‘पानी त आयो, अब बिजुली भए अन्धकार हट्थ्यो’
ओखलढुंगा : मोलुङ गाउँपालिका–४ स्थित अति दुर्गम र लेकाली बस्तीमा खानेपानी पुग्दा स्थानीय खुसीले नाचे। उर्लेनी, माझखर्क र खस्रेनीका स्थानीयले विकास के हो भनेर अनुभूत गर्ने विषय भनेकै एउटा खानेपानी योजना भयो।
यसले धेरैका अनुहारमा हाँसो ल्याएको छ। घण्टौं हिँडेर पानी बोक्नुपर्ने बाध्यता हटेर घरघरै धारा छन्। दैनिक निश्चित समयमा पानी आउँछ। ‘पानी भर्न खाना बसालेर पनि सकिन्छ, पहिले–पहिले २ घण्टा हिँडेर पानी बोक्नुपथ्र्यो’, स्थानीय महिलाले भनिन्।
नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको दिगो र समावेशी खानेपानी, स्वच्छता तथा सरसफाइ प्रबद्र्धन कार्यक्रम र मोलुङ गाउँपालिकाको स्रोत साझेदारी तथा स्थानीयको श्रमदानबाट ६२ घरमा धारा जडान गरिएको छ। एउटा स्कुल र एउटा स्वास्थ्य एकाइसमेत उक्त खहरे खस्रेनी खानेपानी आयोजनाबाट ६४ धारा वितरण गरिएको छ।
उपभोक्ताहरूले लगातार ३३ दिन श्रमदान गरेका छन्। पूर्ण अशक्तलाई श्रमदान लगाइएको छैन भने एकल महिला र एकल पुरुषलाई आधा समय श्रमदानमा लगाइएको छ। यसरी पालिकाबाट १५ लाख, दाताबाट ४४ लाख र स्थानीयको १५ लाख बराबरको श्रमदानले बनेको आयोजनाबाट २०८० पुसदेखि घरघरै पानी पुगेको छ।
यसअघि यी गाउँमा २०४५ सालमा सामुदायिक अस्पताल मिसनको एक कार्यक्रममा २०/२२ धारा पानी ल्याउने काम भएपनि त्यसपछि कुनै योजना पुगेको थिएन। अहिले यो खानेपानी आयोजना सम्पन्न भएपछि रेडक्रसकर्मी पुग्दा स्थानीयले ‘पानी खुवाउने सर आयो’ भन्छन्। २०४५ सालपछि गाउँमा आएको यही योजनाले स्थानीयको मुहारमा खुसी ल्याएको रेडक्रसका जिल्ला कार्यक्रम संयोजक खिला गुरागाईँ बताउँछन्।
गत वर्ष मात्रै यो कार्यक्रम सम्झौता भएर काम सुरु भएपछि स्थानीय बासिन्दा र पालिकाको सहजीकरणमा सहजै योजना सम्पन्न भएको उनको भनाइ छ। अघिल्लो वर्ष मात्रै उर्लेनी, माझखर्क र खस्रेनी भञ्ज्याङ जोड्न मोटरबाटोको ट्र्याक खुलेको छ। हिउँदमा जेनतेन बोलेरो र ट्र्याकटर चल्छन्। वर्षात्मा सबै बन्द हुन्छ। यही ट्र्याक खुलेपछि खानेपानी आयोजना पनि सफल भएको हो। यो गाउँमा अब सडक स्तरोन्नति र बिजुली अति आवश्यक देखिएको खानेपानी आयोजना अनुगमनमा पुगेका नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति नारायण दाहालले बताए। ‘यहाँ पानी पछि अब बिजुली अति आवश्यक देखिएको छ’, उनले भने।
गाउँपालिकाले पनि दुर्गममा सडक र बिजुली जोड्ने पालिकाको प्रथामिकता भएको बताएको छ। गाउँपालिका अध्यक्ष उत्तम राई स्थानीय आवश्यकता, योजनाको औचित्य र दिगोपनाको अवस्था हेरेर पालिकाले योजनाहरू वितरण गर्ने बताउँछन्। पालिकाले चाहेमा एक वर्षमै बिजुली बल्ने स्थानीय भीषण तामाङ बताउँछन्। हाम्रा कुरा सबैले सुनिदिए गाउँ सुगम हुने उनी बताउँछन्।
यी तीन गाउँबाट पालिका केन्द्र आउन ३÷४ घण्टा भीर र जंगल पार गर्नुपर्छ। बारीमा आलु र मकै फल्छन्। उत्पादनले ३ महिना पनि पुग्दैन। यहाँ डेढ सय परिवारका काम गर्न सक्ने जनशक्ति भारतको लद्दाख, कास्मिर र सिक्किममा श्रम गर्न जान्छन्, १०/१२ परिवार त उतै बस्न थालिसकेका छन्।
गएकाहरू दशैं मनाउन मात्रै गाउँ आउँछन्। कमाएर ल्याएको पैसाले अन्नबाली र तरकारी किनेर जीविकोपार्जन गर्नुपर्छ। गाउँमा रोजगारी नहुँदा विदेसिनुको विकल्प नरहेको स्थानीय बुद्धमाया तामाङ बताउँछिन्। तीन वटै गाउँमा गरि कक्षा पाँचसम्म पढाइ हुने विद्यालय र कहिलेकाँही खुल्ने स्वास्थ्य इकाइ मात्रै यहाँका सरकारी निकाय हुन्। स्वास्थ्य, शिक्षा, रोजगारीको समस्याबाट उठाउन गाउँको विकास जरूरी भएको स्थानीयको भनाइ छ।