सिन्धुलीका १४६ जना भूमिहीन सुकुम्बासीले पाए जग्गाधनी पुर्जा
सिन्धुली : सिन्धुलीका १ सय ४६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुले जग्गा धनी प्रमाण–पत्र (लालपुर्जा) पाएका छन् । कमलामाई, दुधौली नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाका १४६ जनाले लालपुर्जा पाएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिन्धुलीले जनाएको छ ।
बुधबार सिन्धुलीमाढीमा आयोगद्वारा आयोजित कार्यक्रममा कमलामाई नगरपालिकाका ७ का भूमिहीन दलित ६ र भूमिहीन सुकुम्बासी २ गरी ८ जना, वडा नम्बर १२ का भूमिहीन दलित ३ र सुकुम्बासी १२ गरी १५ जनालाई लालपुर्जा वितरण गरिएको छ ।
यस्तै दुधौली नगरपालिका ६, ७, ९ र ११ वडाका १०२ जना भूमिहीन दलित र ४ जना भुमिहीन सुकुम्बासी गरी जम्मा १ सय ६ जनालाई लालपुर्जा वितरण गरिएको भुमि आयोग जिल्ला समिति सिन्धुलीका अध्यक्ष बाबुराम राईले जानकारी दिए ।
कमलामाई नगरपालिका २६३ जना भूमिहीन दलित, ६८६ जना भूमिहीन सुकुम्बासी, दुधौली नगरपालिकामा ५५८ जना भूमिहीन दलित, ६०२ जना भूमिहीन सुकुम्बासी र हरिहरपुरगढी गाउँपालिकामा ३२ जना भूमिहीन दलित तथा २ सय २ जना भूमिहीन सुकुम्बासीहरु रहेका छन् ।
जिल्लाको दुई नगरपालिका तथा सातवटा गाउँपालिकाहरु रहेकामा हालसम्म फिक्कल गाउँपालिका बाहेक आठ वटा पालिकाबाट भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन गरिएको छ ।
आयोगकी सदस्य इन्दीरा निरौलाले कुनै समस्या नआए २०८३ को असार मसान्तसम्ममा जिल्लामा आयोगको सबै काम सम्पन्न हुने दावी गरिन् ।
‘अबको दुई वर्ष भित्रमा जिल्लामा कुनै पनि नागरीक भूमिहीन र सुकुम्बासी बन्नु नपर्ने गरी काम भइरहेको छ । कानुनी र राजनीतिक हिसाबले कुनै समस्या नआए आयोगले सबै निवेदन उपर छानविन गरेर काम सम्पन्न गर्नेछ,’ उनले भनिन् ।
आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा नापजाँच, कित्ताकाट लगायतका काम सकेर दर्ता प्रक्रियामा गई पुर्जा बुझ्न अनुरोध गर्दा पनि राजस्व धेरै भएका कारण कतिपय नागरिकहरु समस्या पर्ने गरेको आयोगका सदस्य सचिव तथा नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठले जानकारी दिए ।