अस्थिर सत्ताका गम्भीर असर
संघको सत्ता गठबन्धनमा फेरबदली हुँदा त्यसको परकम्प प्रदेशहरूसम्म पुगेको छ । संघमै एक जना मन्त्रीले वर्ष दिन पनि काम गर्न नपाउँदा नीति तथा कार्यक्रम कार्यान्वयनमा अवरोध देखिनु स्वाभाविक भयो । प्रदेशहरूमा पनि वर्ष दिन पूरा हुँदा नहुँदै सत्ता फेरिँदै छन् । त्यसको असर के भने भइरहेको सरकारले कुनै पनि योजना भनेअनुसार पूरा गर्न पाएका छैनन् । र, अघिल्लो सरकारका योजना अलपत्र छन् । त्यसमाथि आफू सत्ताबाट हट्ने निश्चित भएपछि जबरजस्ती रकमान्तर गरी बजेट आफू अनुकूल योजनामा राख्ने होडबाजी नै चलेको छ । बहुवर्षे योजना थपेर आउँदा सरकारहरूलाई अप्ठेरोमा पार्ने खेल पनि गण्डकी, लुम्बिनीलगायत प्रदेशहरूमा देखिएको छ । सत्ता अस्थिर हुँदाका अवयव धेरै छन् ।
भालुबाङ—प्यूठान राजमार्ग जमानामा कोरिएको हो । जनताले नै खनीखोस्री खुलाएको बाटोमा सरकार फेरिएपिच्छे कहिले बजेट पर्छ त कहिले बजेट काटिन्छ । र, पञ्चायतकै बेलामा सुरु भएको राजमार्ग अहिलेसम्म पूरा भएको छैन । लुम्बिनीमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा बनाएको घरघरै धाराको योजना अर्काे सरकार आएपछि अलपत्र बन्यो । गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थापना गरेको गण्डकी विश्वविद्यालयलाई बजेट कम दिएर कांग्रेस नेता सुरेन्द्र पाण्डेको सरकारले ‘राजनीति’ ग¥यो । गुरुङका पालामा खुलेका संस्था खारेजीको तयारी गर्दागर्दै पाण्डे सरकार नै खारेजीको डिलमा छ ।
पालिकाहरूमा समेत अघिल्लो कार्यकालमा अघि सारेका गतिला योजनालाई पनि निरन्तरता नदिने प्रवृत्ति छ । बुटवल उपमहानगरपालिकाको ‘सिंगो बुटवल एक विद्यालय’ कार्यक्रम अघिल्लोपटक थियो, यसपालि छैन । यस्ता थुप्रै विकृति र विसंगतिपूर्ण राजनीति संघदेखि प्रदेश हुँदै पालिकासम्म पुगेको छ । यो सबै निर्वाचन प्रणालीमा भएको कमजोरीको परिणाम हो । अहिलेकै निर्वाचन प्रणालीले कुनै पनि दल बहुमतसहित सत्तामा पुग्न असम्भवजस्तै छ । अनि गठबन्धन फेरिरहन्छ र सत्ता अस्थिर भइरहन्छ । जसको फलस्वरूप विकास निर्माणले गति लिँदैन । कर्मचारीमा उस्तै अस्थिर मानसिकता विकास भइरहेको छ । काम गर्ने मनोबल कर्मचारी वृत्तमा छैन । योजना कार्यान्वयनमा ढिलासुस्ती वा घरी कुनै योजना र कार्यक्रम अनि फेरि घरी अर्काे योजना र कार्यक्रम बन्दा कुनै पनि पूरा भएका छैनन् । लक्ष्यविहीनता नै अस्थिर सत्ताको खेलले सिर्जना गरेको छ । दलहरू सत्तामा पुग्दासम्म देशमा विकास र शान्ति देख्ने तर प्रतिपक्षमा गएपछि नदेख्ने गरिरहँदासम्म अस्थिरताको चाकाचुली चलिरहन्छ । यसको निराकरण भने निर्वाचन प्रणालीमा सुधार नै हो । दल र नेता अनि जनप्रतिनिधिहरूमा राजनीतिक संस्कारको विकास हो ।