हाम्रा बालबालिका के कम छन् र !
केही समयअगाडि एक कार्यक्रममा बालबालिकासँग कुरा गर्ने मौका पाएँ। कुरैकुरामा निस्कियो– मायाका कुरा। घरमा कुन तरिकाले उनीहरूले माया पाउँछन् ? सोध्न मन लाग्यो। उनीहरूका जवाफ यस्ता थिए– मैले बाबालाई पिज्जा ल्याइदिनु भनेँ भने उहाँ मलाई मःम चाउमिन पनि ल्याइदिनु हुन्छ। आफैं केही बनाएर खान्छुभन्दा आमा भन्नु हुन्छ, ‘तिमीहरू पढेर लखतरान भएका हुन्छौ। मेरो पो कामै के छ र ? के खान्छौ भन म बनाइदिन्छु।’
‘मैले जुत्ता पालिस गर्नै पर्दैन। पालिस गर्न खोज्यो कि आमा कराउन थाल्नुहुन्छ। हातभरि कालो लाग्छ। मै तयार गरिदिन्छु। नभन्दै सधंै आमाले मेरो जुत्ता टलक्कै पारेर राखिदिनु हुन्छ। केही सब्जी किनेर आउँछु है ? भन्छु। हुँदैन तिमी बोक्न सक्तैनौ म ल्याइहाल्छु नि। हजुरआमा कराउनु हुन्छ। म भन्छु कुचो लगाउँछु नि है ? आमा भन्नुहुन्छ– यो हातले कुचो समाउने होइन, कलम समाउने हो।
आहा ! कति धेरै माया। उनीहरू बोलिरहँदा उनीहरूका आँखा पनि हाँसिरहेका थिए। कक्षा ८ मा पढ्ने बालबालिकाले यस्तैयस्तै अन्य कुरा व्यक्त गर्दैगर्दा मलाई भने पहिलो नम्बरको उदाहरणले केही कुरा याद दिलाइरहेथ्यो। म पनि त्यो बेला आठै कक्षामा पढ्थे। म मेरो बुबासँगै धरानको छाताचोकबाट भानुचोकतिर ओरालो झर्दै थिएँ, बाटामा बुबाको साथीसँग भेट भयो। उहाँसँग उहाँकी मभन्दा केही सानी छोरी पनि थिइन्। उनी आफ्नाबाबुसँग केही कुरामा रिसाइरहेकी थिइन्। बाबु चुपलाग भन्दै थिए।
एकैछिनमा उनि त सडक छेउमै सुतेर लडीबडी गर्न थालिन्, हामी त हेरेको हेरै भयौं। उनी केही कुरा मागेर रुँदैे थिइन् अनि अचानक उनका बाबुको मुखबाट निस्कियो। ‘चकलेट ल्याइदे बा ! भन्दा मायाले बिस्कुट पनि लगिदिएको फल हो यो। चाहिनेभन्दा बढी माया देखायो भने यसरी आफैं लज्जित हुनुपर्ने रहेछ। माथि जति पनि कुरा बालबालिकाले सेयर गरे के ती मायाभित्र पर्छन् त ? उनीहरूले त माया नै ठानेका हुने रहेछन् यी सबै कुरालाई। अनि हामी आमाबाबुलाई पनि लागेको हुन्छ हामीले आफ्ना छोराछोरीलाई काम नलगाएर अचम्मै माया गरिरहेका छौं। तर के हाम्रा बालबालिकालाई सामान्यभन्दा सामान्य काम गर्न दिँदैमा हामीले गर्ने माया कम भएको हुन्छ र ?
हामीलाई सामान्य लाग्ने यी माथि बालबालिकाबाट पाएका उदाहरणहरूले बालबालिकाको पूरै जीवनमा ठूलो अर्थ राख्छ। अनि फेरि उक्त कामहरू हामी आफंै गर्न दिँदैनौं र पछि फेरि आफैं भन्न थाल्छौं। उनीहरू केही जान्दैनन् अथवा गर्न सक्तैनन्। अझ अहिले धेरैजनाको मुखबाट सुन्ने गरेकी छु, ‘हाम्रा केटाकेटी त ब्रोइलर नै भए नि ! ब्रोइलर बनाउने को हो त ? हामी आफैं हौ।’
अब यो ब्रोइलरको भाषामै भनौं। ब्रोइलर कुखुरो दुईचार पाइला चाल्दैमा थुचुक्क बस्छ। तर लोकल कुखुरालाई हेरौं न– बिहानैबाटै ऊ कति एक्टिभ हुन्छ। मान्छेलाई सखारै चिच्याइचिच्याई उठाउने पनि त्यही लोकल नै हो। ओहो ! क्या चलाख, क्या फुर्तिलो ! अब कसरी बनाउने होला त हाम्रा बालबालिकालाई लोकल ? सहरमा बस्नेलाई त यो पनि चुनौतीकै कुरा हो तर असम्भव भने होइन।
असम्भव छ र ? छैन बस् हामी यी माथिका कुराहरूलाई ध्यान दिऔं न। हामीले केही काम उनीहरूलाई दिने भनेको हामीले गर्न नसक्दा वा नभ्याउँदा मात्रै दिने होइन नि। उनीहरूलाई सिकाउन र सक्रिय बनाउन पनि हो। अनि के आफ्नो लुगा धुँदैमा र आफ्नै जुत्ता पालिस गर्दैेमा उनीहरूको पढाइ भुर्कुटै हुने हो र ? अनि उनीहरूलाई पसलबाट तरकारी किनेर ल्या भन्नु अथवा घरमा कुचो लगाउन अह्राउनु भनेको माया कम गर्नु हो त ? पक्कै होइन। यी सबै काम लगाउनु भनेको उनीहरूलाई भविष्यको लागि तयार गर्नु हो।
कुनै पनि कुरा जान्नु सिक्नु भनेको आफ्नै लागि हो र यसबाट उनीहरू जस्तै परिस्थितिमा पनि लडेर र जुँधेर अगाडि बढ्न सक्नेछन्। तर हामी आपैmं उनीहरूलाई ब्रोइलर बनाउनतिर लागिरहेछौं। हरेक कुरामा उनीहरूको अघिपछि लागिरहेका हुन्छौं। उनीहरूलाई एउटा सानो भुसुनाले छोला कि भनेर पंखा बोकेर हम्किरहेका हुन्छौं। मुख्य कुरा त उनीहरूलाई हामी एकपटक पनि लड्न दिँदैनौं। एकपटक पनि नलडेको मान्छे अचानक लड्यो भने कसरी उठ्ने ? उसलाई थाहा हुन्छ र ? उखान छ त ‘घोडा चढ्ने मान्छे लड्छ लड्छ। तर ऊ एकदुई पटक लडेपछि घोडालाई नै फनफनी घुमाइदिने पनि त हुन्छ।’
लोकल कुखुराको चल्ला र ब्रोइलर कुखुराको चल्लाको हुर्काइमा कति धेरै फरक छ ? ब्रोइलरको चल्लालाई जन्मेदेखि नै उज्यालो लगाइदिएर खाना बसेकै ठाउँमा पु¥याएर, एक कोठाबाट अर्काेमा पनि जान नपर्ने। यी सबै सुविधा भएपछि ऊ ढुक्क खान्छ त्यहीं बस्छ त्यहीं सुत्छ। क्या आराम ! उता लोकल भने अन्डाबाट निस्कनासाथ आमासँगसँगै लाग्छ उकालीओरालीमा। कतिपटक कान्लाबाट खस्छ, कतिपटक काँडामा पर्छ त्यो साध्य नै हुँदैन। अब यी दुइटालाई तुलना गरेर हुन्छ त ?
हो, यसरी नै हामी पनि हाम्रा बालबालिकालाई यति यत्न गर्छाैं नि उनीहरू ब्रोइलर भइसकेको कुरा पछि मात्रै थाहा पाउँछौ। जतिबेला उनीहरूमा त्यो आदत बसिसकेको हुन्छ। यो काम हामी आफैंको हो तर अन्तिममा हामी उनीहरूलाई नै दोष दिँदै भन्छौं– हाम्रा केटाकेटी त ब्रोइलर नै भए नि ! जस्तो कि उनीहरू आफ्नै चाहनाले त्यस्ता भएका हुन्। अबदेखि हामी अभिभावकले यति भन्नुभन्दा अगाडि एकपटक सोच्ने गरौं ल ?