शिवतत्त्व र शिवरात्रि
संसारमा पाँच मुख्य तत्त्व छन्। सृष्टि, स्थिति, संहार, तिरोभाव, र अनुग्रह ! यी पाँच तत्त्व नै ब्रह्माण्डसम्बन्धी कार्य हुन्। संसारको रचनालाई आरम्भ भनौं सर्ग या सृष्टि भनिन्छ। सृष्टिलाई संरक्षण गर्नु स्थिति हो, संरक्षण गर्ने कार्य शिवको पालनस्वरूप कार्य हो। सृष्टिपछि विनाश हुन्छ जसलाई संहार भनिन्छ। जीव प्राण सञ्चालन तिरोभाव हो, यी सबैबाट छुटकारा मिल्नु अनुग्रह हो, यसलाई मोक्ष भनिन्छ, कसैले यसलाई पञ्च महाभूत भन्दछन्। सृष्टि माटोमा हुन्छ, स्थिति जलमा हुन्छ, संहार अग्निमा हुन्छ, तिरोभाव वायुमा र अनुग्रह आकाशमा हुन्छ। पृथ्वी तत्त्वबाट सृष्टि हुने हो, स्थिति या जीवन रक्षा जलद्वारा हुन्छ, अग्निले सबैलाई संहार गर्छ, वायुले प्राण सञ्चालन। यी चार तत्त्वलाई शब्दब्रह्म आकाश रूपले अनुगृहीत गराइएको हुन्छ। यी पाँच मुख्य कार्य सञ्चालनका लागि शिवजीका पाँच मुख भएका हुन्। चार दिशामा चार मुख छन्, पाँचौं मुख यी सबैका बीचमा छन्। पञ्चमुखी शिवजीको प्रार्थना गरेर ब्रह्मा र विष्णुले सृष्टि र पालनको अभिभारा लिएका हुन्। रुद्र र महेश्वर शिवको दुई विभूति स्वरूप हो।
यो पाँच कार्यको स्रोत ॐ कार हो। सबैभन्दा पहिले ॐ कार शिवजीको मुखबाट निस्केको हो। ॐ कार वाचक हो, शिवजी वाच्य हुन्, ॐ कार शिवस्वरूप हो। सदा दिन ॐ कारको स्मरण गर्नाले मानिसहरू शिवरूप हुन्छन्, कल्याणमयी पनि। शिव भनेको कल्याण नै हो, सर्वकल्याण। उदार भावले सेवा भावमा संलग्न हुन शिवकृपा चाहिन्छ। उनको कृपाले क्रोध, रिस, वैमनस्यता स्वतः हट्छ। शिवजीको उत्तर मुखले अ कार, पश्चिम मुखले उ कार, दक्षिण मुखले म कार, पूर्व मुखले ॐ को विन्दु र बीचको मुखले नादको संकेत दिन्छन् जसलाई स्वर भनिन्छ। शिवको स्वरूप ॐ कार हो, अ, उ, म र विन्दु तथा नाद स्वरबाट यो संसार सञ्चालित छ। ॐ लाई एकाक्षर प्रणव मन्त्र भनिन्छ। सबैको स्रोत हो यो ! संसारमा वेददेखि सारा ब्रह्माण्ड र यसभित्रका सबै सर्ग विसर्ग यसैमा छन्। मानव स्वरूप, स्त्री, पुरुष सबै यसैबाट निःसृत भएका हुन्। यो मन्त्रले शिव र शक्ति दुवैको संकेत गर्छ। जीव र जगत्, ईश्वर र नश्वर सबै यसैमा छ। यसैबाट पञ्चाक्षर मन्त्रको सुरुवात भएको हो। पञ्चाक्षरबाट पाँच मूल स्वर र पाँच-पाँच वर्णको व्यञ्जन तयार भएको हो। अ, इ, उ, ऋ, लृ पाँच मूल स्वर र क, च, ट, त, प आदि वर्ण यसैबाट निस्केका हुन्। ॐ कारदेखि म कारसम्मका क्रमले ॐ नमः सिवाय पञ्चाक्षरी मन्त्र सिर्जना भएको हो। यसैबाट गायत्री मन्त्रको सुरुवात भएको हो। गायत्री मन्त्रबाट सम्पूर्ण वेदहरू प्रकट भए, ती वेदहरूवाट करोडौं मन्त्रहरू निस्के। भिन्नभिन्न मन्त्रहरू भिन्नभिन्न कार्यको लागि प्रेरित भए। मन्त्रहरू कार्य सिद्धिका लागि प्रयोग हुन्छन्। मनोरथको पूर्ति मन्त्रहरूबाटै हुन्छ। जीवका आफ्ना मनोरथहरू हुन्छन्। यो दुईथरी हुन्छ, भुक्ति र मुक्ति ! इहलौकिक सुख आनन्द भुक्ति हो, मृत्युपछि भव बन्धनबाट छुट्ने कार्य मुक्ति हो, जसलाई मोक्ष भनिन्छ, मोहको क्षय हुनु भनेकोे मोक्ष हो।
आशक्तिको अन्त्य भएपछि भव बन्धन छुट्छ, अलिकति पनि राग र आशक्ति रहुञ्जेल मुक्ति प्राप्त हुँदैन। प्रणव मन्त्रले भोग तृप्ति दिन्छ र मुक्ति पनि। सकाम भावले पहिलो उद्देश्य र निस्काम भावले दोस्रो उद्देश्य प्राप्ति हुन्छ। शिव सबैका आत्मा हुन्। शिव ब्रह्म हो, जसको शक्ति अनन्त छ। शिवजी सद्गुरु हुन् उनलाई शम्भु भनिन्छ, शम्भु स्वयम्भू हुन्। नमो निस्कलरूपाय नमो निष्कलतेजसे। नमः सकलनाथाय नमस्ते सकलात्मने।। नमः प्रणववाच्याय नमः प्रणवलिंगने। नमः सृष्टयादिकत्र्रे च नमः पञ्चमुखाय ते।। पञ्च ब्रह्मस्वरूपाय पञ्चकृत्याय ते नमः। आत्मने ब्रह्मणे तुभ्यमनन्त गुण शक्तयेसकलाकल रूपाय शम्भवे गुरवे नमः।। प्रार्थना यसरी गरिन्छ।
