कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
काठमाडौं : संसद बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ। प्रतिनिधि सभाको बैठक अगाडि शंकर हलमा प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मत र आगामी १५ दिनको संसद बैठकको क्यालेण्डर लगायतका विषयमा छलफल भइरहेको छ।
प्रतिनिधि सभाको आजको बैठक ११ बजेलाई बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्ने र उक्त प्रस्तावमाथि छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिने तयारी छ।
नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले संसद्मा उपस्थित २७० सांसदमध्ये २६८ जनाले पक्षमा मत दिएका थिए। उक्त समयमा विश्वासको मत लिँदा कांग्रेसले पनि विश्वासको मत दिएको थियो।
राष्ट्रपति निर्वाचनमा माओवादीले एमालेको गठबन्धन भत्काएर कांग्रेससँग गठबन्धन गरेपछि एमालेलगायतका दलले समर्थन फिर्ता लिएपछि उनले पुन: विश्वासको मत लिएका थिए। दोस्रो पटक पुनः प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदा १७२ मत पक्षमा र विपक्षमा ८९ मत र मत दिन्नमा १ मत खसेको थियो।
हाल गत सोमबार चारदलीय गठबन्धनबीच सहमति भएपछि पुन: एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी सरकारमा छन्। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।