पदभारपछि उपेन्द्र यादवले भने - जनताको काम गर्नेलाई वरीयताको वास्ता हुँदैन
काठमाडौं : नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शल्यक्रियामा देखिएको ढिलाइलाई छिटो छरितो व्यवस्था मिलाउने निर्णय गरेका छन्। आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै यादवले संघीय तथा प्रादेशिक अस्पतालहरूमा शल्यक्रियाको समय लिन बिरामीको लामो लाइन हुने अवस्था रहेकाले घरैबाट शल्यक्रियाको समय लिन सक्ने निर्णय गरेका हुन्।
बिरामीहरू लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उनले सहज बनाउँदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत् घरैबाट पनि समय लिने व्यवस्था मिलाउने बताए।
यादवले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि र विकास गर्ने प्रतिवद्धता जनाए । त्यस्तै उनले जनताको सेवा गर्नेलाई वरीयताको वास्ता नहुने जिकिर गरे।
जसपा अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। उनी यसअघि पनि उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री भइसकेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यादवलाई चौथो वरीयताका उपप्रधानमन्त्री बनाएका छन्। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सूचीअनुसार रघुवीर महासेठलाई पहिलो वरीयताको उपप्रधानमन्त्री बनाइएको छ। त्यसपछि दोस्रो वरीयतामा नारायणकाजी श्रेष्ठ र तेस्रोमा रवि लामिछाने छन्। आइतबार शपथ लिएका यादवलाई भने चौथो वरीयतामा राखिएको छ।
यद्दपि यादव लामिछाने र महासेठभन्दा पहिले नै उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन्।