नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालन
परासी : नारायणगढ–बुटवल सडक खण्डको नवलपरासीस्थित दाउन्ने सडक सञ्चालनमा आएको छ।
आइतबार साँझ ६ बजेदेखि अवरुद्ध बनेको सडक सोमबार साँझ ५ बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय पश्चिम नवलपरासीका प्रमुख इन्स्पेक्टर राजु खत्रीले बताए। सडक खुलेपछि अहिले सबै प्रकारका सवारी साधनहरू सञ्चालन भएको खत्रीले जानकारी दिए।
आइतबार परेको सिमसिमे पानीका कारण पूर्वी नवलपरासीतर्फको दाउन्नेस्थित त्रियासी मोड र पश्चिम नवलपरासीको एसमोडमाथिको सडक अवरुद्ध भएको थियो। राजमार्गको सडक विस्तारका क्रममा बनाइएको डाइभर्सनमा नयाँ माटो राखेका कारण पानीले सडक हिलाम्मे हुँदा सवारी साधन चल्न सकेका थिएनन्।