झापा गोल्डकपको उपाधिका लागि एपिएफ र चर्च ब्वाइज भिड्दै
झापा : छैठौं झापा गोल्डकपको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौं भिडदैछन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार दिउँसो ३ बजेबाट हुने फाइनल खेलमा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।
फाइनल खेलको पूर्वसन्ध्यामा बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दुबै टिम कोचले उपाधि हात पार्ने दाबी गरेका हुन् । यसअघिका पाँच संस्करणमा सहभागी भएको एपिएफ पहिलो पटक फाइनलमा पुगेको हो । सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी जनाउँदै फाइनलमा पुग्न सफल भएको हो ।
उद्घाटन खेलमा संकटा यूथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै एपिएफ क्वाटरफाइनल प्रवेश गरेका थिए । क्वाटरफाइनलमा एपीएफले टाइब्रेकरमा सर्लाहीको बागमती यूथ क्लबलाई ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफ फाइनलसम्म पुगेको हो ।
त्यसैगरी चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखायो । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा एनआरटीमाथि १–० को नतिजा निकाल्यो । सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा आफ्नो स्थान बनायो ।
चर्च ब्वाइजका कोच रोबिन राईले एपिएफ बलियो टिम भएपनि उपाधि जित्न मैदानमा रणनीतिका साथ उत्रिने बताए । त्यस्तै एपीएफ टिम कोच सुशील अधिकारीले उपाधि जित्न कुनै कसुर बाँकी राख्ने बताए । गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार,ट्रफी,मेडल र प्रमाणपत्र पाउने छ। उपबिजेताले सात लाख रुपैयाँ पाउने छ ।
फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैयाँ विधागत पुरस्कारको रुपमा पाउने बताइएको छ । गोल्डकप गत फागुन १९ गतेबाट सुरू भएको थियो ।