उद्घोषण : चुनौती पनि, अवसर पनि

उद्घोषण : चुनौती पनि, अवसर पनि
सांकेतिक तस्बिर।

अनुभव : शनिबार, एकै दिन दुइटा कार्यक्रममा नपुगी नहुने भयो। पहिलो कार्यक्रममा सभाको अध्यक्षता गरिरहेका व्यक्तिले उद्घोषकका हातको कार्यक्रम छापिएको पन्ना तानेर लिई ‘यसमा यसो गर्नू’ भनेर मिलाउँदै दिँदैथिए। बिचरा उद्घोषक हैरान थिइन्। माइकबाट कसैलाई बोलाएर पोडियमको पछिल्तिर राखिएको कुर्सीमा बस्न नपाउँदै अध्यक्षले इसारा गरेर बोलाइहाल्थे। यो क्रम धेरै पटक दोहोरिँदा सहभागी र मञ्चमा बस्ने अतिथि साथै पदाधिकारीलाई पनि असुविधा भएको देखियो।

यसो हुनुको प्रस्ट कारण के देखिन्थ्यो भने कार्यक्रमबारे सायद दुवै पूर्णतयारी थिएनन्। घरिघरि उद्घोषक आफू बसेका स्थानबाट उठेर अध्यक्षका आसनसम्म हिँडेकाले सभाको मर्यादा बिथोलिएको अनुभव भयो। दर्शकदीर्घामा कानेखुसी भयो कि सभाको अध्यक्षता गर्नेले मपाइँत्व देखाएका हुनसक्थे वा उद्घोषण गर्नेलाई कार्यक्रमबारे जानकारी वा पूर्वतयारी थिएन। अर्को कार्यक्रमका उद्घोषक भने साह्रै टर्रा थिए। उनी हरेकपटक पञ्चायती शासनका बेलाको कठोर अञ्चलाधीशजस्तो दीर्घाका सबैलाई डक्ल्याउने पात्रका रूपमा प्रस्तुत हुन्थे।

उद्घोषक र गुणहरू: उद्घोषक भनेको कार्यक्रमको डोरी हो। सञ्चारशास्त्रले कार्यक्रम र वक्ताका बारेमा पूरापूर जानकारी राख्ने, त्यसका लागि समयको पूर्वअनुमान र त्यसैअनुसारको व्यवस्थापन गर्ने र सम्पूर्ण प्रक्रियालाई डोहोर्‍याउन सक्ने व्यक्तिलाई उद्घोषक मानेको छ। यदि सुरुदेखि नै कार्यक्रमका तर्जुमा, उठान तथा अन्तिम अवस्थासम्मका प्रक्रियाको जानकार व्यक्ति आफ्नै समूहभित्र कोही छ भने त्यही बेस भयो। अन्यथा यी सबै प्रक्रियाका बारेमा जानकारी दिएर भए पनि बाहिरका कोही दक्ष व्यक्तिबाट उद्घोषको सेवा लिने प्रचलन पनि हालका दिनमा बढेर गएको छ। जसका लाभ र हानि दुवै छन्। 

उद्घोषक वाचनकलामा निपुर्ण हुनुपर्छ। विषयवस्तुको ज्ञाता पनि हुनुपर्छ। विषय जान्दछ, तर बोल्न जान्दैन भने पनि अर्थ छैन। बोल्न जान्दछ तर विषयवस्तुको ज्ञान छैन भने पनि उसबाट काम हुँदैन। वचनमा हुने मिठास अर्काे तेस्रो महŒवपूर्ण विषय हो। विनम्रता, समयपालना र अनुशासनजस्ता मानवीय गुण चाहिन्छन् नै। कदाचिद् कुनै बेला तोकिएअनुसारको वक्ता वा प्रस्तोता उपस्थित हुन नसके वा कार्यक्रममा तत्कालै केही फेरबदल गर्नुपरे पनि उद्घोषकले जिम्मेवार पदाधिकारीका परामर्शमा कार्यक्रमलाई मिलान गर्ने क्षमता राख्नुपर्छ।

उद्घोषकको व्यक्तित्व आकर्षक तर साधारण हुनु जरुरी छ। तिनको पहिरन भड्किलो, उत्ताउलो हुनु हुँदैन, सौम्य हुनुपर्छ। तर कुनै प्रकारको फरक देखिने विशेष चिनो हुनु राम्रो मानिन्छ। आजभोलि कार्यक्रम राम्रो होस् भन्न संस्थाभन्दा बाहिरका व्यावसायिक उद्घोषकलाई करारमा लिने प्रचलन बढेको छ। राम्रो उद्घोषण एक व्यावसायिक कमाइको माध्यम पनि हुन सक्छ। तर यस्ता व्यावसायिक व्यक्तिहरूको बोल्ने शैली तथा पहिरन आदि पहिल्यै निश्चित गर्नु उचित हुन्छ। आफूले सञ्चालन गर्ने कार्यक्रमको आलेख (स्क्रिप्ट) पूर्णरूपमा उद्घोषकसित पहिल्यै हुनुपर्छ। सञ्चालनपूर्व सकेसम्म प्रस्तुतिमा लगाउने लुगा लगाएर अभ्यास गर्नुपर्छ। यदि कार्यक्रम आफू संलग्न नभैकन बनाइएको छ या संलग्न भए पनि त्यसको केही अंश बीचमा फेरिएको वा प्रस्ट छैन भने आयोजक पदाधिकारीसित बसेर छलफल गर्नुपर्छ।

