टुँडिखेलमा नेपाली सेनाले मनायो २६१ औँ सेना दिवस (भिडियो)
काठमाडौं- महाशिवरात्री तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाले विशेष समारोहको आयोजना गरेको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लगाएत उच्च पदस्थहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे। समारोहमा सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।
त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्री बढाइँ र कवाज प्रस्तुत गरेको थियो । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुति गरिएको थियो भने नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो।