विराटनगरमा तेस्रो संस्करणको इक्वालिटी कप क्रिकेट हुँदै
विराटनगर : मोरङको विराटनगर महानगरपालिकामा तेस्रो संस्करणको इक्वालिटी कप क्रिकेट हुने भएको छ। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा हुने ‘इक्वालिटी कप क्रिकेट २०२४’ नाम दिइएको उक्त प्रतियोगिता भोलिदेखि तीन दिनसम्म हुने जनाइएको छ।
आयोजक नेपाल क्रिकेट फाउन्डेसनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी गराएको हो। टी–२० फर्म्याटमा हुने सो प्रतियोगिता विराटनगर–६ केशलिया रोड नजिकै रहेको म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा हुने छ।
महिला क्रिकेटको विकास र प्रवर्द्धन गर्ने हेतुले आयोजना गर्न आँटिएको प्रतियोगितामा कोशी प्रदेश र मधेस प्रदेशका चार टोली महिलाको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए। मोरङ जिल्ला क्रिकेट संघसँगको समन्वयमा हुने आँटेको उक्त प्रतियोगितामा प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सप्तरी र सिरहाको सहभागिता रहने छ। जिल्ला क्रिकेट संघले छनोट गरेर पठाएका खेलाडीहरूले प्रतिनिधित्व प्रतियोगितामा रहने उनको भनाइ छ।
श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्ने छन् र अंक तालिकाको शीर्ष दुई टिम उपाधिका लागि भिड्ने छन्। बिहान १० बजे र दिउँसो १ बजे गरी प्रतियोगितामा हरेक दिन दुई खेल हुने छन्। पहिलो दिन बिहान १० बजे मोरङ र सप्तरीले प्रतिस्पर्धा गर्ने छन् भने दोस्रो खेलमा इलाम र सिरहा भिड्ने छन्।
बुधबार पहिलो खेलमा सप्तरी र इलामले प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा सिरहा र मोरङ आमने–सामने हुने छन्। तेस्रो दिन अर्थात् बिहीबारको पहिलो खेलमा मोरङ र इलाम तथा दोस्रो खेलमा सप्तरी र सिहराबीच हुने छ। प्रतियोगिताको फाइनल खेल भने अन्तर्राष्ट्रिय महिला दिवसको दिन हुने छ।
विराटनगर महानगरपालिका र मोरङ क्रिकेट संघ प्रवर्द्धक संस्था रहेको यस प्रतियोगिता सम्पन्न गर्न पाँच लाख रुपैयाँ लाग्ने बताइएको छ। ‘विशेषगरी महिला दिवसको अवसर पारेर महिला क्रिकेटको विकास, प्रवर्द्धन र उत्थान गर्ने उद्देश्य लिएर यो प्रतियोगिता गर्न लागेका हौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘यसका लागि तयारी पूरा भइसकेको छ। भोलिबाट हुने प्रतियोगिताबाट थुप्रै नवप्रतिभाहरूलाई प्रोत्साहन पुग्ने छ।’
मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून संख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन खेलको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए।
कोशी र मधेस प्रदेशका महिला खेलाडीहरूको प्रतिभा पहिल्याउन पनि प्रतियोगिताको आयोजना गर्न आँटिएको फाउन्डेसनका अध्यक्ष श्रेष्ठले बताए। समाजमा व्याप्त लैंगिक विभेद अन्त्य गर्न पनि यो प्रतियोगिता आवश्यक रहेको उनको ठम्याइ छ।
फाउन्डेसनका सदस्य विशाल साहले विभिन्न देशबाट महिला क्रिकेटको प्रवर्द्र्धन गर्ने उद्देश्यले क्रिकेट विथआउट बाउन्ड्रीले खेलाडीहरूलाई आवश्यक ‘टेक्निक’ सिकाउने बताए। उनका अनुसार स्वयंसेवक प्रशिक्षकका रूपमा नेपाल आएको टोलीले रचना रामचन्दन, एच लाम्ब, काउप्रेडीलगायत ६ जनाको टिमले स्वयंसेवकका रूपमा प्रतियोगिता सहभागी हुने महिला क्रिकेटरलाई सिकाउने छन्।
स्वयमसेवी प्रशिक्षक रामचन्दनले यस क्षेत्रका महिला खेलाडीमा खेलप्रति आत्मविश्वास रहेको र प्रतियोगिताले उनीहरूको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने बताइन्। बाउन्ड्रीका स्वयंसेवक प्रशिक्षक बेलायती नागरिक काउपेड्रीले महिला खेलाडीमा क्रिकेटप्रति उत्सुकता रहेको पाएको जानकारी बताए।
अर्का स्वयंसेवक प्रशिक्षक एच लाम्वले महिलाहरूलाई घरपरिवारबाट खेल्न लगाइने बन्देज हटाउन चेतना वृद्धिको आवश्यकता रहेको उल्लेख गरे।