प्रहरी हुँ भन्दै क्याफेमा बोलाएर लुटपाट गर्ने तीन जना पक्राउ
काठमाडौं : आफूलाई प्रहरी हुँ भन्दै नक्कली आइडी कार्ड देखाएर लुटपाट गर्ने तीन जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालका-१ घर भएका ३२ वर्षीय प्रमेश्वर खड्का, रामेछापको मन्थली नगरपालिका-९ का २८ वर्षीय मिलन तामाङ भनिने विनोद सुन्दास र ओखलढुंगाको चिशंखुवागढी गाउँपालिका-४ का ३७ वर्षीय प्रेम राई छन्।
गत आइतबार राति सतिस सिंह कुवरलाई मैतिदेवीमा रहेको एक क्याफेमा बोलाएर लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका छन्। उनलाई मिलन लामा गरेको आइडीबाट एक व्यक्तिले आइफोन र इलेक्ट्रिकल सामान चाहिएको छ भन्दै म्यासेज गरेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार म्यासेज गर्ने व्यक्तिले सतिसलाई आइफोन, एप्पल वाच लगायतका सामान ल्याउन भनेका थिए। क्याफेमा बोलाएर भेटेका व्यक्तिहरूले एचएफ सेट र प्रहरीको नक्कली कार्ड बोकेर उनलाई धम्काएका थिए। हामी प्रहरी हौं भन्दै लुटपाट गरी उनीहरू भागेका थिए।
उनीहरूलाई सोमबार न्युरोडस्थित पशुपति प्लाजा नजिकको वाटोमा मोटरसाइकलमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नगद २१ हजार ४७०, आइफोन ६ थान, एप्पल सिरिज ७ थान, एप्पल वाच २ वटा बरामद गरेको छ। यस्तै एन्ड्रोइड फोन १ थान, हेडफोन १ थान, एअरड्रप १ थान र राष्ट्रिय अनुसन्धान विभागको परिचयपत्रसमेत प्रहरीले जफत गरेको छ।
प्रहरी परिसरका प्रवक्ता अधिकारीका अनुसार यो समूहमा उपत्यकामा यसअघि भएका ठगी र लुटपाटमा समेत संलग्न भएका थिए। जिल्ला प्रहरी परिसर र प्रहरी वृत दरबारमार्गका टोलीले उनीहरूलाई पक्राउ गरेको हो।