गाउँमा अस्पताल छिटो बनाऊ
प्रकाश रोकाया । हाम्रो गाउँपालिका पचालझरनामा अस्पताल छैन। हामीलाई सामान्य स्वास्थ्य समस्या हुँदा पनि जिल्ला अस्पताल वा कर्णाली प्रदेश अस्पताल धाउनुपर्ने बाध्यता छ।
कतिपय गम्भीर प्रकृतिका बिरामीहरू अस्पताल नपुग्दै बाटोमै प्राण त्यागेका उदाहरण प्रसस्तै छन्। २०७४ सालको स्थानीय तह निर्वाचनका बेला नै गाउँपालिकामा १५ शय्याको अस्पताल बन्ने हल्ला थियो। तर, त्यो हल्लामै सीमित भयो। आजसम्म अस्पताल बनेको छैन। यहाँका मानिसलाई विगतमा जस्तै बिरामी पर्दा जिल्ला सदरमुकाम वा प्रदेश राजधानी धाउनु परिरहेको छ।
पचालझरनाबाट सदरमुकाम मान्म जान एक दिन लाग्छ। प्रदेश राजधानी जान दुई दिन। मानिसको उपचार सेवा लिनभन्दा बाटो खर्चकै समस्या हुन्छ। यसले पनि धेरै नागरिक गम्भीर बिरामी नपर्दासम्म उपचार गर्न जाँदैनन्। धेरैजसो नागरिक रोग पालेरै बस्छन्। हाम्रो पालिकामा मात्र होइन, कर्णालीका सबै नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा छैन। देशमा संघीयता आयो। अब त हरेक सेवा सुविधा गाउँमै आउँछन् भनियो। तर, शिक्षा, स्वास्थ्य, विद्युत्, यातायातलगायतका आधारभूत सेवासमेत गाउँसम्म आइपुगेका छैनन्। जसको परिणाम नागरिकले संघीयताप्रति नै प्रश्न उठाउन थालिसके। व्यवस्था जस्तो आए पनि नागरिकको अवस्था सधैं उस्तै हुने भयो।
चुनावका बेला राजनीतिक दलहरू निकै लोकप्रिय नारा लगाउँछन्। नागरिकलाई चाहिनेभन्दा बढी आश्वासन दिन्छन्। तर, ती आश्वासनहरू कहिल्यै पूरा गर्दैनन्। अब त्यसो गर्नुहुँदैन। जे बोल्छन्, त्यही गर्छन् र जे गर्छन्, त्यही मात्र बोल्छन् भन्ने विश्वास नागरिकमाझ दिलाउन सक्नुपर्छ। त्यसका लागि राजनीतिक दल र जनप्रतिनिधिहरू जिम्मेवार बन्नुपर्छ।
गाउँमा आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षालगायतका नागरिकका आवश्यकताको सम्बोधन गरिनुपर्छ। गाउँमै नागरिकलाई आशा जगाउनुपर्छ। यसो नभए दिन प्रतिदिन गाउँहरू रित्तिँदै जानेछन्। यस विषयमा राज्यका तीनै तहका सरकार जिम्मेवार बन्नुपर्छ।
( रोकाया, कालीकोटस्थित पचालझरना गाउँपालिका–४ राम्नाकोटका स्थानीय हुन्।)