कालीकोटमा करेन्ट लागेर काका भतिजाको मृत्यु
कालीकोट : कालीकोटमा करेन्ट लागेर काका भतिजाको घटनास्थलमै मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका-८ मा विद्युतको पोल सार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।
बिहान साढे ८ मा करेन्ट लागेर वडा नं ८ का ४३ वर्षीय केशव थापा र २७ वर्षीय गंगा थापाको मृत्यु भएको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताए। केशव थापा मगलासैनी माविका प्रावि स्थायी शिक्षक हुन्।
१४ वर्ष अगाडि गाढिएको पोल प्रयोगविहीन अवस्थामा रहेको थियो। पोल पुन: प्रयोगमा ल्याउनका लगि पोल सार्ने क्रममा उनीहरुको मृत्यु भएको हो। नरहरीनाथ गाउँपालिका प्रवक्ता तथा वडा नं ९ का वडा अध्यक्ष प्रदीप बोहोराले नयाँ लाइनमा विद्युत प्रवाह भइरहेका बेलामा सँगै रहेको पुरानो पोल उखेलेर अन्यत्र सार्ने क्रममा लाइन छुँदा करेन्ट लागेको बताए।
अध्यक्ष बोहोराले भने, 'गाउँमा पुगेको राष्ट्रिय प्रशारण लाइनमै पोल ठोकिएकाले पोल समाइरहेका काका भतिजाको घटनास्थलमै मृत्यु भएको हो।' केही महिना अघि राष्ट्रिय प्रशारण लाइन गाउँमा पुर्याएको भएपनि पोल व्यावस्थापन नहुँदा दुर्घटना हुन पुगेको स्थानीय निर्मल बिष्टको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी प्रहरी निरीक्षक पोषण थापाले घटना लगत्तै खुलालु प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको र इलाका प्रहरी चौकी कुमालगाउँको टोली पनि बाटोमा गइरहेको बताए।