हिउँमा फसेका जुम्लाका ८ जनाको हेलिकोप्टरबाट उद्धार
वीरेन्द्रनगर : जुम्लामा हिउँमा फसेका स्थानीय ८ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। हिमपातका कारण फागुन १८ गतेदेखि जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका स्थानीय ८ जनालाई उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी इन्सपेक्टर उमेशबहादुर चन्दले जुम्ला तातोपानी गाउँपालिका-४ गिडी दह र बजेरी चौर पाटनमा जडिबुटी संकलन गएर हिउँमा फसेका ८ जनामध्ये २ जनाको सकुशल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको र बाँकी ६ जनालाई उद्धारका लागि हेलिकोप्टर पाटनतिर गएको जानकारी दिए।
उनका अनुसार हिउँमा फसेका तातोपानी गाउँपालिका अजबहादुर रावत, दिपा रावत, गौरि रावत, हरिसोभा रावत, ससिला रावत, जगमति रोकाया, संसार थापा र गोरि रावत रहेका छन्। जसमा दुई जनाको उद्धार भइसकेको छ।
प्रहरीका अनुसार सफा मौसम भएका बेला पाटनतिर जडिबुटी संकलन गर्न गएको र एकाएक पाटन हिउँले ढपक्कै पारेपछि उनीहरू उतै हिउँमा फसेका थिए। हिउँ पग्लिन केही दिन लाग्ने भएकाले घरबाट लगेको खाना सकिएको र घर फर्कन पनि नसक्ने अवस्था भएकाले उनीहरुले उद्धारका लागि आग्रह गरेका थिए।