आरक्षणको बलमा नेतृत्वमा पुगिँदैन, क्षमतै चाहिन्छ
महिला भएर नेतृत्व गर्न चुनौतीपूर्ण छ भनिन्छ। देशकै पुरानोमध्येको तथा ठूलो व्यवसायको नेतृत्व गरिरहँदा यो कामलाई सहज महसुस हुन्छ कि चुनौतीपूर्ण मान्नुहुन्छ ?
कुनै पनि नतिजा प्राप्तिका निमित्त पर्याप्त पूर्वतयारीको आवश्यकता रहन्छ। कसैलाई अनुभव वा ज्ञान नभइकनै जिम्मेवारी सुम्पिइयो भने त्यो काम उसका लागि चुनौतीपूर्ण हुन्छ। तर, शिक्षा, सिकाइ, हुर्काइमार्फत नेतृत्वको आधार बनेको छ भने जुनसुकै अनुभव हासिल गर्न सक्नुहुन्छ र नेतृत्व कौशल विकास गर्न सक्नुहुन्छ। यस्ता व्यक्तिको पर्फमेन्स पनि उत्तम रहन्छ। म पनि आजको आजै वा केही दिनमै प्रबन्ध निर्देशक बनेको होइन। पुरुष र महिलामा शारीरिक भिन्नता हुन्छ तर व्यवहारमा हेर्दा भिन्नता हुँदैन। जन्मदेखि वर्तमानसम्म वा कुनै व्यक्तित्व निर्माणमा फिट गरिएको पार्टपुर्जा कस्तो थियो, त्यसले फरक बनाउँछ। जोकोहीसँग चुनौती सामना गर्ने क्षमता हुनुपर्छ। कुनै काम आफैंमा सजिलो र चुनौतीपूर्ण हुँदैन। सजिलै फत्ते पार्न सक्नुहुन्छ भने त्यो काम सजिलो लाग्छ। क्षमता छैन भने गाह्रो हुन पनि सक्छ।
तपाईं भारतमा जन्मेर नेपाललाई कर्मभूमि बनाउनु भयो। भारतीय उपमहाद्वीप र पश्चिमी जगत्मा महिला नेतृत्व कुन अर्थमा समान र कुन कुन अर्थमा फरक पाउनुहुन्छ ?
भारतमा शिक्षालाई धेरै जोड दिइन्छ। दिल्लीजस्तो सहरमा हुर्कंदै गर्दा मलाई पुरुष र महिलाबीच केही फरक छ भन्ने महसुस भएन। त्यहाँ धेरै राम्रो शिक्षा पाएँ। २८ वर्षअघि नेपाललाई कर्मभूमि बनाउने निर्णय गर्दा परिस्थिति दिल्लीको भन्दा फरक थियो। बूढानीलकण्ठबाट चक्रपथतिर ओर्लंदै गर्दा सडकमा खेल्ने केटाकेटी ‘ऊ हेर् न केटीले कार चलाएको’ सम्म भन्थे। आज महिलालाई गाडी चलाउने एक्स्पोजर दिइएको छ, र सक्ने पनि रहेछन् भन्ने प्रमाणित भएको छ।
महिलाहरू कथित ‘ग्लास सिलिङ’ तोड्न सक्षम भइसकेका छन्। नेतृत्वमा पुग्न पर्याप्त त चाहिन्छ नै। आरक्षण पनि खोज्ने र पोजिसन पनि चाहियो भन्न मिल्दैन। नेतृत्वमा पुग्न चाहने व्यक्तिसँग काम गर्नुको विकल्प हुँदैन। खुला प्रतिस्पर्धामा उच्चकोटीको पर्फमेन्स दिन क्षमताको आवश्यक पक्कै पर्दछ।
तपाईं आफ्नो लिडरसिप एप्रोचलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
सबैको व्यक्तित्व फरक हुन्छ। पुरुष–पुरुष वा महिला–महिलामा भिन्नता हुन सक्छ। भाइ–भाइ वा बहिनी–बहिनीमा फरक हुन्छ। म र मेरो पतिको कुरा गर्दा हामी फरक व्यक्तित्व हौं। म ९९ प्रतिशत व्यावहारिक छु, १ प्रतिशतमात्र भावनात्मक (इमोसनल) छु। महिलाहरू इमोसनल हुन्छन् भनिन्छ, तर म छैन। व्यक्तिमा फरक हुन्छ। मैले दिमाग नै खण्डित (कम्पार्टमेन्टलाइज) बनाएको छु। कार्यालयमा म एउटा व्यक्ति हुन्छु, घरमा अर्कै। घर पुगेपछि खाद्यान्नदेखि बगैंचासम्म हेर्छु। सबै काम आफैं गर्न मन पराउँछु। कार्यालय आएपछि काममा केन्द्रित हुन्छु र सोहीअनुसार व्यावहारिक बनिहाल्छु।
काम र दैनिक जीवनलाई सन्तुलित कसरी बनाउनुहुन्छ ?
