उपप्रधानमन्त्री हुन ओलीले गरेको प्रस्ताव विष्णु पौडेलद्वारा अस्वीकार
बागलुङ : नेकपा एमालेको तर्फबाट उपप्रधानमन्त्रीको रुपमा सरकारमा जाने प्रस्तावलाई उपाध्यक्ष विष्णु पौडेलले अस्वीकार गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री र मन्त्रीको रुपमा पौडेललाई सरकारमा जान प्रस्ताव गरेकोमा अस्वीकार गरेको पुष्टि गरेका हुन्।
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा बुधबार उपाध्यक्षसहित उपस्थित भएका अध्यक्ष ओलीले सम्बोधनको क्रममा पौडेलले सरकारमा जान अस्वीकार गरेको बताएका हुन्।
अध्यक्ष ओलीले अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा आज उपप्रधानमन्त्री, मन्त्री बन्नुस् भन्दा नमानेर मसँगै आउनुभएका पूर्व उपप्रधानमन्त्री भन्दै पौडेललाई सम्बोधन गरेका थिए। अध्यक्ष ओलीले सम्बोधनको क्रममा भने,‘आज उपप्रधानमन्त्री, मन्त्री बन्नुस् भन्दा नमानेर मसँगै आउनुभएका पूर्व उपप्रधानमन्त्री, आज फेरि बनाउ भनेको नमानेर पूर्व भइरहन खोजेका विष्णु पौडेल जी।’
एमालले बुधबार नै सरकारमा सहभागी हुने ८ मन्त्रीको टुंगो लगाएको छ। एमालेले ८ वटा मन्त्रालय पाएको छ। एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका छन्।