छ। कार्य एकै तर पुरस्कार बढी हुँदा खुसीको मात्रा दुगुना बढेर जान्छ। बाँदरले पुन १० पटक लिभर थिच्छ। यसपटक एउटा मात्र अंगुर पाउँछ। बाँदरको डोपामिन घटेर १० इकाइमा फर्कन्छ। एवं रीतले सोही कार्य दोहोर्‍याउन लगाएर प्राप्ति एक अंगुर मात्र हरेक पटक दिँदा डोपमिन लेभल आठ, छ हुँदै झर्दै शून्य हुन पुग्छ। निरन्तर एकै किसिमको प्राप्तिले खुसी बढ्दैन, बरु घटेर जान्छ। जागिरेलाई यसकारण प्रमोसनको व्यवस्थापन गरिएको हो।

सुख वा दु: खको मात्रा आफूभित्र छ, डोपामिन हाम्रो शरीरभित्रै छ। भगवान् गौतम बुद्धले मान्छे किन दु: खी हुन्छ भन्ने कुरा खोज गरेर विश्वलाई बताइदिनु भयो। बुद्धले डोपामिन बढाउने उपायहरू जस्तै सत्यवचन बोल्नु, चोरी नगर्नु, हत्या नगर्नु, नढाँट्नु, घमण्ड नगर्नु भनेर उपदेश दिनुभएकै हो। बुद्धले सिकाएका ध्यान साधनाले हामीभित्र चामत्कारिक रूपमा डोपामिनको लेभल बढ्ने पक्का छ। विडम्बना त यो छ कि गौतम बुद्धले सिकाएका सीपहरू हामी रामदेव बाबाले भनेपछि मात्र पत्याउँछौं। बुद्धम शरणम् गच्छामि। अस्तु !

यो सामग्री विभिन्न स्रोतका आधारमा तयार पारिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.