धार्मिक यात्रामा निस्केका १५ जना बालबालिका करेन्ट लागेर घाइते, दुईजना गम्भीर
नयाँ दिल्ली : भारतको राजस्थानको कोटा सहरमा धार्मिक यात्रामा निस्केका १५ जना बालबालिका करेन्ट लागेर घाइते भएका छन्। शुक्रबार बिहान सहरको काली बस्तीमा शनिबारबाट सुरू हुन लागेको 'शिव कथा' मा जल लगेर गएका बालबालिकाहरू करेन्ट लागेर घाइते भएका हुन्।
घाइते बालबालिकाहरूको कोटास्थित महाराणा भूपाल सिंह अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये दुईजना गम्भीर छन्। एकजनाको शरीरको शतप्रतिशत भाग जलेको छ भने अर्का एकजनाको ५० प्रतिशत शरीरको भाग जलेको अस्पतालले जनाएको छ।
जल यात्रामा बालबालिका,महिला तथा पुरूष सहभागी थिए। यात्रामा रहेका एकजना बालकले बोकेको झण्डाको डण्डीले बिजुलीको तार छोएपछि करेन्ट लागेको बताइएको छ। उनलाई बचाउन गएका अन्य बालबालिकाहरूलाई पनि करेन्ट छोएको थियो।
घटनालगत्तै राजस्थान सरकारका मन्त्री हिरा लाल अस्पताल पुगेर घाइतेहरूको अवस्था बुझेका छन्।