नेपाल–रुस सम्बन्धका सात दशक

नेपाल–रुस सम्बन्धका सात दशक
सुन्नुहोस्

२००६ साल मोहनशमशेर जबराको प्रधानमन्त्रीत्व कालमा नेपालको संयुक्त राष्ट्रसंघको सदस्य हुने चाहना बढ्यो। यसको मुख्य कारण चीन र भारतमा आएको राजनीतिक परिवर्तनबाट नेपाल सतर्क हुनुपर्ने भयो। नेपालको संयुक्त राष्ट्रसंघको सदस्यतासम्बन्धी निवेदन लिएर कूटनीतिज्ञ पद्मबहादुर खत्री न्युयोर्कतर्फ लागे। तर रुस र युक्रेनले नेपालको सदस्यताविरुद्ध एक्काइसौं पटकसम्म भिटो प्रयोग गरेकाले यो सफल हुन सकेन। यसका साथै नेपाल प्रजातन्त्र कांग्रेसले संयुक्त राष्ट्रसंघलाई पत्र पठाई प्रजातान्त्रिक सरकारको स्थापना नभएसम्म नेपाललाई सदस्यता नदिन अनुरोध गरेको थियो।

रुस र युक्रेनले भिटो प्रयोग गर्नुको कारण नेपाल बेलायत सरकारको बढी नजिक हुनु थियो। नेपाल स्वतन्त्र राष्ट्र हो भन्ने कुराको अनेक ऐतिहासिक प्रस्तुत गर्नु परेको थियो। २०१८ मंसिर २९ बुधबारमा नेपाल राष्ट्रसंघको सदस्य भएको थियो। सोभियत संघसँगको नेपालको सम्बन्ध अत्यन्त राम्रो हुँदै गयो। २०१७ माघ २० मा सोभियत रुसका राष्ट्रपति मार्सल के.ई. भेरोसिलोभले नेपालको भ्रमण गरेका थिए। त्यसै समयमा नेपाल र सोभियत रुसको बीचमा सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। यस सन्धिअनुसार सोभियत रुसले नेपाललाई तीन करोड रुबल आर्थिक सहयोग गरेका थिए।
१९९१ डिसेम्बर २८ मा सोभियत रुसको विखण्डनपछि नेपाल सरकारले रुसी संघलाई सार्वभौम राष्ट्रको रूपमा मान्यता प्रदान गर्‍यो। नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएका देशमध्ये छैटौं स्थानमा पर्छ। १९५६ जुलाई २० मा नेपालको तत्कालीन सोभियत रुससँग दौत्य सम्बन्ध स्थापना भएपछि दुवै देशबीच उच्चस्तरीय भ्रमणको सिलसिला कायम भएको थियो। सोभियत रुस र जापानसँग नेपालको कूटनीतिक सम्बन्ध एकै वर्षमा भएको थियो। नेपालको आवासीय दूतावास मस्कोमा छ भने रुसको आवासीय दूतावास काठमाडौंमा छ।

नेपाल–रुस सम्बन्ध महाकवि लक्ष्मीप्रसाद देवकोटासँग जोडिएको छ। १९५८ अक्टुबर (२०१५ कात्तिक) मा सुवर्णशमशेरको प्रधानमन्त्रीत्वकालमा देवकोटा अफ्रो–एसियाली सम्मेलनमा भाग लिन तत्कालीन सोभियत रुसको उज्वेकिस्तानको तासकन्दमा कवि सम्मेलनमा भाग लिन राष्ट्रकवि माधवप्रसाद घिमिरे तथा अन्य कविका साथ पुगे। त्यसबखत यिनी कलकत्ताबाट पेटको अप्रेसन गरेर भर्खर नेपाल आएका थिए। सम्मेलन सक्नेबित्तिकै साथीले यिनलाई औषधि गर्न मास्को जाने सल्लाह दिए। यिनी मस्कोको भोत्किन अस्पतालमा भर्ना भएका थिए। यिनलाई २८ दिनसम्म अस्पतालका चिकित्सक तथा नर्सहरूले उपचार गरेका थिए। यिनका असल व्यवहारबाट देवकोटा निकै प्रभावित भएका थिए। यिनी रुसी जनताको माया बोकेर 
नेपाल आएका थिए। यिनमा रुसी शासन व्यवस्था र कार्यशैलीको निकै प्रभाव परेको थियो। त्यसपछि उच्चस्तरीय भ्रमणको सिलसिलामा जारी थियो।

देवकोटा मस्को गएकै वर्ष सन् १९५८ मा राजा महेन्द्र र त्यसको १८ वर्षपछि स्न १९७६ मा राजा वीरेन्द्रबाट रुसको भ्रमण भएको थियो। यसैगरी रुसको सेन्ट पिटर्सवर्गमा भएको बाघ सम्मेलनमा भाग लिन नेपालका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमण भएको थियो। त्यसको एक वर्षपछि २०११ मा उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवको मस्कोको भ्रमण भएको थियो। त्यसको पाँच वर्षपछि २०१६ मा व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्तीमगरबाट रुसको भ्रमण भएको थियो। त्यसको वर्ष दिनपछि महिला, बालबालिका तथा समाज कल्याण ज्येष्ठ नागरिक र संसद् समितिका अध्यक्ष रञ्जु झाबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको भ्रमण भएको थियो।