आफ्नो दायित्वको अवगत हुनु र सोहीअनुसार समय व्यवस्थापन गर्नु नै सन्तुलन कायम गर्ने उपाय हो। आफ्नो कर्तव्यबारे पूर्ण ज्ञान हुनेले थोरै समयमा काम फत्ते गर्न सक्छन्। पहिलोपल्ट भान्सा प्रवेश गर्नेलाई कुन सामान कहाँ छ भन्ने थाहा हुँदैन। त्यस्तै आफ्नो अफिसमा के गर्नुपर्छ ? कर्मचारी कस्ता छन् ? भन्ने थाहा छैन भने नतिजा ढिलो आउँछ। अर्थात्, अनुभव नै सबैभन्दा ठूलो गुरु हो। समय व्यवस्थापन व्यक्तिको पूरक विशेषता हो।
व्यावहारिक रूपमा आफ्नो सफलतालाई कसरी मापन गर्नु भएको छ ?
खासमा मेरो विशेषज्ञता अटोमोबाइल क्षेत्र होइन, व्यवस्थापन तथा इनिसियटभ (नयाँ पहल) हो। यो विशेषज्ञता म अटोमात्र नभएर होटल होस् वा हाइड्रो वा अन्य जुनसुकै क्षेत्रमा पनि लागू गर्न सक्छु। मेरो क्षमताअनुसार मलाई लाग्छ मैले राम्रै गरेको छु जस्तो लाग्छ। यद्यपि सुधारका थुप्रै ठाउँहरू छन्।
तपाईंको सिकाइ र अनुभव बालबच्चामा ट्रान्सफर कसरी गर्नु भएको छ ?
उनीहरू मलाई प्रिन्सिपल भन्छन्। कारण हो, म समय र अनुशासन सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्छु। समय र अनुशासनमा दृढ छु, त्यसैले पनि मलाई कामको दबाब महसुस हुँदैन। मै यही कुरा मेरो छोराछोरीलाई सिकाएँ। मलाई विश्वास छ, उनीहरू मैले सिकाएअनुसार गर्नेछन्। तर, कसले कति गर्न सक्छ भन्ने उनीहरूको क्षमतामा निर्भर रहन्छ।
वैद्य अर्गनाइजेसन र टोयोटा नेपालले महिलामा नेतृत्व विकास गराउने कार्यलाई कसरी सघाइरहेको छ ?
