गाईको गोबरबाट सजावट र पूजा सामग्री
बेनी : पर्वतको जलजला गाउँपालिका— ७ धाइरिङको लालुङस्थित गण्डकी गोपाल गौशालामा पालिएका गाईको गहुँत र गोबरलाई आम्दानीको स्रोत बनाउन थालिएको छ। गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने तथा गोबरलाई प्रांगारिक मलका रूपमा उपयोग गर्न थालिएको हो भने गाईको गोबर प्रशोधन गरेर पूजा र सजावटका सामग्री बनाउन थालिएको छ।
गौशालाका कर्मचारी ओमबहादुर केसी र तुलसीराम आचार्य केही महिनाअघि भारतको काशीपुर पुगेर गाईको गोबरबाट सामग्री बनाउने तालिम लिएर आएका थिए। ‘गोबर प्रशोधन गरेर देवीदेवताका मूर्ति, धुप, इकोप्रेसर म्याट, चप्पल, भित्तेघडीजस्ता सामान बनाउन थालेका छौं,’ कर्मचारी आचार्यले भने, ‘गौशालामा आउने भक्तजनलाई बिक्री गर्ने, रोजगारी सिर्जना र आम्दानीको स्रोतका लागि गोबरबाट पूजा र सजावटका सामग्री बनाउन थालेका हौं।’ गहुँत प्रशोधन गर्ने उपकरण ल्याइएको छ।
धाइरिङमा २०७२ सालमा समुदायको अगुवाइमा स्थापना भएको गौशालामा हाल ४८ वटा स्थानीय जातका मात्र गाई र बाच्छाबाच्छी छन्। ११ वटा गाईबाट गौशाला सुरु गरिएको कर्मचारी ओमबहादुर केसीले बताए। ‘स्थानीय जातका गाई संरक्षण गरी धार्मिक र कृषि पर्यटनको विकास गर्ने उद्देश्यले गौशाला सञ्चालन गरिएको हो,’ उनले भने, ‘गाई लोप हुन नदिनु नै गौशालाको उद्देश्य हो।’
केसीका अनुसार स्थानीयवासीहरूले गौशालालाई गाईसहित प्रतिगाई बराबर १ लाख १० हजार रुपैयाँका दरले नगद पनि सहयोग गरेका छन्। स्थानीय टेकप्रसाद आचार्यले गौशालाका लागि ४० रोपनी जग्गा दान गरेका छन्।
दिउँसोको समयमा नजिकैको जंगलमा चराउन लैजाने गाई बाध्न व्यवस्थित गोठ बनाइएको छ। बिहान बेलुकी घाँस, पराल र दाना खुवाउने गरिएको छ। जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ।
गाईको दाना, घाँस, पराल र तीन जना कर्मचारीको तलबका लागि वार्षिक २२ लाख रुपैयाँ खर्च हुने गरेको छ। गाईको महत्त्वका विषयमा समुदाय स्तरमा सन्देश प्रवाह गराउन र गौशाला सञ्चालनका लागि आयस्रोत जुटाउन २०७६ साल मंसिरमा मिलनचोकस्थित कालीगण्डकी किनारमा गौ महोत्सव आयोजना गरिएको थियो। महोत्सवमा तीन करोड २४ लाख रुपैयाँ सहयोग घोषणा भएको थियो। महोत्सवमा संकलित रकमको ब्याज र दाताबाट सहयोग जुटाएर गौशाला सञ्चालन गरिएको हो।
गौशालामा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षका लागि जलजला गाउँपालिका र संघीय सरकारबाट ८०÷८० लाख रुपैयाँ विनियोजन भएको थियो। गौशाला पछाडि रहेको पाखोमा पर्खाल निर्माण र जग्गा सम्याउने काम भइरहेको जलजला गाउँपालिकाका इन्जिनियर सुनील बानियाँले बताए। जग्गा सम्माएपछि सो ठाउँमा आश्रयस्थल, हवनकुण्ड, सत्तल र मन्दिर निर्माण गरिनेछ।
सो संरचना निर्माणका लागि सिम्रन इन्फ्रास्ट्रक्चर एन्ड सप्लायर्स प्रालिसँग रु. १ करोड २५ लाख ८५ हजार २ सय ३२ मा ठेक्का सम्झौता भएको छ। आगामी जेठ मसान्तसम्म काम सक्ने ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद आचार्यले बताए।
जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिन चालु आर्थिक वर्षमा आठ लाख रुपैयाँ विनियोजन गरेको छ। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्त्व बोकेका स्थानीय जातका गाई र गोरु पाल्ने कृषकलाई अनुदान दिएर संरक्षणको पहल थालेको बताए।
‘आधुनिक र व्यावसायिक पशुपालन तथा कृषिलाई प्रवद्र्धन गर्नुका साथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘आर्थिक वर्ष २०७९÷८० मा चार सय वटा गाईगोरु पालेका कृषकले चार लाख रुपैयाँ अनुदान पाएका थिए।’
धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्त्व बोकेका रैथाने गाईगोरु दुर्लभ हुन थालेका छन्। बढी दूध दिने उन्नत र वर्णशंकर जातको गाई र भैंसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको छ।
मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको संख्या घटेको छ। पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्त्व आँखा र मस्तिष्कका लागि महत्त्वपूर्ण हुने बताए।
‘गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई धेरै किसिमको फाइदा गर्ने र रोग लाग्नबाट बचाउने विभिन्न वैज्ञानिक अध्ययनहरूबाट पहिचान भएको तथ्य हो,’ उनले भने, ‘गाईबाट प्राप्त हुने पञ्चतत्त्व दूध, दही, घिउ, गोबर र गहुँतको धार्मिक महत्त्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ।’