उथलपुथल भइरहन्छ नमर्दासम्म... !

उथलपुथल भइरहन्छ नमर्दासम्म... !

बाचुञ्जेल कोही मर्दैन यो संसारमा। मरेपछि कोही जीवित रहँदैन पनि। आफ्नो जीवनकालमा राम्रो काम गरी भविष्यका सन्ततिका लागि केही कीर्ति छोडेर जान पाए हुन्थ्यो भन्ने सोच हुन्छ एक उत्तम मानिसमा। कति गुणी र सकारात्मक सोच ! यस्तै कामले मानिसलाई अमर तुल्याउँछ। अमरत्व प्राप्त गर्छ उसले। आत्मा र देह त्यागपश्चात् पनि जीवन्त रहन्छ उनका गुण र महिमा। हाम्रा यी मठ–मन्दिर, पौवा–पाटी, इनार–कुवा, धारा–पँधेरा, गुठी–गानाहरू त्यत्तिकै बनेका होइनन्। सहयोग, सहकार्य र सकारात्मक सामाजिक सोच र चेतका परिचायक हुन् ती सबै।

मानिसमा सकारात्मक सोचको विकास नभएको भए आजको यस सभ्य, सुसंस्कृत र विकसित अवस्थामा हुने थिएनौं शायद ! लाखौं, करोडौं वर्ष पहिले उत्पत्ति भएका अन्य कैयांै प्राणी लोप भइसके यो जगत्बाट केबल मानव जाति आजको यो विकसित अवस्थामा आइपुगेका छौं। बुद्धि र विवेकले गर्दा। केही दिनअघि प्रधानमन्त्री प्रचण्ड एक सार्वजनिक सभामा बोल्दै हुनुहुन्थ्यो– ‘...म नमर्दासम्म यस्तै उथलपुथल हुन्छ...।’ उहाँकै भाष्यअनुसार पुरानो गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेसको असह्य दबाबलाई लात्ताले हानी त्यो गठबन्धन फुटाएर नयाँ गठबन्धन जोडजाम गरी निस्कँदै गर्दाको जोशिलो अभिव्यक्ति थियो त्यो। अब यसले के अर्थ राख्नेछ नयाँ गठबन्धनमा र दलहरूले यसलाई कस्तो अथ्र्याउने छन् ? त्यो हेर्नै बाँकी छ।

कांग्रेसको बहिर्गमनबाट रित्तिएको स्थान ओगट्न पुगेको नेकपा एमालेका अध्यक्ष नयाँ समीकरण जोडिनु केही दिन अघिसम्म तत्कालीन गठबन्धन सरकारको बारेमा भन्दै हुनुहुन्थ्यो, ‘यो गठबन्धन सरकार एउटा खरानीको डल्लो हो जो कुनै पनि बेला फुट्न सक्छ।’ यस्तै आशय थियो उहाँको। तर, जब नयाँ गठबन्धन बन्यो, उहाँ फेरि त्यही फुटेको खरानीको डल्लोलाई सोरसार पारी नयाँ डल्लो बनाउनतिर व्यस्त हुनुभयो। अब उहाँलाई अवश्य थाहा हुने नै भयो यो नयाँ डल्लो, जो आफ्नै संलग्नतामा बनेको छ, जसको आयु कति हुन्छ। उहाँ यो कुरामा सचेत नहुने कुरै भएन। त्यस हिसाबले यो नयाँ गठबन्धनको कमी कमजोरी र कोमलताका बारेमा पूर्णज्ञान हुनुका साथै पुरानो र पहिलो गठबन्धनले छोडेको घाउको खत पनि त बाँकी नै छ।

नेकपा एमालेका अध्यक्ष केपी ओली कुनै पनि घटना परिघटनाहरूको सम्भावित परिणाम र त्यसको दूरगामी असरको आकलन गर्न सक्ने नेतामा गनिनु हुन्छ। यसमा कुनै दुबिधा रहेन। तर, यस्तो अस्थिर र उथलपुथलको राजनीतिक परिदृश्यमा पनि किन उहाँले जोखिम मोल्नुभयो सरकारमा जाने ? सामान्यतः राजनीति भनेकै जोखिमको खेल हो। जसले जोखिम मोल्न सक्दैन उसले राजनीतिमा सफलता पनि पाउन सक्दैन। एउटा भनाइ नै छ, ‘जसले मह काढ्छ, उसले हात चाट्छ।’ भिरमाहुरीको चाकामा धावा बोल्नु कम्ती जोखिमपूर्ण हुन्छ ? यो भनी रहनुपर्ने विषय हैन। ओली बुद्धिचालको खेलमा दुवै तर्फको गोटी चाल्न सक्ने खेलाडी हुन्। कुन–कुन गोटीको कति चालमा चेकमेट हुन्छ भन्ने आकलन गर्ने क्षमता छ उनमा। दुईमध्ये कसलाई जिताउने भन्ने अठोट गरी मात्र मैदानमा उत्रने रणनीतिकार पनि हुन् उनी। अर्को अर्थमा, घाटाको व्यापारमा हात लाउँदैनन् उनी।

