नदीजन्य पदार्थको लिलामीमा ढिलासुस्ती
परासी : अवैध रुपमा डम्पिङ गरेर राखेका नदीजन्य पदार्थ (ढुंगा, बालुवा र ग्राभेल)लाई जफत गर्न सक्रियता देखाएको नवलपरासीको सुनवल नगरपालिकाले लिलाम प्रक्रियामा भने ढिलासुस्ती देखाएको छ।
जिल्ला समन्वय समितिको बैठकले विभिन्न स्थानीय तहहरूमा अवैधरुपमा राखिएका नदीजन्य पदार्थलाई जफत गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सुनवल र सुस्ता गाउँपालिकाले अवैधरुपमा डम्पिङ गरेर राखेका करिब डेढ करोड बराबरका नदीजन्य पदार्थलाई जफत गरेका थिए।
सुस्ता गाउँपालिकाले जफत गरेका नदीजन्य पदार्थलाई लिलाम गरिसकेपनि सुनवलले भने अहिलेसम्म लिलामबारे केही प्रक्रिया अघि बढाएको छैन। जसले गर्दा जफत गरेर राखेका स्थानबाट नदीजन्य पदार्थको चोरी हुने सम्भावना बढेको छ। ती दुई पालिकाले अवैधरुपमा डम्पिङ गरेर राखेका केही नदीजन्य पदार्थलाई टिपरमार्फत पालिकामा संकलन गरेका थिए भने ल्याउन नसकिने सामग्रीलाई डम्पिङ स्थलमै नापजाँच गरी छाडेका छन्।
महिना दिनअघि दुई पालिकाहरूले जफत गरेर राखेका नदीजन्य पदार्थ करिब डेढ करोडको हाराहारीमा छन्। सुनवलमा मात्र करिब १ करोड बराबरको नदीजन्य पदार्थ जफत गरिएको छ। सुनवलका विभिन्न खोला किनार, व्यक्ति र सार्वजनिक स्थान गरी ६ बढी स्थानमा डम्पिङ गरेर राखेका ९५ लाख ५९ हजार बराबरको नदीजन्य पदार्थ जफत गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए।
तीमध्ये दुई स्थानमा रहेका नदीजन्य पदार्थलाई व्यक्तिले दाबी गरेको उनले बताए। 'जगार्हाको पुल नजिक र तुरिया खोला नजिक रहेका नदीजन्य पदार्थलाई दुई व्यक्तिले आफ्नो भनेर दाबी गर्न आएका छन्। निवेदन मात्र दिएकाले उनीहरूसँग स्टक गरेको प्रमाण माग्ने प्रक्रियामा छौं’, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने।
सुनवल नगर क्षेत्रबाट कुल ५ लाख ४१ हजार ९ सय घनफिट ढुंगा र ग्राभेल जफत गरिएको हो। जफत गरेको लामो समय भएकाले अब लिलामी प्रक्रिया अघि बढाइने नगर प्रमुख विमला अर्यालले बताइन्। ‘सबै ठाउँको नापजाँच भइसकेको छ, एक/दुई दिनमा सूचना निकालेर लिलाम प्रक्रिया अघि बढाउँछौं', नगर प्रमुख अर्यालले भनिन्।
यसैबीच सुस्ता गाउँपालिकाले जफत गरी राखेका नदीजन्य पदार्थबाट २७ लाख बढीको राजश्व संकलन गरेको छ। कुल २ लाख ९६ हजार ९२३ घनफिट नदीजन्य पदार्थको लिलामीबाट कुल २७ लाख २१ हजार राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए।
जिल्लाका सात पालिकामध्ये नदीजन्य पदार्थको स्रोत रहेको बर्दघाट र रामग्राम नगरपालिकाले भने अवैध नदीजन्य पदार्थलाई अहिलेसम्म अनुगमन गरेर जफत गर्नेतर्फ वास्ता गरेका छैनन्। रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले डम्पिङ भएका स्थानको विवरण संकलन भएको बताएका छन्। महिना दिनअघि पनि सोही प्रतिक्रिया दिएका नगर प्रमुख यादवले फेरि सोही प्रतिक्रिया दोहोर्याएका छन्।
बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले ठेक्का नलाग्दा सिधैं चोरी गरेर लैजाने गरेका कारण डम्पिङ नरहेको बताएका छन्। ‘रातको समयमा धेरैले चोरी गरेर लगे, केहीलाई पक्राउ गरियो त्यसैले होला नगर क्षेत्रमा डम्पिङ भएको देखेका छैनौं,' नगर प्रमुख श्रेष्ठले भने। चार पालिकाबाहेक जिल्लाका बाँकी पालिकाहरूमा भने नदीजन्य पदार्थको स्रोत रहेको छैन।