झोलुंगे पुल बनेपछि स्थानीयलाई सहज
दोलखा : दोलखाको गोगंर टासिनामा स्थिति तामाकोशी नदीमा १०४ मिटर लामो झोलुङ्गे पुल बनेको छ। बिगुगाउँपालिका १ र गौरीशंकर गाउँपालिका ९ जोड्ने तामाकोशी नदीमा झोलुङ्गे पुल बनेको हो। तामाकोशी नदीमा पुल नहुँदा टासिनामका स्थानीय ३ घण्टा पैदल हिँडेर स्वास्थ्य, शिक्षा लगायतका अन्य सेवा लिन बाध्य हुनुपरेको स्थानीयको गुनासो थियो।
कादुरी एग्री कल्चरल एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक सहयोगमा दोलखामा ३ वटा झोलुङ्गे पुल र ६१ वटा धारा निर्माण भएको छ। ५५ वर्षअघिदेखि देशका विभिन्न जिल्लामा कृषि, स्वास्थ, शिक्षा र पुल निर्माणका लागि काम गर्दै आएको कादुरी एग्री कल्चरल एसोसिएसन ब्र्रिटिस गोर्खाज नेपालले १ करोड २६ लाख मा निर्मित तामाकोशी नदीको झोलुङ्गे पुल संस्थाका प्रमुख माइकल कादूरीले सोमबार उद्घाटन गरेका हुन्। पुल निर्माणपछि ५ सय भन्दा बढी घर परिवारलाई विद्यालय र स्वास्थ्यचौकी जान बाटो छोटिने भएपछि स्थानीय खुसी भएका छन्।
कादुरी एग्री कल्चरल एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले बिगु गाउँपालिका १ स्यालु गाउँमा ८७ लाखको लागतमा खानेपानीको ९१ वटा धारा निर्माण गरिदिएको प्रोजेक्ट मेनेजर प्रदीपकुमार सिलवालले बताए। गौरीशंकर ८ भुमेथान, हुर्पुङमा ८० लाख लगानी मा ६१ वटा खानेपानीका धारा अर्को वर्ष निर्माण हुने कादूरी एग्री कल्चरल एसोसिएसन ब्रिटिस गोर्खाज नेपालका पुल विभाग प्रमुख सुन्दरकुमार श्रेष्ठले जानकारी दिए।
यसअघि गौरीशंकर नाजिमटार खारेमा १ करोड १६ लाखमा १ सय १२ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिसकेको पुल विभाग प्रमुख श्रेष्ठको भनाइ छ। त्यसैगरी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरूङ मार्ग नजिकैको गोंगर खोलामा ८० लाखको लागतमा ७२ मिटर लम्बाइको झोलुङ्गे पुल कादुरी एग्री कल्चरल एसोसिएसन ब्र्रिटिस गोर्खाज नेपालले बनाइ सकेको छ।
बिगु र गौरीशंकर गाउँपालिकामा २ वटा झोलुङगे पुल र २ वटा खानेपानी आयोजना थप निर्माण गर्ने तयारीमा रहेको कादूरी एग्री कल्चरल एसोसिएसन ब्र्रिटिस गोर्खाज नेपालका पुल विभाग प्रमुखले जानकारी दिएका छन्।
नेपालका लागि बेलायती राजदूत फेनले पुल निर्माणले स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास लिए। पुल निर्माण भएसँगै गोंगर र टासिनामको दूरी छोटिएको छ।