सृष्टिको आरम्भमा सर्वज्ञ, दयालु शिवजीले सबैलोकको उपकारका लागि विभिन्न बारहरूको कल्पना गर्नुभयो। शिव एक चिकित्सक हुनुहुन्छ। औषधि विज्ञानको प्रणेता शिवले सबैलाई आरोग्य दिनुहुन्छ। आरोग्य दिने सन्दर्भमा आपूmले माया शक्तिका विभिन्न बारहरू उहाँले निर्माण गर्नुभयो। बार विशेषको भगवत् उपासनाले सम्पत्ति प्राप्त हुन्छ। सुरुमा जन्म समय वाल्य अवस्थाको रक्षाको लागि कुमार बारको परिकल्पना भयो। त्यसपछि भगवान्ले मानिसमा हुने आलस्य र पाप निवृत्तिका लागि र समस्त लोकको अनुग्रह गर्न लोक रक्षक भगवान् विष्णुका बारहरू बनाउनु भयो। तत्पश्चात् भगवान् शिवले मानिसहरूको सृष्टि र रक्षाको लागि आयुकर्ता ब्रह्माको बार बनाउनु भयो। सबैको आयु र सिद्धि प्राप्ति हुने उद्देश्यले यसरी बारहरूको परिकल्पना भयो। त्यसपछि पाप र पुण्य ३ नै लोकको रचनाका साथमा शुभ अशुभ फल दिन शिवले इन्द्र र यमको बार कल्पना गर्नुभयो। यी बारहरू संसारमा भोगदिने र सम्पूर्ण प्राणीहरूको मृत्यु भय दूर गर्नलाई तयार भयो। सुख, दुःखको सूचक पाप र पुण्यको उपलब्धि जनाउने ७ बारको निश्चित भयो। जसका अलगअलग नाम, तिनका स्वामी अलगअलग छन्। शिवजीबाट परिकल्पना भएका यी बारहरूका दिनका स्वामी सूर्य हुन्। शक्तिसम्बन्धी बारका मालिक सोम हुन्। कुमारका अधिपति मंगल हुन्। विष्णु बारका अधिपति बुध हुन्। ब्रह्माजीको बारका अधिपति वृहस्पति हुन्। इन्द्र बारको स्वामी शुक्र, यमबारका स्वामी शनिश्चर हुन्। आ–आफ्ना बारको उपासनाअनुसार फलहरू अलगअलग हुन सक्छन्।
सूर्य बारको उपासनाले शरीरमा आरोग्य मिल्छ। चन्द्र सोमबारको उपासनाले भोग, ऐश्वर्य प्राप्ति हुन्छ। व्याधिरोग निवृत्तिको लागि मंगलबारको उपासना गरिनुपर्ने हुन्छ। शरीरमा पुष्टि चाहनेले बुधबारको उपासना, आयु वृद्धि चाहनेले वृहस्पति बारको उपासना, भोग, ऐश्वर्य, मनोरञ्जन चाहनेले शुक्रबारको उपासना, मृत्यु सुधारण गर्न चाहनेले शनिबारको उपासना गर्नुपर्ने हुन्छ। सबै बारको उपासनाका फलदाता भने सदा शिवजी नै हुनुहुन्छ। रविबार सूर्यका उपासना पापको शान्तिकारक, सोमबारको चन्द्र उपासनाले लक्ष्मी प्राप्ति, मंगलबारको उपासनाले शरीर निरोगी हुने, बुधबारको विष्णु पूजाले पुत्र, परिवार र मित्र वृद्धि हुने, दीर्घायुको लागि वृहस्पतिबार, भोग प्राप्ति र सुखको लागि शुक्रबार, शनिश्चरको उपासनाले घटना दुर्घटना, अल्प मृत्यु निवारण र निरोगिता प्राप्ति हुनेछ। सूर्य आदि ग्रहको उपासना हरेक मंगल कार्यमा आवश्यक छ। अशुभ कार्यको पछाडि पनि नवग्रहको उपासना जरुरी छ। गृहस्थ व्यक्तिहरूको लागि ग्रहको उपासना जरुरी छ। पूजाका अनुष्ठानका विविध प्रक्रिया र विधिहरू छन्। निर्धन व्यक्तिहरूले तपबाट उपासना गर्न सक्छन्, व्रत आदि हुन सक्छ, धनवान् व्यक्तिले वृक्षरोपण, पाटी, पाठशाला, नहर, ढल, मन्दिर, शौचालय, सडकजस्ता सार्वजनिक निर्माण कार्य गरेर धर्म लिन सक्छन्।
दिनदिनै समयानुसार भगवत् प्रार्थनाले, अनुष्ठानले अन्तःकरण शुद्धि हुँदै जान्छ। तन, धन र मन शुद्ध हुँदै जान्छ। विशेष दिन, पर्व शिवरात्रि वा अन्य पर्वहरूमा गरिएको धर्म कर्मले अधिक फल दिन्छन्।