हामी नयाँ गठबन्धनमै छौं : रञ्जिता
तपाईंको पार्टी सरकारमा कि प्रतिपक्षमा ?
सरकारमा नि ! हामी नयाँ गठबन्धनमै छौं। बिहीबारको प्रतिनिधिसभाको बैठकमा पनि हाम्रो पार्टी सत्ता पक्षमै बस्यो। त्यसैले हामी सत्तापक्षमै छौं।
कसरी मान्ने के तपाईं सत्ता गठबन्धनमा हो भनेर ? पार्टीको कुनै निर्णय नै बाहिर आएको छैन ?
निर्णय त आई हाल्छ नि ! हामी छलफलमै छौं। केही दिन बिरामी भएकाले मैले पार्टीका नेताहरूसँग छलफल गर्न पाएको थिइनँ। अब छिट्टै सरकारमा जाने निर्णय हुन्छ।
तपाईं नयाँ गठबन्धनमा हो भनिरहनु भएको छ। सुदूरपश्चिममा तीन-तीन जना मन्त्रीहरू कांग्रेस नेतृत्वको सरकारमा शपथ लिइसकेका छन् ?
त्यो कुरा मलाई थाहा छैन। सुदूरपश्चिमको प्रदेश सभामा हामी ७ जना छौं। रेशमजी बिहीबार नै धनगढी जानुभएको हो। उहाँलाई कसले त्यस्तो सल्लाह दियो, मलाई थाहा छैन। पार्टीको आधिकारिक अध्यक्ष म हुँ। मसँग कसैले पनि सल्लाह गरेको छैन। मैले सरकारमा गएकाहरूलाई फिर्ता बोलाउन संसदीय दलका नेतालाई निर्देशन गरिसकेको छु।
संसदीय दलले बोलाएन भने के हुन्छ ? ७ जना प्रदेशसभा सदस्यमध्ये ४ जना त मन्त्री नै भइसकेका छन्।
सल्लाह नगरी मन्त्री भए भन्दैमा हुन्छ। पार्टीको विधि विधान हुँदैन ? मैले संसदीय दललाई शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिन निर्देशन गरिसकेको छ। फिर्ता भएनन् भने त्यसपछिको प्रक्रिया छँदै छ।
त्यो भनेको के कारबाही हुन्छ भनेकोे हो ?
मेरै मुखबाट बोलाउन नलगाउनुस्। चार जना बेग्लै पार्टीका हुन् भने त मेरो भन्नु केही छैन। तर, नागरिक उन्मुक्ति पार्टीका हुन् भने पार्टीको विधानअनुसार अध्यक्षले दिएको निर्देशन उनीहरूले मान्नुपर्छ।
उन्मुक्तिका ७ प्रदेशसभा सदस्यमध्ये ४ मन्त्री नै भइसके। उनीहरू बहुमत भएनन् त ?
उनीहरू बेग्लै पार्टीका हुन भने केही छैन। नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य हो भने उनीहरू पार्टीको नीति, विधि र विधानमा रहनुपर्छ।
त्यसो भए रेशम चौधरी एकातिर तपाईं अर्कोतिर जस्तो देखिएन ?
देखियो त। यो पार्टी एउटा घटनापछि जन्मिएको पार्टी हो। यो पार्टी जन्माउन रेशमजीको ठूलो योगदान छ। तर, अहिले त पार्टी अध्यक्ष म हुँ नि ! मसँग कुनै परामर्स नै नगरी, छलफल नै नगरी सरकारमा जाने कुरा विधिसंगत हुन्छ र ? रेशमजीका धेरै कुराहरू हामीले विगतमा पनि मान्दै आयौं, अझ पनि मानौंला तर, उहाँलाई कसले यस्तो सल्लाह दिइरहेको छ। थाहा छैन। नाताले हामी श्रीमान्-श्रीमती होउला, तर हामी २ जनासँग पार्टीको भविष्य पनि त जोडिएको छ। लाखौं मतदाता र कार्यकर्ताका पनि त भविष्य जोडिएको छ नि !