संयोगवश वा समयक्रममा युनाइटेड ट्रडर्स सिन्डिकेटका सबै विभागीय प्रमुख महिला हुनुहुन्छ। प्रबन्ध निर्देशक, स्पेयर पार्टस् प्रमुख, मानव संसाधन प्रमुख, जापानका लागि सम्पर्क व्यक्ति महिला नै छौं। यो उपलब्धि महिला भएकाले प्राप्त भएको होइन। क्षमता र दक्षता अब्बल तथा लगनशीलताका कारण उपलब्ध भएको हो।
घर र समाजमा महिलाको महत्त्व छुट्टै छ। तर, व्यावसायिक जीवनमा महिलालाई कहिल्यै प्रोत्साहन गरिएन। सन् १९९५ मा कार चलाउँदै गर्दा मैले सुनेको कुराले समाजको स्तर देखाएँछ। आज कसैले पनि ‘ऊ हेर् त केटीले कार चलाउँदै छ’ भन्दैन। यो महिलाहरू आफैं लडेर प्राप्त गरेको उपलब्धि हो। नेतृत्व विकास निर्माणको आफ्नै तरिका हुन्छ। त्यसमा मलाई बढी विश्वास निर्देशित नेतृत्व (गाइडेड लिडरसिप) विकासमा लाग्छ। गाइडेड लिडरसिपले कसैलाई सीमिततामा बाँच्न सिकाउँछ। व्यक्तिले प्रक्रिया जान्नुपर्छ, त्यसपछि मात्र उसले आफ्नो पहल थप गर्न सक्छ।
तपाईंले आफू मातहतका कर्मचारीलाई कसरी प्रोत्साहन दिने गर्नु भएको छ ?
हामीले ‘स्टार अफ द मन्थ’को कन्सेप्ट ल्याएका छौं। जसअनुसार एकजना सेल्स पर्सनलाई आफ्नो ज्ञान, अनुभव र सीपको आधारमा महिनाभरको योजना बनाउन दिन्छौं। त्यो हेरेर हामी फिडब्याक दिन्छौं। यसरी उसमा नेतृत्वको सिप विकास हुन्छ। अर्को महिना प्रतिस्पर्धाको आधारमा अर्को व्यक्ति छनोट हुन्छ। यस्तै टिम बिल्डिङ अभ्यास पनि गर्ने गरेका छौं। यसरी हामी कोही व्यक्तिले नेतृत्वको गुण विकास नगरेसम्म गाइडेड लिडरसिप डेभलपमेन्ट अभ्यास गरिरहन्छौं।
समग्र महिलामा नेतृत्व विकास गराउन वा महिलालाई प्रवद्र्धन गर्न टोयोटा नेपालले कसरी भूमिका खेलिरहेको छ ?
टोयोटा नेपालले वुमेन्स कार र्याली आयोजना गर्ने गरेको छ। १२ वर्षअघि टोयोटा नेपालले महिलालाई मात्र सहभागी गराएर कार र्याली आयोजना गर्दा यो निकै नयाँ कन्सेप्ट थियो। हामीले गरेको यो सुरुवातबाट सिक्दै टोयोटाले अरू देशमा पनि महिला कार र्याली आयोजना गर्दै आएको छ। महिलाहरू पनि कार चलाउन सक्छन् भन्ने सन्देश यो र्यालीले दिएका छ। महिलाहरूलाई यसले धेरै प्रोत्साहन मिलेको छ।
सन् २०११ सम्म देशमा धेरै कार चलाउने महिलाको संख्या निकै कम थियो। विस्तारै संख्या बढ्न थालेको र्यालीमा सहभागिता जनाउन आवेदन दिनको संख्याले देखाउँछ। केही वर्ष नभएको यो कार र्याली हामी पुनः आयोजना गर्ने तयारीमा छौं। टोयोटा नेपालले महिला र पुरुषमा कहिल्यै फरक व्यवहार गरेको छैन। घरबाट काम गर्ने वातावरण मिलाउने, बढी समय छुट्टी दिनेजस्ता अभ्यास हामीले गरेका छौं। अझै पनि नेपाली समाज महिलालाई प्रोटेक्सन चाहिन्छ भन्ने सोच्छ। तर, महिलाले आरक्षण खोज्ने र पुरुषबराबर हुनुपर्छ वा छौं भन्ने विरोधाभाषपूर्ण कुरा गर्न मिल्दैन। शारीरिक रूपमा फरक भए पनि हामी पुरुषसँग प्रतिपस्र्धा गरेर जितेर अब्बल बन्नुपर्छ।