गृहमन्त्रीको राजीनामा माग गर्दै संसदमा कांग्रेसको नाराबाजी
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आजको बैठकमा राखिएको कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए।
यसअघ आजै बसेको बैठक कांग्रेसको अवरोधकै कारण १५ मिनेट स्थगित गरिएको थियो। झन्डै दुई घन्टापछि पुनः सुरू भएको बैठक कांग्रेसको नाराबाजीपछि स्थगित भएको हो।
सभामुख घिमिरेले गृहमन्त्रीलाई लामिछानेलाई राजनीतिक दलसम्बन्धी २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने समय दिएपछि कांग्रेसले संसद अवरोध गर्दै नाराबाजी गरेका थिए।
कांग्रेसले अनुसन्धानको दायरामा रहेका गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरोध गरेको हो। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको जवाफ नआएसम्म कार्यसूचीमा प्रवेश गर्न नदिने चेतावनी दिएका थिए।
उनले भने,' बजेटसम्बन्धी कुनै पनि विषयमा अवरोध गर्न चाहँदैन। नेपाली कांग्रेसले निरन्तर एउटा प्रश्न उठाइराखेको छ। कुनै पनि माननीय मन्त्रीजी कुनै पनि अनुसन्धानको दायराभित्र छानबिनको घेराभित्र पर्नु भएको छ भने राज्य त्यो ढंगबाट अगाडि बढ्नुपर्थे स्थिति छ भने त्यस्ता माननीय मन्त्रीज्यूलाई आफ्नो पदमा बसिराख्न हक हुँदैन।'