मुसहर समुदायलाई नयाँ घर
सिरहा : सिरहाको लहान नगरपालिकाले सुरक्षित आवास कार्यक्रमअन्तर्गत मुसहर समुदायलाई नयाँ घर हस्तान्तरण गरेका छन्। वडा-१५ मा ३८ र वडा-१२ मा १२ गरी ५० घरपरिवारलाई उक्त घर हस्तान्तरण गरिएको हो। घर पाएपछि उनीहरू खुशी भएका छन्।
आर्थिक वर्ष ०७९/०८० मा नगरपालिकाले १ करोड रुपैयाँ घर निर्माणका लागि विनियोजन गरेको थियो। त्यसमा गैरसरकारी संस्थाले १ करोड थप सहयोग गरेको मेयर महेश चौधरीले सुनाए। उनका अनुसार यसवर्ष फेरि ६० वटा घर निर्माण गरिने बजेट विनियोजन भएको छ।
हस्तान्तरण गरिएको घरमा दुई बेड रुम, भान्सा कोठा र शौचालय छन्। चालु आवमा वडा १३, २१ र २२ मा ६० घर निर्माण गरि मुसहर समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको मेयर चौधरीले जानकारी गराए।
नगरपालिकाले वडा-१५ मा ६७६ र वडा-१६ मा ३७६ जनालाई निस्सा वितरण गरेका छन्। केही महिनाभित्रै सबैलाई लालपूर्जा प्रदान गरिने जनाएको छ।