भूकम्प विस्थापितलाई निर्माण गरिएको एकीकृत बस्तीमा पीडितले नै बस्न मानेनन्
रसुवा : नौकुण्ड गाउँपालिकामा निर्माण गरेको एकीकृत बस्ती अहिले सुनसान अवस्थामा छ । नौकुण्ड गाउँपालिका–१ लाङ्बुमा विस्थापित २७ घर परिवारलाई निर्माण गरिएको बस्ती खेतिपाती गर्न टाढा भएको भन्दै उनीहरूले त्यहाँ बस्न मानेका छैनन्।
विनाशकारी भूकम्पपछि राष्ट्रिय पुननिर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनले उक्त बस्ती निर्माण गरेको हो। प्रतिपरिवार दुई लाख रुपैयाँमा जग्गा खरिद गरेर प्रति घर ३ लाख अनुदान दिएर निर्माण गरेको एकीकृत बस्तीतमा साङयुल गाउँका विस्थापित परिवार त्यहाँ बस्न नमानेपछि अहिले एकीकृत बस्ती सुनसान भएको हो ।
२०७२ सालको भूकम्पले विस्थापित बनाएको सोहि वडाको साङयुल गाउँका २७ घर परिवारलाई निर्माण गरेको लाङ्बुको एकीकृत बस्ती थप जग्गाबाट धेरै टाढा भएको भन्दै विस्थापित परिवार बस्न नमानेपछि सुरक्षित मानिएको एकीकृत बस्ती सुनसान बनेको स्थानीय बताउँछन् ।
सुरक्षित स्थान छनोट गरी आवास निर्माण गरेको स्थान पुग्न तीन घण्टा पैदल जानुपर्ने भएपछि विस्थापित परिवार त्यहाँ बस्न नमानेका हुन्। नयाँ बस्तीमा सडकको पहुँचसहित खानेपानी,विद्युत सुविधा छ । बनेका घरहरू विस्थापित परिवारलाई हस्तान्तरण भएपनि बस्तीमा कोही बस्न मानेका छैनन।
लाङ्बु एकीकृत बस्ती निर्माण गर्न सरकारको एक करोड १२ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय दावा तामाङले भने,'घरमात्र बनेको छ के खाने,कसरी बस्ने ? आफ्नो खेतीबारी उता रहेकाले साङयुलमै बसेका छौं,'स्थानीय नुर्वु तामाङले बताए ।