नक्कली नोट बनाउन प्रयोग गरिएको फोटोकपी मेसिनसहित युवक पक्राउ
काभ्रे : नक्कली नोट बनाउनका लागि प्रयोग भइरहेको फोटोकपी मेसिनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जिल्लाको बेथानचोक गाउँपालिका-३ का २५ वर्षीय सबिन हुमागाईं रहेका छन्।
शुक्रबार दिउँसो ३ बजे काभ्रेको बनेपाबाट प्रहरीले नक्कली नोट बनाउन प्रयोग गर्ने फोटोकपी मेसिन सहित उनी पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-५ मा स्थित एचएम मोबाइल किएर सेन्टरमा खान तलासी गरेको थियो।
प्रहरीले कलर प्रिन्टर, डेल कम्पनीको ल्याप्टप, आइफोन, हजार दरका ६९ वटा नक्कली नोट, एक थान पाँच सय दरका नक्कली नोट र फोटोकपी पेपर बरामद गरेको छ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर कार्यालय ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ।