काठमाडौं : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न र तस्करी गर्नेहरूलाई जोगाउने प्रहरी अधिकारी समेतलाई कारवाही गर्न सिफारिस गरेको छ।
जाँचबुझ आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महारालाई मुद्दा चलाउन सिफारिस गरेको छ। इलेक्ट्रिक चुरोट 'भेप'मार्फत् गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको ठहर गर्दै जाँचबुझ आयोगले कारवाहीका लागि सिफारिस गरेको हो। आयोगले महराको पनि बयान लिएको थियो। भेपमार्फत सुन तस्करी गरेको आरोपमा महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका हुन्। यसअघि जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराम आचार्यले गृहमन्त्री लामिछानेलाई बिहीबार प्रतिवेदन बुझाएका थिए।
आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलगायत उच्च प्रहरी अधिकारीहरूलाई विभागीय कारवाही सिफारिस गरेको छ। समितिले सुन तस्करीमा संलग्नहरूलाई जोगाएको भन्दै एआईजी बज्रचार्यलगायत सुन अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीहरूलाई कारवाही सिफारिस गरेको हो। सिफारिस लगत्तै गृहमन्त्रालयले बज्रचार्यलगायत प्रहरी अधिकारीहरूलाई फिर्ता बोलाउने तयारी गरेको स्रोतले बताएको छ।
यसैगरी जाँचबुझ आयोगले अध्यागन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई विभागीय कारवाही गर्न सिफारिस गरेको छ। ६० किलो सुन तस्करीमा बेल्जियम नागरिक दावा छिरिङसँग अधिकारीको 'कनेक्सन' देखिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। यसैगरी सुन तस्करी प्रकरणमा जीवन गुरूङ, दिपेश पुन,प्रनिश पुन,जितेन्द्र पुन,जीवन चलाउनेविरुद्ध मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ।
सुन तस्करीसम्बन्धी ठूला विभिन्न ८ वटा घटनालाई आधार मानेर प्रतिवेदन तयार गरिएको हो। जसमा दोलखाको सुन तस्करी,३३ किलो सुन काण्डलगायतका घटना छन् । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोटमा लुकाएको सुनको विषयमा विस्तृत अनुसन्धान गरिएको छ ।
हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे जाँचबुझ गर्न सरकारले गत असोजमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले करिब साढे ५ महिना लामो अध्ययन, अनुसन्धान र जाँचबुझ गरेको छ ।
प्रतिवेदनमा सुन तस्करीमा संलग्नलाई कारवाहीको विषयमा विभिन्न चारवटा बुँदामा बाडिएको छ । अनुसन्धानको क्रममा आयोगले प्रतिवादी नबनाइएका विभिन्न २१ जना र थप १४ जनासँग सोधपुछ गरेको थियो । अनुसन्धानका क्रममा आयोगले त्रिभुवन विमानस्थल तथा रसुवागढी सहितका विभिन्न ७ वटा भन्सार नाकाहरूको स्थलगत अवलोकन गरेको थियो ।
यस्तै ६१ जना विषयविज्ञ र १८ जना संस्थागत प्रतिनिधिसँग परामर्श तथा छलफल गरेको थियो । अनुसन्धानका क्रममा आयोगले विद्युतीय चुरोट (भेप) र ब्रेकप्याडमा सुन राखी सुन तस्करी भएको मुद्दामा प्रतिवादी रहेका ३३ जना प्रतिबादीहरूट पुनः बन लिएको थियो । केन्द्रीयअनुसन्धान ब्यूरोबाट बुझिएका तर प्रतिवादी नबनाइएका विभिन्न २१ जनाको बयान,कागज गराउने तथा अनुसन्धानको क्रममा आयोगबाट थप १४ जनासँग सोधपुछ समेत गरेको थियो ।
प्रतिवेदनमा तस्करी नियन्त्रणको लागि कानुनमा गर्नुपर्ने सुधार, संरचनामा गर्नुपर्ने सुधार,सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमिकमजोरीहरू सुधार्न विभिन्न उपायहरू समेत सिफारिस गरिएको छ ।