गुठी र बिर्ता समस्या समाधान गर्न प्रधानमन्त्रीलाई मागपत्र पेस
रसुवा : जिल्ला भूमि अधिकारी मञ्च रसुवाद्वारा गुठी तथा बिर्ता पीडित किसानको माग सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय रसुवामार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएका छन्।
जिल्लाको आमाछोदिङमो गाउँपालिकामा किसानको जोतभोग गर्दै आएको जग्गा पुरानो स्वयम्भू घ्याङ गुठीको नाममा रहेको कारण किसानले धेरै दुःख पाएको भन्दै जोतभोग गर्दै आएको जग्गा किसानकै नाममा दर्ता गरिदिन माग गरेका हुन्। प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालमार्फत प्रधानमन्त्रीलाई जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष भवानी न्यौपानेले माग पत्र पेश गरे।
जिल्लामा २०१६ सालमै उन्मुलन भएको बिर्ता समस्या कायम रहेको र उक्त समस्या समाधान गर्न समेत पटक पटक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयमा माग राख्दै पत्र पेश गर्दै आएको जानकारी गरिएको थियो।
जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिका भित्रका एक हजार ५ सय भन्दा बढी किसानले समस्या भोग्दै आएका छन्। रसुवाका किसानले पुस्तौँदेखि जोतभोग गर्दै आइरहेको जमिनको स्वामित्व नापी गरी भोगचलनका आधारमा तिनै किसानलाई दिँदा ठूलो न्याय हुने मागपत्रमा उल्लेख छ।