असमानता अन्त्यको खोजी
मिथिलापुत्र कथाकार विमल मधेसीको साँघुरो घेराभित्र सीमित नरही नेपालीत्वको भावप्रवल स्रष्टाको परिचय निर्माणमा अभ्यस्त छन्।
साहित्यले समाजको यथार्थ प्रस्तुत गर्छ भनी ठान्नेले यसलाई ऐना मान्छन्। अर्कोतर्फ साहित्यलाई मार्गनिर्देश गर्दै अग्रगामी स्वरूपको खाका कोर्ने साधनका रूपमा लिनेको संख्या पनि कम छैन। विधागत शैलीमा भिन्नता हुनु अनिवार्य छ र यसले पाठकमा दिने प्रभाव पनि सबल र सघन हुनुपर्ने अपरिहार्य छ। यसै मेसोमा मूलतः तराईको परिवेश चित्रणमा विशेष रुचि राख्दै समग्र नेपालीमा समभावको सन्देश दिने एकमात्रै उद्देश्यमा उद्यत् रहेका स्रष्टा हुन्– राजेन्द्र विमल।
तीन दशकदेखि साहित्यमा साधनारत विमलको पछिल्लो कृति ‘सरबरिया टोल’ कथासंग्रह यस्तै विषयवस्तुमा केन्द्रित भएको देखिन्छ। विविध भाषा र विधामा कलम चलाउँदै आएका विमलको साहित्यिक विधागत चिनारी मूलतः कथाकारिता नै हो। ‘सरबरिया टोल’ उनको तेस्रो कथासंग्रह हो। १६ वटा कथा रहेको यसमा विमलले आफू बाँचेको युगीन नेपाली समाजका विविध गतिविधिहरूलाई विषयवस्तु बनाएका छन्। उनका कथामा सामाजिक यथार्थ, राजनीतिक अस्थिरता, आर्थिक विपन्नता, लैंगिक विभेद, जातीय द्वन्द्व, रतिरागात्मकता, आञ्चलिकता तथा मनोवैज्ञानिक सन्दर्भहरूको जीवन्त चित्रण छ। अधिकांश कथाले देशमा दुई दशकको अवधिमा चलेका द्वन्द्व र त्यसबाट सिर्जित अनेकन् समस्यालाई चिरफार गर्ने प्रयत्न गरेको छ। त्यो द्वन्द्व विशेषतः दसवर्षे माओवादी संघर्षभन्दा पनि मधेसी समुदायको आन्दोलनले नेपालीबीच ल्याएको तिक्तताको सशक्त चित्रण भेटिन्छ।
संग्रहभित्रका कथाका विषयगत मूलभूत सन्दर्भ नियाल्दा उनले देखेभोगेका सामाजिक–आर्थिक वर्गगत शोषण, आर्थिक अभावले कंकालिएका जीवन, लैंगिक विभेद, राजनैतिक अस्थिरताले निम्त्याएको विसंगत पक्ष एवं मधेसी–पहाडे साम्प्रदायिकता, अन्याय, अत्याचार आदिको सन्दर्भ समेटेको छ। यसका साथै विमलले यौनातृप्त महिला, बलात्कार र आप्रवासीका रूपमा बाँचेका डायस्पोरिक सन्दर्भलगायत परिवेशलाई जीवन्त रूपमा प्रस्तुति छ। वर्तमान राजनीतिमा सप्तालिप्साको चरम बेथितिलाई संग्रहको पहिलो कथाले प्रस्तुत गरेको छ। सत्ताबाट शक्तिको प्राप्ति हुने र शक्तिका लागि सत्ताभोक कुन हदसम्म हुनसक्छ भन्ने देखाइएको छ।
शक्तिको मातमा यौन दुराचार, तेली र यादवको जातीय द्वन्द्व, २०४६ सालअघि र पछिको विसंगतिपूर्ण राजनीतिक परिदृश्य, मधेसी–पहाडीबीचको घृणित विद्वेष, नन्दुको अराजक मान्यता र उसकै केन्द्रीयतामा कुर्सीका लागि समस्याग्रस्त बनेको नेतृत्व आदि विविध परिघटना एकसाथ उनिएका छन्। ‘चरीकोटमा टाउको मात्रै फेला पर्यो अरे’ भन्ने प्रसंगले द्वन्द्वकालको झल्को दिन्छ भने नाकाबन्दी र कालोबजारी आदि नेपाली जनताका पीडादायी अवस्था सघन रूपमा समेटिएका छन्। संग्रहको शीर्षकथा ‘सरबरिया टोल’ले सरबरिया जातिले भोग्नुपरेको गरिबीको पराकाष्ठा जीवन्त रूपमा देखाएको छ। साथै मधेसका महिला, पुरुषवादी सोच, अन्धविश्वास र नारी अस्मिताको सन्दर्भलाई चित्रण गरिएको छ।
