बेस्ट अप्सन हो कि होइन छोडदिनुस्, दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुस् : ओली
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिल खोलेर विश्वासको मत दिन आग्रह गरेका छन्। मंगलबार एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले मनमा कुनै हिचकिचाहट नराखेर विश्वासको मत दिन अपील गरे।
'अल्पमतको सरकार बन्यो भने देश कतातिर जान्छ? त्यसकारण हामी एकदम दिल खुलेर, बिना हिचकिचाहट, मनमा कुनै कुरा नराखेर विश्वासको मत दिन्छौं। विश्वासको मतमा हामी सबै उपस्थिति हुनेछौं। सम्पूर्णले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गर्नेछौं,' उनले भने।
उनले बेस्ट अप्सनको पछि नलाग्न पनि आग्रह गरे। अहिलेको अवस्थामा दुई विकल्पमात्र रहेको उनको भनाइ छ। 'अहिलेको परिवर्तन सकारात्मक छ। यसलाई अगाडि बढाउनुपर्छ। यो असफल हुनु भनेको देश ठूलो असफलतामा जानु हो,' उनले भने, 'यो बेस्ट अप्सन हो कि होइन छोडदिनुस्। यतिबेला कुनै अप्सन छैन। कि प्रचण्ड नेतृत्वमा कायम रहन्छ र यो चल्छ। कि संविधानको ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ। अल्पमतको सरकार बन्नु भनेको देश दुर्घटनामा जानु हो।'
उनले प्रमुख सचेतकले ह्वीप जारी गर्ने र ह्वीप जारी नभए पनि यसैलँई आदेश र निर्देश मानिदिनसमेत उनले आग्रह गरेका थिए।