कर्णाली पुलमा आगोले क्षति, आवतजावत बन्द
सशस्त्र युद्धको समयमा तत्कालीन विद्रोही पक्ष माओवादी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त हुँदा पुलको तार तथा पिल्लरमा गोली लागि क्षति भएको थियो।
कैलाली : सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट क्षति भएपछि पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन डाइभर्ट गरिएको छ।
वीरगञ्जबाट कञ्चनपुरतर्फ आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको मालबाहक ट्रकमा पुलमा गुडिरहेको बेला आगलागी भएको थियो। उक्त आगलागीबाट ट्रकमा क्षति पुग्नुका साथै पुलका तारहरुमा समेत आगो सल्किएको थियो।
आगोले पुलमा क्षति पुर्याएपछि यातायातका साधन कैलालीको लम्कीबाट टीकापुर हुँदै सत्ती घाटबाट बर्दिया र बर्दियाको भुरीगाउँबाट कोठियाघाट हुँदै राजापुरसम्म डाइभर्ट गरिएको इलाका प्रहरी कार्यालयले चिसापानीले जनाएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्णाली पुलका तार र स्ल्याबमा क्षति पुगेको बताउँदै क्षतिको यकिन विवरण नआउँदासम्म आवागमन बन्द गरिएको बताए। २०५१ सालमा जापानको कावासाकी हेवी इन्डस्टिजले निर्माण गरेको चिसापानीस्थित कर्णाली पुल एक खम्बामा अड्याइएको पुल हो। पाँच सय मिटर लम्बाई र १० मिटर चौडाईमा निर्मित यो पुल बने यता मर्मत सम्भार हुन सकेको छैन।
सशस्त्र युद्धको समयमा तत्कालीन विद्रोही पक्ष माओवादी र सुरक्षाकर्मीबीच दोहोरो भिडन्त हुँदा पुलको तार तथा पिल्लरमा गोली लागि क्षति भएको थियो।