नेकपा एमालेले गत मंसिर महिनामा सम्पन्न गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’मा जनताले नेकपा एमाले पार्टीलाई थप जिम्मेवारी सुम्प्यो। मुख्य उद्देश्य जनसम्पर्कको नवीकरण र ताजगीकरण हुनुपर्छ त्यो अभियानको। यात्रा सँगसँगै जनतासित प्रत्यक्ष भेटघाट गरी संकलन गरिएका जनचाहना, जनइच्छा, जनगुनासा, सुझाव, जनताका यावत समस्याको पोकोलाई समाधान र सम्बोधन नगरिकन मिसन–८४ कसरी सफल हुन्छ भन्ने टड्कारो प्रश्न उठेको हुनुपर्छ कमरेडहरूको मनमा। जनताका समस्या, चाहना र समाधानका उपायहरूको ठेली नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नबुझाएका पनि होइनन् ओलीले। तर, आफैं सरकारमा सहभागी नभई र आफैं कार्यकारी तहमा नपुगी अभियानको मर्मलाई पूर्णता दिन नसकिने देखेपछि उनमा त्यो खरानीको डल्लो फुटाउने हुटहुटी जागेको हुनुपर्छ।

कमरेड ओलीको काँधमा दुइटा चुनौती थपिएका छन् अहिले– एक कमरेड प्रचण्डको नमर्दासम्म उठ्न सक्ने ज्वारभाटाको उथलपुथल र अर्को नेपाली कांग्रेसका सभापतिले सरकारबाट बहिर्गमन गरेको दिन नै चालेको नयाँ चाल। त्यो चालमा पर्दा पछाडीका धुरन्धुर खेलाडीहरूले चाल्ने कुटिल चालको गहिराइ आकलन गर्नु पनि ठुलै चुनौती हो। तर, नेपाली राजनीतिक वृत्तका तीन मुख्य खेलाडी भिड्ने रंगमञ्चमा जोसुकै सफल किन नहोऊन् तर हार्ने नेपाल र नेपालीले नै हो। यसमा कुनै शंका रहन्न। राजनीतिक मञ्चका सबै नायक एकअर्कालाई खलपात्र सिद्ध गर्ने ध्याउन्नमा निर्देशित रहँदा नेपाली जनताले भोको रमिते बन्नु सिवाय अर्को विकल्प रहन्न।

अचेल एउटा अनुभव गर्न थालेको छु– जति–जति मानिसको उमेर ढल्कँदै जान्छ, उसमा धिरता कम हुँदै जाँदो रहेछ। कल्पनाशीलतामा कमी आउने, स्मरणशक्तिमा ह्रास आउने, दूरदृष्टिमा कमी आउने यावत मानवीय गुणहरूमा परिवर्तन आउने। जति एक युवाले धेरै समय पछिसम्मको सोच्न सक्छ, प्रौढ अवस्थामा आएर त्यो क्षमतामा कमी हुने देखेँ। प्रौढ मानिसले दीर्घकालीनको तुलनामा अल्पकालीन र तत्कालीन कार्य योजना बनाउँछ। धेरै लामो समयको योजनाको कार्यान्वयनको पर्खाइ अधैर्य हुन्छ। जे पनि छिटो र तत्काल हुनुपर्ने। आफू बाँचेकै अवस्थामा हेर्ने, बेहोर्ने अनि भोग्ने लालसा मानिसमा पलाउने रहेछ। अनि त हतारमा गरिने काम सधैं भताभुंग।

प्रधानमन्त्री प्रचण्डलाई मेरो एकमात्र सुझाव– बाँच्ने मर्ने कुराभन्दा नेपाली मनमस्तिष्कमा अमर भइरहने सोच्नुस्। आजको राजनीतिक व्यवस्था स्थापना हुन तपाईंको पनि उत्तिकै योगदान छ, जति अन्य राजनीतिक दलका नेताहरूको छ। देश र जनताका लागि त्यस्तो एउटा काम गर्नुस्, जसले तपाईलाई कहिल्यै नमर्ने अजम्बरी बनाओस्। अविस्मरणीय छाप छोड्नुस्। उथलपुथलमा आफैं भासिएर विलुप्त किन हुन प¥यो ? देश र जनताको शीर उचो पार्ने काममा यहाँलाई सफलता मिलोस् एउटा नेपालीको यही कामना।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.