नवलपरासीमा सामुदायिक कुकुरको बन्ध्याकरण
परासी : नवलपरासीमा सामुदायिक कुकुरको बन्ध्याकरण गर्न सुरु गरिएको छ। हिमालय एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग र श्री सत्य साई केन्द्र परासीको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीले कुकुरहरूको बन्ध्याकरण गर्न सुरु गरेको हो।
पहिलो चरणमा रामग्राम नगर क्षेत्रमा खुला रुपमा हिँड्ने कुकुरहरूको बन्ध्याकरण गर्न सुरु गरिएको विज्ञ केन्द्रका प्रमुख श्रवण कुमार चौधरीले बताए। बन्ध्याकरणसँगै कुकुरहरूलाई रेबिज रोगविरुद्धको सुई समेत दिइएको छ।
जिल्लामा खुलारुपमा हिँड्ने कुकुरको संख्या बढ्दै गएको र रेबिज रोग फैलिन सक्ने भएकाले अभियानकै रुपमा बन्ध्याकरण र रेबिज रोगविरुद्धको सुई लगाउन सुरु गरिएको हो। सोमबारदेखि सुरु गरिएको पहिलो चरणको अभियान फागुन २४ सम्म सञ्चालन हुने छ।
त्यस अवधिमा १०५ कुकुरलाई बन्ध्याकरण र रेबिज रोगविरुद्धको सुई लगाइने छ। नगर क्षेत्रका विभिन्न टोलमा पुगेर संकलन गरिएका कुकुरहरूको अस्पतालमा पुर्याएर बन्ध्याकरण गरिएको छ। बन्ध्याकरणपछि जहाँबाट ल्याइएको हो, त्यही लगेर कुकुरलाई छाडिने छ।
एउटा कुकुरलाई बन्ध्याकरण र सुई लगाउन १ हजार ९७५ रुपैयाँ खर्च लाग्ने चौधरीले बताए। ‘अभियानका लागि जम्मा ३ लाख बजेट छ। बजेटअनुसार कुकुरको संख्या तोकेर बन्ध्याकरण गर्न लागिएको हो। बजेट आएमा अन्य पालिकामा पनि अभियान सञ्चालन गरिने छ’, चौधरीले भने।