संसदमा कांग्रेसको माग : सुन तस्करीमा संलग्न र सहकारीमा ठगीको छानबिन हुनुपर्छ
काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगीको विवादमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबितिकै कांग्रेस सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषद्मा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै निष्पक्ष छानविन हुनेमा आशंका जनाएकी हुन्।
उनले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाइन् । उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उहाँका परिवारका सदस्य सुन तस्करीमा संलग्न भएको देखिएको अवस्थामा कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्। उनले यस अगाडि सभामुखबाट रुलिङ भएको विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ नदिएको भन्दै आपत्ति जनाइन्। सचेतक थिङले उपरोक्त सबै विषयमा राम्ररी छलफल नभए आगामी दिनमा सदन प्रभावकारी रुपमा सञ्चालन हुन नसक्ने स्पष्ट पारिन्।