‘हलखोर’ कथामा भुलन हलखोर ‘अछूत’ मानिएको जाति धेरैको बेवारिसे लास फाल्ने बाध्यात्मक पेसामा थियो। तीन छोरीको बाबु ऊ स्वयं सबैद्वारा परित्यक्त भएपछि आफ्नै लास नगरपालिकाको गाडीबाट भुस्याहा कुकुरसँगै फालिएको विडम्बनापूर्ण अवस्थाको चित्रणले पाठकको मन कुँडिन्छ। ‘देहाग्नि’ हास्यरसले भरिएको व्यंग्यात्मक प्रस्तुतिको कथा छ। एक संस्कृतमोहको पण्डित, जुनसुकै सन्दर्भ र विषयमा म्लेच्छविरोधी भए तापनि अन्ततः डोम जातिकी स्त्रीप्रति आकर्षिक भई सामाजिक मूल्य भताभुंग गरेको देखाइएको छ। ‘केराको पूmल’मा भुइँचालोले सबै जाति, धर्म र भाषाभाषीबीच एकता र मानवताको सन्देश दिएको तर फितलो प्रस्तुति छ।
आदर्शको जीवन बाँच्ने प्रोफेसरले आफ्ना चार सन्तानलाई गतिलो संस्कार दिन नसक्दा परिवार छिन्नभिन्न भएको एक विधुरको पीडायुक्त जीवनकथा हो ‘यो जिन्दगी धुवाँधुवाँ’। यस्तै चमार भएर पनि सिनो नफाल्ने विद्रोह गरेको तथाकथित दलितको उच्च जातिको बाहुनलाई रगतको आवश्यकता परेको बाध्यात्मक परिस्थितिको सामान्य प्रस्तुतिको कथा बनेको छ ‘विद्रोह’। आर्थिक अभावमा वेश्या बन्नुपर्ने अवस्था र यौन, भोग सबै प्रकारका शोषणको सन्दर्भले महिलाप्रति पुरुषको गिद्दे दृष्टिलाई जीवन्त रूपमा उतारेको छ ‘एउटा अश्लील कथा’ ले।
मरेको मानिसलाई पनि ब्युँताउँछन् स्वार्थमा र न्यायालयको सेटिङ वर्तमान नेपालमा कसरी चलेको छ भन्ने तथ्यलाई अघि सार्दै माओवादी जनयुद्धप्रति कटाक्ष गरिएको कथा हो– ‘छपक्कै’। शान्ति प्रक्रियापछि संविधानसभाका लागि बनेका सभासद्हरूको विद्रूप अवस्था ‘रातो पासपोर्ट उर्फ...’ कथामा चित्रित छ भने ‘जूनकीरीको चिहान’मा गरिबीले पिल्स्याएका निमुखाहरूको प्रतिनिधि जूनकीरीमार्फत जथाभावी सहिदको घोषणा हुने सन्दर्भमा व्यंग्य गरिएको छ। ‘किन काम्छ अमारो’ र ‘रधिया विमर्श’मा क्रमशः यौनातृप्त महिलाको अन्योलपूर्ण जीवन र उत्पीडनमा बाँच्न विवश महिलाकी छोरीको बलात्कारपछि हत्याबाट विक्षिप्त बनेको सन्दर्भ छन्। ‘रसिक बुढा’ले दोलखाको पहाडी परिवेशबाट सहरमा छिरेर आफ्नो स्वार्थका लागि श्रीमतीलाई हनी हन्टरका रूपमा प्रयोग गरी सारा सम्पत्ति कुम्ल्याएको देखाइएको छ।
विवाहपछि परिवारमा आउने खटपटको पुस्तागत शृंखलाबाट सगोलमा रहँदा पारिवारिक एकता हुने सन्दर्भ ‘जिद्दी’ कथामा छ भने अन्तिम कथा ‘काकभुशुण्डी र उहाँकी आमा’ काठमाडौंको परिवेश भएको एक सशक्त मनोवैज्ञानिक कथा हो। यो कथा अन्तर्जातीय विवाहलाई नेपाली समाजले कसरी लिन्छ भन्ने सामाजिक यथार्थको तस्बिर हो। यसमा कुपरम्पराका रूपमा रहेको बोक्सीको आरोपमा आमाकोे मृत्यु र तथाकथित दलितसँग विवाहपछि एक पात्रले बेहोर्नुपरेको सामाजिक बहिष्करण र विक्षिप्तताको सन्दर्भ देखाइएको छ।
समग्रमा, कथाकार विमलले तथाकथित गरिब, निमुखा र तल्लो वर्गका पात्रप्रति सहानुभूति देखाए तापनि ती वर्गका पात्रको विजय र उच्च वर्गका पात्रको हार नदेखाउनु उनको कथाकारिताको सीमा देखिन्छ। ग्रामीण र सहरिया दुवै परिवेशका पात्रहरूको उपस्थितिमा कथाकार विमल मूलतः यथार्थवादी र अंशतः यौनातृप्त भावको चित्रणमा केन्द्रित छन्। उनका कथामा वर्गगत असन्तुलन, पुरुषप्रधान समाजमा महिलाले भोग्नु परेका उत्पीडनका साथै अनेक विकृति र विसंगति रहेको भेटिन्छ। भाषागत सामान्य परिष्कारको अभाव खड्किए तापनि विषयवस्तुको सघनता र विविधताले पाठकलाई निराश बनाउँदैनन्। मिथिलापुत्र कथाकार विमल मधेसीको साँघुरो घेराभित्र सीमित नरही नेपालीत्वको भावप्रवल स्रष्टाको परिचय निर्माणमा अभ्यस्त छन्।
समीक्षा