उद्घोषक कुन हैसियतको हुनुपर्छ ?: कतिपयलाई उद्घोषक ठूलो पदको व्यक्ति हुनुपर्छ भन्ने लाग्छ। यो गलत हो। हरेकले बोलेपछि उद्घोषकले एक वा दुई वाक्यमा सारांश निकाल्नु पर्छ। सञ्चार र शिष्टाचारका दुवै सिद्धान्तअनुसार आफूभन्दा तल्लो तहको पदका व्यक्तिलाई उद्घोषकले उहाँले यसो भन्नुभयो भन्न मिल्दैन। आफूभन्दा सानो तहका व्यक्तिलाई कोही वरिष्ठले कुनै विशेष अवस्थाबाहेक वक्ता हुन बोलाउने प्रचलन छैन। त्यसैले उद्घोषक जहिले पनि क्षमतावान् तर तल्लो तहको सदस्य हुनु अत्यन्त आवश्यक छ। उद्घोषणको कार्य यस अर्थमा क्रमैसित माथिल्ला पदहरूमा उक्लिँदै जाने सिकाइको काम हो। किनकि उद्घोषण एक कठिन तर आफूलाई मञ्चको वातावरणसित अनुकूल बनाइराख्ने विशिष्ट प्रकृतिको तालिम हो। समकालीन समयका नेता वा आकर्षक वक्तामध्ये धेरैले आफ्नो व्यक्तित्व विकासका क्रममा विगतका समयमा उद्घोषण गरेर आएका पाइन्छन्। माथिल्लो तहको पदाधिकारीले उद्घोषणको जिम्मा लिनासाथ तलका सबैको व्यक्तित्व विकासमा तगारो लाग्छ। नेपालका धेरै संस्थाका पदाधिकारीले यस विषयलाई बुझेका छैनन् र जस्ता कार्यक्रममा पनि आफंै माइक समात्न पुग्छन्।

उद्घोषकका सीमा: पहिलो विषय, उद्घोषक मञ्चमा सभाका अध्यक्ष वा अतिथिका हाराहारी बस्ने होइन। उनीहरू कार्यक्रमका निर्णायक हुन्, उद्घोषक त्यसको सहजकर्ता मात्र। प्रस्तुति भए पर्दाका पृष्ठभाग र वाचन, प्रवचन, भाषण भए पोडियमभन्दा डेढ–दुई मिटर सीधा पछाडि बेग्लै कुर्सी राखेर बस्नुपर्छ। अरूले बोलिरहेका बेलामा कार्यक्रम रेकर्ड हुने क्यामेरामा यथासम्भव देखिनु हुँदैन। कार्यक्रमभर उद्घोषकले चुइँगम आदि चबाउने र मोबाइलमा समय व्यतीत गर्ने आदि पनि गर्नु हुँदैन। यसका अतिरिक्त कतिलाई टाउको, नाक वा शरीरका अन्य अंगमा छोइराख्ने बानी हुन्छ, उद्घोषकलाई यी बानीमा लिप्त हुने सुविधा छैन। अतिथि या सेलिब्रिटीसित उद्घोषकले कुरा गर्नु हुँदैन। वक्ताबीच विषय बाझियो भने एकको पक्ष लिने वा प्रतिवाद गर्ने काम उद्घोषकले गर्न मिल्दैन, तटस्थ हुनुपर्छ। एकअर्कोसित दाँज्न पनि हुँदैन। कुनै प्रस्तुतिलाई विशेषणवाचक पदावलीले तारिफ गर्ने वा अर्कोलाई होच्याउने वा उपेक्षा गर्न वर्जित छ। उद्घोषकले ठीक अघि बोलेका वक्ताको सार दिने बहानामा धेर बोल्न हुँदैन, ३०–९० सेकेन्डसम्म समय लिनु उपयुक्त हुन्छ। बीचीबचमा कुन कार्यक्रम भइरहेको छ भन्ने जानकारी उपस्थितलाई दिनुपर्छ। उद्घोषकले सूचना मात्र दिने हो, उपस्थितलाई निर्देशन दिने होइन।

उपसंहार: राम्रो उद्घोषकले सामान्य र औसत स्तरको कार्यक्रमलाई पनि उत्कृष्ट बनाउन सक्छन् भने असक्षम उद्घोषकले सुन्दर कार्यक्रमलाई पनि खराब बनाइदिन सक्छन्। उद्घोषक कुनै अमुक पदका व्यक्तिका लागि आरक्षित कर्म होइन। उद्घोषण कला राम्रो भएका कनिष्ठ व्यक्तिले सञ्चालन गरेको कार्यक्रममा छोटो बोलेर आफ्नो व्यक्तित्व कायमै राख्दा फाइदा हुन्छ। फेरि, उद्घोषण क्रमैसित व्यक्तित्व विकास गर्ने र मञ्चबाट बोल्ने अभ्यासको प्रक्रियासमेत भएकाले क्रमैसित धेरैभन्दा धेरैलाई तयारी गरेर उद्घोषणको अवसर दिनु संस्थाका हितमा छ। पंक्तिकारले यस्तो तालिम लिएको र दिएको पनि हो। हाल उद्घोषणको तालिम दिने प्रशस्त संस्था छन्। अहिले नजानेको भए पनि चाहनेले त्यस्तो तालिमसमेत लिएर सफल उद्घोषक र पछि व्यक्तित्व बन्न सक्छन्। तर, नबिर्सिउन् कि उद्घोषण चुनौतीसँगै अवसर पनि हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.