समयसीमा सकिँदा पनि पुल निर्माण सुरु भएन

समयसीमा सकिँदा पनि पुल निर्माण सुरु भएन
पुल बन्ने स्थान। तस्बिर/भरतराज बिष्ट
सुन्नुहोस्

कालीकोट : कालीकोट जिल्लाको तिलानदीमा पक्की पुल निर्माण गर्ने समयसीमा सकिएको छ। सेरी पान्तडी सडक खण्ड र कर्णाली राजमार्ग जोड्ने पक्की पुलको ठेक्का सम्झौताको समयसीमा सकिएको हो। 

तिला नदी माथिको पान्तडी पक्की पुल निर्माणका लागि ठेक्का भएको  चार वर्ष भयो। पक्की पुल निर्माण गरी सक्ने समय सकिएको अहिले ९ महिना भयो। आर्थिक वर्ष २०७७/०७८ मा ठेक्का भएर २०७७ चैतमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम नै सुरु भएको छैन। पुल महाशाखा काठमाडौंले ठेक्का लगाएर सम्झौता गरेको चार वर्ष पुगेको भनाइ छ। 

२०७७ चैत १२ गते महादेव खिम्ती निर्माण सेवा काठमाडौंले ८ करोड ३९ लाख लागतमा पुल बनाउने सम्झौता गरेको थियो। उक्त सम्झौता पत्रमा २०८० असार १२ गते पुल निर्माण गरिसक्ने उल्लेख गरिएको छ। पुल बनाउने निर्माण कम्पनी अहिलेसम्म पान्तडी पुगेको छैन।

तर निर्धारित सम्झौता समय भन्दा नौ महिना बढी बितिसकेको छ। पुल सेक्टर सुर्खेतका इन्जिनियर सुभम बैस्यले पुल निर्माणका लागि निर्माण कम्पनीले आफैं डिजाइन गर्नुपर्ने र उसले समयमा त्यो काम नगरेकाले पुल बन्न ढिलाइ भएको बताए। उनले भने, 'सम्झौता भएको तीन महिनामा डिजाइन प्रतिवेदन पुल महाशाखालाई बुझाउनुपर्ने हो। प्रतिवेदन दिएको तीन महिनामा महाशाखाले स्वीकृत गरेर काम सुरु गर्ने नियम भए पनि निर्माण कम्पनीले अहिलेसम्म डिजाइन प्रतिवेदन कार्यालयमा बुझाएको छैन।'

नागरिकले नदी पार गर्ने पुलसम्म पाएका छैनन्। निर्माण कम्पनीको चरम लापरबाहीका कारण यस्तो भएको पुल महाशाखाको भनाइ छ। महाशाखाले एक पटक प्रतिवेदन ल्याएर आएको भए पनि प्रतिवेदन हेर्दा केही सच्याउनुपर्ने भनेपछि सच्चाउन गएको निर्माण कम्पनीले त्यसयता सम्पर्क नगरेको कार्यालयको भनाइ छ। 

उता महादेव खिम्ती निर्माण सेवा काठमाडौंका प्रोप्राइटर प्रदीप पुडासैनीले केही दिनभित्र डिजाइन प्रतिवेदन पास हुने र काम पनि सुरु गर्ने बताए। उनले पुल महाशाखामा पर्याप्त इन्जिनियर नभएकाले एक जना इन्जिनियरले दुई सयसम्म पुलको डिजाइन प्रतिवेदन हेर्नुपर्ने हुनाले प्रतिवेदन हेर्ने समय नमिलेको दाबी गरे। चार वर्षसम्म कसरी समय नमिलेको भन्ने अन्नपूर्णको प्रश्नमा निर्माण व्यवसायी पुडासैनीले बाँकी कार्यालयलाई सोध्न जवाफ दिए। पुल निर्माणका लागि ठेक्का सम्झौता भएको मिति सकिएको नौ महिनासम्म म्याद थप पनि भएको छैन। 

म्याद थपका लागि दुई पटक निर्माण व्यवसायीले निवेदन दिए पनि म्याद थप भने अझै भएको छैन। पुल महाशाखाले डिजाइन प्रतिवेदन पास हुने बित्तिकै म्याद थप गरेर कामको थालनी गर्ने भनेको छ। उक्त पान्तडी पक्की पुल समयमै निर्माण गर्न नसकेको भन्दै स्थानीय सरकार र नागरिक निकै आक्रोशित छन्। महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहंले अब आफू जिल्ला प्रशासन कार्यालयमार्फत कानुनी प्रक्रियामा जाने बताए। उनले भने, 'यहाँका जनतालाई भेडा बनाउने निर्माण कम्पनीका विरुद्ध सर्वोच्च पुग्ने तयारी गरेको छु।'

प्रायः कालीकोटका गौरवका योजनाहरू यसरी नै अलपत्र पारिएको छ। यस अघि खुलालुको पक्की पुल १७ वर्षपछि निर्माण कार्य सम्पन्न भयो। कालीकोटका विभिन्न विकासे काममा निर्माण व्यवसायीले ढिला सुस्ती गदै आएका छन्। यस्तै कर्णाली राजमार्गअन्तर्गत कालीकोट र दैलेख सिमानामा पर्ने पक्की पुल, मान्म सेरीघाटको पक्की पुल, तिलागुफा नगरपालिकाको खल्लामा रहेको पक्की पुल सम्झौतापछि अलपत्र पारेर निर्माण गरिएका हुन्।

ठेकेदार र निर्माण कम्पनीको लापरबाहीका विरुद्ध चरणबद्ध आन्दोलन गर्ने नेपाल वारका जिल्ला अध्यक्ष अमलराज शाहीले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.