२३–२६ सेप्टेम्बर २०१७ मा तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र त्यसको दुई वर्षपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट रुसको भ्रमण भएको थियो। त्यसै वर्ष २०१९ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रुसको भ्रमण भएको थियो। रुसबाट पनि उच्चस्तरीय भ्रमण भएका थिए। रुसका राष्ट्रपति भोरोसिलोभले नेपालको भ्रमण गरेको ३२ वर्षपछि रुसका उपविदेशमन्त्री गोर्की एफ कुनाइजबाट नेपालको भ्रमण भयो। त्यसको ११ वर्षपछि २००३ मा रुसको परराष्ट्र मन्त्रालयअन्तर्गत तेस्रो एसिया विभागका निर्देशक ग्लोब ए. इभासेन्ट सोभले नेपालको भ्रमण गरे।

सन् १९५९ देखि नेपाल र रुसका बीचमा आर्थिक तथा प्राविधिक सहयोगको आदानप्रदान हुँदै आएको छ। सोभियत रुसले विगतमा कान्ति अस्पताल, पनौती जलविद्युत् केन्द्र, जनकपुर चुरोट कारखाना, पथलैया ढल्केवर सडक खण्ड, कृषि औजार केन्द्र, वीरगन्ज चिनी कारखाना वीरगञ्ज, रोसिन टर्पाइन प्लान्टमा नेपाललाई सहयोग पुर्‍याएको थियो। सन् १९९२ देखि नेपाली विद्यार्थी छात्रवृत्ति र आफ्नै खर्चमा उच्च अध्ययनका निम्ति रुस जाने गरेका छन्। रुसले नेपाललाई चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७२ सालको महाभूकम्पमा रुसले नेपाललाई सहयोग गरेको थियो।

नेपालले रुसमा चिया, वनस्पति, धूप, छाला, हातेकागज, कार्पेट, सुती कपडा, संगीत तथा कलाका सामान निर्यात गर्छ भने रुसबाट खाद्य सामग्री, लुब्रिकेट, चामल, औषधि आयात गर्छ। नेपाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज र रुसी चेम्बर अफ कमर्सबीचमा सहयोग आदान–प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। रुस–युक्रेन युद्ध र इजरायल हमास युद्धले नेपालमा तनाव थपेको छ। रुसी सेनामा दुई सय नेपाली युवा भर्ना भएका छन्। तीमध्ये धेरैलाई बिनातालिम उक्त युद्धमा पठाइएको र १६ युवा मारिएको खबर छ। कैलाली टीकापुरका ३६ वर्षीय पूर्वप्रहरी भरत शाह सोही युद्धमा मारिएका थिए। यिनको लास नेपाल ल्याउने व्यवस्था गरिँदैछ।

इजरायल हमास युद्धमा २१ नेपाली मारिए वा हराइरहेका छन्। प्रवीण जोशीको खोजी भइरहेको छ। राष्ट्रसंघले इजरायल–हमास र रुस–युक्रेनको युद्धको चाँडै अन्त्य होस् भन्ने चाहेको छ। नेपालको असंलग्न परराष्ट्र नीतिले कुनै पनि समूहमा लाग्न दिँदैन। बेलायत र भारतबाहेक कुनै पनि देशसँग नेपालको सैनिक सम्झौता भएको छैन। त्यसैले नेपाल सरकारले रुसी सेनामा रहेका नेपाली युवालाई तत्काल स्वदेश फिर्ता गर्न अनुरोध गरेको छ। नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षको अवसरमा लुक नेपालले विशेषांक निकालेको छ। उक्त विशेषांकमा मन्तव्य दिँदै तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदबाट नेपाल–रुस सम्बन्ध मित्रता, सद्भाव र सहयोगमा आधारित रहेको कुरा व्यक्त भएको छ।

निष्कर्ष : नेपाल–रुस सम्बन्ध अत्यन्त पुरानो हो। रुसबाट फर्केका नेपालीले देश विकासको काममा योगदान पुर्‍याइरहेछन्। उच्च अध्ययनमा गएका केही नेपाली रुसमै बसेर रोजगार गर्दैछन्। उच्च अध्ययन गर्न रुस गएका एक चिकित्सकले ललितपुरको भैंसेपाटीमा आधुनिक अस्पताल बनाएर राष्ट्रको सेवा गर्दैछन्। रुस तथा अन्य विकसित राष्ट्रहरूमा कार्यरत युवालाई स्वदेशमा लगानी गर्न उत्प्रेरित गर्नुपर्छ। रुससँग कूटनीति सम्बन्ध स्थापना भएकै वर्ष जापानसँग पनि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यी दुई शक्तिशाली देशसँग सम्बन्ध विकास गर्न सकियो भने देश उन्नतिको शिखरमा पुग्न सक्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.