लोकसेवा आयोगको राष्ट्रिय सम्मेलन सुर्खेतमा
वीरेन्द्रनगर : लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ। प्रत्येक वर्ष फागुन २३ र २४ गते आयोगहरूको राष्ट्रिय सम्मेलन हुने गरेको छ। यो वर्षको उक्त सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा बुधबारदेखि सुरु भएको हो।
लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै संघीय लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले लोक सेवा आयोगलाई कर्मचारी भर्नाको उत्कृष्ट केन्द्र बनाउनुपर्ने बताए। उनले संघीय लोकसेवा आयोगले बनाएको आफ्नो इमेज जस्तै प्रदेश लोक सेवा आयोगहरूले पनि आम सरोकारवालाहरूको विश्वास जित्नुपर्ने बताए।
आयोगमा समान चुनौतीहरू रहेको हुँदा राष्ट्रिय सम्मेलनले लोक सेवा आयोग र प्रदेश लोकसेवा आयोग बीचको सहकार्य बढाउनुपर्ने उनको भनाइ छ। आयोगहरूबीच भएका असल अभ्यासलाई आदानप्रदान गर्न, साझा समस्याहरूका विषयमा साझा बुझाइ निर्माण गरी समाधानको उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।
सम्मेलनमा कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले लोक सेवा आयोगको गरिमा र साखलाई प्रदेश लोक सेवा आयोगले पनि बचाउन सफल भएको बताए।